एक कोठे ‘मिडिया सेन्टर’ भित्र कोशी प्रदेश सभा सचिवालय
विराटनगर । जेनजी समुहको नाममा प्रदर्शनकारीको आगजनीबाट पूर्ण रुपमा जलेको कोशी प्रदेश सभा सचिवालयले बचेका उपकरण जोडेर काम सुरु गरेको छ । आगजनीबाट प्रदेश सभाको बैठक बस्ने सभा हल र सचिवालय पूर्ण रुपमा जलेको छ ।
आगजनी र त्यसपछिको लुटपाटमा समेत जोगिएको सभामुखको सचिवालयमा कम्प्युटरको सहायतामा सचिवालयका कर्मचारीले काम सुरु गरेका हुन् ।
संसदीय पत्रकार मञ्चको कार्यकक्ष रहेको प्रदेश सभा हलको पश्चिमपटि रहेको एक कोठे ‘मिडिया सेन्टर’ मा बचेका कम्प्युटर जोडेर सचिवालयको काम अघि बढाइएको जनाइएको छ । मिडिया सेन्टरमा समेत आगजनी भएका कारण फर्निचर लगायतका सामग्री भने जलेको थियो । सचिवालयका कर्मचारीले सरसफाई गरेर उक्त कोठालाई सचिवालयका रुपमा प्रयोगमा ल्याइएको हो ।
सचिवालयका प्राविधिक कर्मचारीले विद्युत र इन्टरनेट जडान गरेका छन् । सचिवालयमा आगजनीपछि धेरै कम्प्युटर लगायतका उपकरणहरू लुटपाट भएको थियो । लुटिएका केही सामग्री फिर्ता समेत भइरहेका छन् ।
प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले आगजनी भएपनि मिडिया सेन्टरको कोठालाई सफाई गरेर सचिवालयको काम सुरु गरिएको बताए ।
‘अहिले लुटपाट र चोरी भएका सामग्रीहरू पनि फिर्ता आउन थालेका छन्, कर्मचारीहरूको सहयोगमा सरसफाई गरेर प्रयोगमा ल्याउन सकिने अन्य ठाउँलाई पनि तयार पार्दैछौं’ अमात्यले भने, ‘कर्मचारीहरू सवै आइरहनु भएको छ, आगजनी र लुटपाटबाट जोगिएका कम्प्युटर जोडेर मिडिया सेन्टरमा कार्यालय संचालन गरेका छौं, अहिले क्षतिको विवरण संकलन गरिरहेका छौं ।’
सचिवालयका अनुसार कोशी प्रदेशको बैठक बस्ने सभा हल मर्मत सम्भार गरेर पनि संचालन गर्न नसकिने गरी क्षति भएको छ ।
सचिवालयको तीन तले भवनको पहिलो तला पूर्ण रुपमा क्षति भएको छ । दोस्रो तलाको केही भाग पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।
विभिन्न विषयगत समितिका सभापतिहरूको कार्यकक्षसहित दुईवटा मिनी हल रहेको तेस्रो तलामा भने केही कम क्षति भएपनि पुरानो जिविसको भवन भएकोले सरसफाई गरेर कार्यसञ्चालन गर्न जोखिमपूर्ण रहेको सचिव अमात्यले बताए ।
प्रदर्शनकारीको आगजनीबाट प्रहरी ब्यारेकको भित्री सम्पूर्ण संरचना जलेका छन् ।
ब्यारेकको कोठाभित्र भित्तो पखालेर सरसफाई सुरु गरिएको जनाइएको छ । प्रदेश सभा सचिवालयको चमेनागृह समेत जलेको छ । तर त्यसलाई मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सकिने अवस्था रहेको सचिव अमात्यले जानकारी दिए ।
आगजनीबाट कोशी प्रदेश सचिवालयका ८ वटा चार चक्के गाडी, ११ वटा मोटरसाइकल र २ वटा स्कुटर पूर्ण रुपमा जलेर नष्ट भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले बताए ।
सचिवालयका कर्मचारी र प्रहरीका गरी थप ८ वटा निजी नम्बर प्लेटका मोटरसाइकल र स्कुटर समेत जलेको उनले जानकारी दिए ।
सवारी साधनमा भएको क्षतिको विवरण संकलन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने कार्य गरिएको उनले बताए ।
View : 452
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved