Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

सुनसरीको पकलीमा १०० बेडको जलन अस्पताल बन्दै, प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता

उद्‌घोष सम्वाददाता
२६ पुष २०८०, बिहिवार

जुनु भट्टराई, 
विराटनगर ।
 आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि कोशी प्रदेशमा एक सय शय्याको जलन अस्पताल निर्माण हुने भएको छ । ४० करोड भन्दा बढीको लागतमा निर्माण गर्न लागिएको सो अस्पतालको लागि कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

बुधबार कोशी प्रदेश सरकारको स्वास्थ्य मन्क्रालयमा आयोजित एक कार्यत्रममा कोशी प्रदेश सरकार र जनस्वास्थ्य सरोकार ट्रष्टबीच सम्झौता भएको हो । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले सो अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

ट्रष्टले इटहरी उपमहानगर–११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको हो । ट्रष्टले पटक–पटक सो अस्पताल निर्माणका लागि सरकारसँग पहल गरे पनि हालसम्म सम्भव हुन सकेको थिएन ।

प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिने सम्झौता गरेको छ । ४० करोड लागतमा निर्माण हुने सो अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । 

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए । प्रदेश सरकारले अस्पताल निर्माणका लागि अनुदान सहयोग गरेवापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

उक्त अस्पतालले जलन सम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गर्ने समेत सम्झौता पत्रमा भनिएको छ । मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा सो अस्पताल निर्माण प्रक्रिया सुरू गरेको बताए । 

ट्रष्टको आफ्नै २ बिघा १० कठ्ठा जग्गामा निर्माण हुन लागेको सो १०० बेडको अस्पतालमा ५० बेडबाट बर्न स्पेशल सेवा र ५० बेड जनरल सेवा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले जानकारी दिए ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै स्वास्थ्य सचिव देवकोटाले कोशी प्रदेशका नागरिकले जलनको तल्काल उपचार नपाएर कीर्तिपुर पुग्नुपर्ने अवस्था आउन नदिन कोशी प्रदेशमै बर्न अस्पताल आवश्यक रहेको औंल्याइन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बर्सेनि कम्तीमा ५६ हजार नेपालीले जलनको समस्या झेल्नुपरेको छ । जलनका कारण वार्षिक २ हजार जनाभन्दा बढीले त ज्यानै गुमाउनुपर्ने अवस्था छ ।

विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदनअनुसार नेपालमा साना ठूला गरेर हरेक वर्ष ७५ हजार हाराहारीमा जलनका घटना हुन्छन् । तर, बर्सेनि १५ सय भन्दा कम बिरामी मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन,  तेल पड्किने, दाल पोखिने, चिया पोखिने, दूध पोखिने, तातो चिज उछिटिनेदेखि कुँडो पकाएको भाँडामा शरीरका अंग पर्ने, तातो चिजहरूमा पर्ने र विद्युतीय जलन मुख्य जलन हुन् ।

View : 258

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved