Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विराट गोल्डकप फेरि पनि घाटामा, ट्रष्टबाट स्वीकृति नलिइ अनधिकृत खर्च

उद्‌घोष सम्वाददाता
२९ पुष २०८१, सोमवार

विराटनगर । विसं २०८० चैत १५ देखि २२ गतेसम्म विराटनगरमा आयोतिज विराट गोल्डकप फुटबल प्रतियोगिता पनि घाटामै रहेको खर्च विवरण आयोजकहरूले सार्वजनिक गरेका छन् ।

विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा सम्पन्न भएको आठौं संस्करणको फुटबल प्रतियोगिताको खर्च विवरणका शिर्षकहरूमा उल्लेखित रकम अधिकांश अनुमानित छन् । प्रतियोगिता सकिएको करिब १० महिनापछि आयोजकहरूले खर्च विवरण सार्वजनिक गरेका हुन् ।

ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले  प्रतियोगिताको आठौं संस्करणमा २२ लाख ६२ हजार रूपैयाँ घाटा लागेको खर्च विवरण सार्वजनिक गरेका हुन् । ट्रष्टले आयोजना गर्न नसक्ने निश्कर्षसहित निजी फुटबल क्लवलाई जिम्मा लगाइएको सातौं संस्करणको प्रतियोगितामा पनि क्लब सञ्चालकहरूले ८७ लाख रूपैयाँ घाटा भएको विवरण प्रस्तुत गरेका थिए ।

फ्लडलाइटको उज्यालोमा रात्रिकालिन फुटबल खेलाइने कोशी प्रदेशकै महत्वपूर्ण खेलकुद प्रतियोगिताका रूपमा स्थापित विराट गोल्डकपको हिसाबकिताब हरेक वर्षजसो घाटामा देखाइने गरिएको छ । कबोल गरेका निकायले भुक्तानी नदिएको कारण देखाएर आयोजकले उठेको पैसाको हिसाब किताब भने गोलमटोल प्रस्तुत गर्दै आएका छन् ।

अध्यक्ष शाहीले आठौं संस्करणको प्रतियोगिता घाटामा जानुको मुख्य कारण तत्कालिन मुख्यमन्त्री केदार कार्की, सामाजिक विकास मन्त्रालय कोशी, प्रदेश खेलकुद विकास बोर्ड र राष्ट्रिय खेलकुद परिषदले प्रतिवद्धता अनुसार पैसा नदिएको भन्दै दोष थोपरेका छन् । 

उनले प्रतियोगितामा १ करोड ५ लाख २३ हजार ६४२ रूपैयाँ खर्च भएको बताए । तर ८२ लाख ६० हजार ८३५ रूपैयाँ बराबरको खर्च भएको र बाँकी रकम विभिन्न ठाउँमा दायित्वमा रहेको बताए । 

प्रदेश सरकारबाट २५ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट ५ लाख रूपैयाँ प्राप्त हुने प्रतिवद्धता भए पनि उक्त रकम प्राप्त नभएको उनले बताए । तर ट्रष्टले सार्वजनिक गरेको खर्च विवरणमा भने अधिकांश शिर्षकहरू एकमुष्ट उल्लेख गरेको छ ।

प्रायोजकहरूबाट ३५ लाख ९५ हजार ३३५ रूपैयाँ, विराटनगर महानगरपालिकाबाट ११ लाख ४५ हजार रूपैयाँ र टिकट बिक्रीबाट ३५ लाख २० हजार ५ सय रूपैयाँ आम्दानी भएको उल्लेख छ ।

प्रतियोगितामा सवैभन्दा बढी खर्च सहभागी टिमहरूको खाना र आवास खर्चतर्फ २८ लाख ९२ हजार रूपैयाँ देखाइएको छ । त्यसपछि विजेता टोलीसहितलाई ट्रफी, पदक र पुरस्कारका लागि २० लाख ८७ हजार रूपैयाँ खर्च उल्लेख छ । 

सहभागी टिमको यातायात खर्च १३ लाख ९ हजार ३६० रूपैयाँ र फ्लेक्स बोर्ड खर्च भनेर १२ लाख ८५ हजार ३४४ रूपैयाँ खर्च लेखिएको छ ।

अध्यक्ष शाहीले कतिपय खर्चहरू विभिन्न प्रकारका दवावमा पनि गर्नुपरेको स्वीकार गरे । उनले ट्रष्टबाट स्वीकृति नलिइकन खर्च गर्ने र बिल देखाउने प्रबृत्ति देखिएकोले त्यसलाई पूर्ण रूपमा रोकिने जानकारी दिए । उनले राम्रो काम गर्दा भित्रैबाट खुट्टा तान्ने प्रवृत्ति गोल्डकपमा पनि देखिएको बताए । 

आठौं विराट गोल्डकपमा विदेशी ३ सहित १० वटा टिमले सहभागिता जनाएका थिए । २०८१ का लागि आयोजना हुने गोल्डकपका लागि समेत तयारी भइरहेको अध्यक्ष शाहीले बताए ।

‘यस पटक फागुन २१ गतेदेखि गोल्डकप गर्ने भनेर एन्फासँग कुरा भइसकेको छ, समय पनि प्रदान भएको छ’ उनले भने, ‘कसरी गर्ने कि के गर्ने भनेर सल्लाहमै छौं, सवै कुरालाई सिस्टममा ल्याएर प्रतियोगिता आयोजना गर्ने कुरामा प्रतिवद्ध छौं ।’

फुटबलमा चासो राख्ने अन्य सरोकारवालाहरूले भने विराट गोल्डकपलाई सँधैभरी एउटै व्यक्ति र समूहको घेराभित्र राख्ने, नयाँ आर्थिक सोचका साथ प्रतियोगिता आयोजना गर्न चाहने व्यक्तिहरूले राखेका प्रस्तावहरूमा केही पदाधिकारीहरूले मोलमोलाई गरेर भाँड्ने गरेको आरोप लगाएका छन् ।

View : 50

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved