विराटनगर । कोशीमा लामो समयदेखि जारि पहिचानवादी आन्दोलनका एक जना अगुवा नेता डकेन्द्रसिं थेगिम कुलमान घिसिङ नेतृत्वको पार्टीमा आवद्ध भएका छन् ।
धरानका मेयर हर्क साम्पाङको दलमा सामेल उनी हर्कको साथ छाडेर कुलमानको पार्टीतिर लागेका हुन् ।
पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर कुलमानले उज्यालो नेपाल पार्र्टी दर्ता प्रक्रिया थालेका छन् ।
अहिले अन्तरिम सरकारमा मन्त्री रहेका कारण कुलमान आफै अघि नसरेर उपाध्यायलाई अघि सारेका हुन् ।
उनको दलमा आवद्ध इलामका पहिचानवादी नेता थेगिम कोशी नाम खारेजी आन्दोलनका नेतासमेत हुन् ।
२०८१ बैशाखमा भएको उपनिर्वाचनमा उनी इलाम २ मा स्वतन्त्र रूपमा चुनाव लडेका थिए । उनलाई पहिचानवादी शक्तिहरूदेखि धरानका मेयर साम्पाङसम्मको समर्थन थियो ।
थेगिमको चुनावी अभियानमा साम्पाङ इलाम पुगेरै सक्रिय भएका थिए । चुनाव चिन्ह मुढा लिएर उठेका थेगिम इलाम २ मा तेस्रो भएका थिए ।
एमालेका सुहाङ नेम्वाङले जित्दा कांग्रेसका डम्बर खड्का दोस्रो र थेगिम तेस्रो भएका थिए । थेगिमले इलाममा ११ हजार ४५७ मत पाएका थिए ।
कुलमान नेतृत्वको उज्यालो नेपाल पार्र्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाउँदा थेगिमसँगै कोशीबाट अरू पनि केन्द्रीय सदस्य बनेका छन् ।
प्राडा महेन्द्रसुन्दर लावती पनि तीमध्ये एक हुन् । राप्रपा नेता पद्मसुन्दर लावतीका छोरा उनी अमेरिकामा प्राध्यापन गर्थे ।
यद्यपि उनी लामो समयदेखि संघीयताका पक्षमा निरन्तर लेख्दै बोल्दै आएका प्राज्ञिक व्यक्ति हुन् ।
कुलमानको पार्टीमा कोशीबाट केन्द्रीय सदस्य हुनेहरूमा श्री गुरूङ संखुवासभा, निलिमा बस्नेत झापा, डम्बर लावती सुनसरी, लाक्पा फुटी शेर्पा सोलुखुम्बु, सरस्वता सुब्बा सरू ताप्लेजुङ, महेन्द्रकुमार थापा इलाम र अग्निमाया मेचे झापा छन् ।
View : 379
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved