Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीका सभामुख बिष्ट भन्छन्–

‘प्रदेशमाथि अहिले पनि च्यालेन्ज छ, यसको औचित्य पुष्टि हुनुपर्ने जरुरी छ’

‘संसद्लाई सरकारले बिजनेस दिन सक्नुपर्छ, तर संसद् अधिवेशन त्यति छिटै होला जस्तो लाग्दैन, सरकारले बिजनेस दिए हिउँदे अधिवेशन पनि चल्न सक्छ, नभए एकैचोटी वर्षे अधिवेशन हुनसक्छ, सरकारको भर पर्छ ।’
बाबुराम भण्डारी
२१ माघ २०८०, आइतवार

Advertisement

विराटनगर, २१ माघ । कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले प्रदेशमाथि अहिले पनि चुनौती रहेको बताएका छन् । उनले चुनौती रहिरहेका कारण प्रदेशको औचित्य पुष्टि हुनुपर्ने जरुरी रहेको पनि बताएका हुन् ।

गत पुस २४ मा प्रदेश सभाबाट सर्वसम्मत सभामुख चयन भएका विष्टले आइतबार संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै विभिन्न दल र जनताहरूले पनि प्रदेशको काम छैन भन्दै आवाज उठाउने गरेको बताए । 

प्रदेश खारेजीको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सर्वसम्मत सभामुख चयन भएका विष्टले त्यसको छिनोफानो गर्नका लागि भने प्रदेश नै सशक्त बन्दै जानुपर्ने धारणा राखे ।

‘अहिले जुन ढङ्गले प्रदेशलाई च्यालेन्ज छ, विभिन्न दलहरूले च्यालेन्ज गरेकै छ, जनताले पनि प्रदेशको काम छैन कि भन्ने ढङ्गले ठाउँ ठाउँमा आवाज उठाउन थालेका छन्’ सभामुख विष्टले भने, ‘त्यो कुरालाई छिनोफानो गर्नलाई पनि प्रदेश सशक्त हुन जरुरी छ, यसको औचित्य पुष्टि हुनुपर्ने जरुरी छ ।’

प्रदेशले हरेक क्षेत्रमा राम्रो कामहरू गरेर जानुपर्ने बताए । प्रदेशका विषयमा पत्रकारहरूले निर्धक्क भएर लेख्नुपर्ने बताए । सभामुख विष्टले पत्रकारहरूले देखेका गल्ती कमजोरीहरू स्पष्टसँग औँल्याउनु पर्ने बताए । 

‘संसद्‌मा सभामुखदेखि मन्त्री मुख्यमन्त्रीका देखिएका कमजोरीहरूलाई निर्धक्कका साथ लेख्ने प्रयत्न गरौँ, बाहिर ल्याउने प्रयत्न गरौँ, सल्लाह सुझावहरू पनि दिने प्रयत्न गरौँ’ सभामुख भएपछि बोली फेरिएको हो भन्ने प्रश्नमा उनले भने, ‘बोली फेरेको छैन, हिजो म जुन पार्टीमा थिए अहिले म त्यो पार्टीमा संलग्न छैन, त्यहाँ हुँदा सङ्घीयताको विरोध भन्दा पनि बोझिलो खर्चिलो सरकार नेपालले धान्न सक्दैन कि भन्ने हो, हिजो पनि यो बिचार थियो, अहिले पनि फरक बिचार आइहालेको होइन ।’ 

उनले सङ्घीयता बलियो हुनलाई तीनै तहको सरकार बलियो हुनुपर्ने र त्यसका लागि आर्थिक रूपमा सम्पन्न हुनुपर्ने धारणा राखे । प्रदेशको औचित्य पुष्टि हुनुपर्ने र काम गरेर देखाउनु पर्ने बताए । सभामुख विष्टले सरकारले समेत स्थिरता पाउन नसकेका कारण जनतामा सङ्घीयताको विषयमा नकारात्मक सन्देश गएको दाबी गरे । 

‘अहिले एक वर्षमा सरकारको स्थिरता जुन ढङ्गले हुन सकिरहेको छैन, सभामुखै बनाउनलाई पनि, म त दोस्रो चोटि भइसकेँ, यो कुराले नकारात्मक सन्देश गएको छ’ उनले भने, ‘यसलाई चिर्न पत्रकारहरू पनि लाग्नुपर्‍यो, सिङ्गो प्रदेश पनि लाग्नुपर्‍यो, यसको औचित्य पुष्टि गर्नुपर्‍यो, औचित्य भयो भने यो थाम्न सकियो भने किन पो खारेज गर्नुपर्‍यो त ।’ 

उनले आफूमा प्रदेश थाम्न सकिँदैन भन्ने भावना भने नभएको बताए । त्यसका लागि आफ्नो तर्फबाट सकेसम्म राम्रो काम होस् भन्ने पक्षमा रहने बताए ।

प्रदेश सभाका विषयगत समितिका बैठकहरू मार्फत संसद् र पत्रकारहरूबिचको सम्बन्ध अझ बढाउँदै लैजाने बताए । उनले थप अन्तरक्रियाहरू पनि हुनुपर्नेमा जोड दिए । संसद् भित्रका कुरा जनताको सामुन्नेमा पुग्ने र पुर्‍याउने तिर सञ्चारकर्मीहरूले भूमिका खेल्नुपर्ने बताए ।

कोशी प्रदेश सभाका सातवटा विषयगत समितिहरू चयन भए पनि सभापतिहरू चयन हुन सकेका छैनन् । सभामुख विष्टले सरकार विस्तार भएपछि समितिको सभापति चयन पनि एक हप्ताभित्रै गरिसक्ने गरी काम अघि बढ्ने बताए । समितिका सभापतिहरू सहमतिकै आधारमा अघि टुङ्गाउनु उपयुक्त हुने धारणा राखे । 

‘सभामुख पनि सहमतिकै आधार भयो भने सभापति पनि त्यही हिसाबले लैजाऔँ, फागुन पहिलो हप्ताभित्र पूर्णता हुन्छ भन्ने विश्वास छ’ उनले भने, ‘संसद्लाई सरकारले बिजनेस दिन सक्नुपर्छ, तर संसद् अधिवेशन त्यति छिटै होला जस्तो लाग्दैन, सरकारले बिजनेस दिए हिउँदे अधिवेशन पनि चल्न सक्छ, नभए एकैचोटी वर्षे अधिवेशन हुनसक्छ, सरकारको भर पर्छ ।’

View : 136

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved