Biratnagar, Morang, Nepal
१७ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

आसमको तेजपुरमा ६८औँ बृहत् अखण्ड हरिकीर्तन आयोजना हुँदै

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

तेजपुर (भारत) । भारतको आसम प्रान्तस्थित उत्तर जामुगुडीमा ६८औँ बृहत् अखण्ड हरिकीर्तन आयोजना हुने भएको छ । उत्तर जामुगुडी हरिकीर्तन केन्द्रीय समितिको आयोजनामा आगामी नोभेम्बर १९ देखि २१ सम्म धार्मिक हरिकीर्तन हुन लागेको हो ।

विश्व शान्ति, सनातन हिन्दू धर्मको रक्षा तथा आपसी भाइचारा, सद्भाव र एकता कायम गर्ने उद्देश्यले अखण्ड हरिकीर्तन आयोजना गर्न लागिएको समितिका पूर्वसचिव पद्म लुइटेलले जानकारी दिए ।

कार्यक्रमको तयारीस्वरूप सोमबार कीर्तन मण्डपमा मूल खम्बा स्थापना गरिएको छ । समितिका पूर्वअध्यक्ष भक्तराज गुरुङले विधिपूर्वक मूल कीर्तन खम्बा स्थापना गरेका हुन् ।

समितिका अनुसार महिला संघका ३० र पुरुष स‌ंघका २५ गरी कुल ५५ वटा संघको सहभागितामा २४ घण्टे अखण्ड हरिकीर्तन सञ्चालन गरिनेछ । धार्मिक समारोह सफलतापूर्वक सम्पन्न गर्न आयोजक समितिले करिब आठ लाख रुपैयाँको बजेट तयार पारेको जनाएको छ । उक्त रकम भक्तजनबाट स्वेच्छिक रूपमा प्राप्त हुने आर्थिक सहयोगमार्फत जुटाइने जनाइएको छ ।

सोही अवसरमा आयोजक समितिले पूर्वकेन्द्रीय सभापति भक्तराज गुरुङ, मूल गुरुजी पद्म नेपाल, केन्द्रीय समिति अध्यक्ष तुलसी भट्टराई तथा समाजसेवी जान सैकीयालगायतलाई सम्मानसमेत गरेको थियो ।

अखण्ड हरिकीर्तन आयोजनाको जिम्मेवारी गौरी कीर्तन संघ, गैरी गाउँ र श्री बालाकृष्ण कीर्तन संघ गैरी गाउँले लिएका छन् । आयोजक समितिका सचिव अशोक ढुंगेल र केन्द्रीय समितिका सचिव किशोर पौडेलले कार्यक्रमको तयारी तीव्र पारिएको जानकारी दिए ।

उक्त धार्मिक समारोहमा असम प्रान्तका विभिन्न स्थानबाट हजारौँ भक्तजनको सहभागिता रहने आयोजकले अपेक्षा गरेको जनाइएको छ ।

View : 106

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved