Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

गरिब भारतीय अभिभावकको रोजाइमा नेपाली ज्वाइँ

नेपालमा बिहे गरेर आउने महिला धमाधम त्याग्दैछन् भारतीय नागरिकता
उद्‌घोष सम्वाददाता
११ पुष २०८१, बिहिवार

विराटनगर । नेपाल र भारतीबीचको जनस्तरको सम्बन्ध दर्शाउन लामो समयदेखि प्रयोग हुँदै आएको वाक्यांश हो ‘रोटीबेटीको सम्बन्ध ।’पौराणिककालबाटै सुरु भएको मानिने वारिपारिको बिहेबारी अहिले पनि जारी नै छ । तर, वारिपारिबीच चल्दै आएको बिहेबारीमा पछिल्लो समय नया ‘ट्रेन्ड’ देखापरेको छ । जसअनुसार बिहे गरेर नेपालतिर आउने महिलाको संख्या भारतमा लगातार बढेको छ ।

नेपालसँग साँध जोडिएका भारत बिहारका विभिन्न जिल्ला प्रशासन कार्यालयहरुमा पछिल्लो समय भारतीय नागरिकता त्याग्नलाई निवेदन दिने महिलाको संख्या ह्वात्तै बढेको छ । 

तथ्याङ्क अनुसार यसरी भारतीय नागरिकता त्याग्न निवेदन दिने बहुसंख्यक महिलाहरुले आफूले नेपालमा बिहे गरेको र अब नेपालकै नागरिकता लिनुपर्ने भन्दै धमाधम निवेदन दिइरहेको पाइएको छ ।

भारतको चर्चित अखबार हिन्दुस्तानले आफ्नो मंगलबारको अंकमा भारतीय छोरीहरुले धमाधम नागरिकता त्याग्न थालेको विषयलाई महत्वका साथ प्रकाशित गरेको छ । यसको मुख्य कारण नेपालमा बिहे गरेर जाने क्रम बढेको र नेपालको नागरिकता लिनका लागि भारतीय नागरिकता त्याग्नैपर्ने नेपालको कानुनी प्रावधानको अनुशरण गर्न निवेदन परिरहेको हिन्दुस्तानले उल्लेख गरेको छ ।

‘नेपालमे ब्याह रचाते ही भारतको अलविदा कह रही बिटिया रानी’ शीर्षकमा हिन्दुस्तानले प्रकाशित गरेको समाचारमा विभिन्न जिल्ला प्रशासन (डिस्ट्रिक मजिस्टेट) कार्यालयहरुबाट प्राप्त तथ्याङ्क पनि समेटिएको छ । जस अनुसार पछिल्लो एक वर्षभित्रमै बिहारको अररिया जिल्लाको डीएम कार्यालयमा भारतीय नागरिकता त्याग्न निवेदन दिने महिलाको संख्या ३ सयभन्दा बढीे छ ।

त्यसैगरी सुपौल जिल्लामा पनि हरेक महिना ३० जनासम्मको यस्तो निवेदन पर्ने गरेको सुपौल डीएम कार्यालयले जानकारी दिएको छ । यो तथ्याङ्क मात्रै दिएको हिन्दुस्तानले यसो हुनुको कारण भने खोतलेको छैन । उद्घोषले नेपाल–भारतको समाजलाई नजिकैबाट जाने–बुझेकाहरुलाई यसबारे सोधेको छ ।

नेपालको दाँजोमा भारत आर्थिक रुपमा धेरै समृद्ध छ । विश्वशक्ति बन्ने दौडमा रहेको भारतमा अवसर मात्रै होइन सामाजिक सुरक्षाको प्रबन्ध पनि बलियो छ । यसका वावजुद नेपालतिर बिहे गरेर आउने महिलाको संख्या लगातार बढिरहेको छ ।

नेपाल–भारतको मिथिला क्षेत्रमा हुने बिहेबारीलाई नजिकैबाट अध्ययन गरिरहेकाहरुका अनुसार भारत बिहारका विभिन्न जिल्लाहरु दाइजो (दहेज) प्रथाका लागि ज्यादै कठोर बद्नाम छन् । 

दाइजो प्रथाको यही जाँतोमा पिसिएका भारतीय क्षेत्रका अभिभावकहरु नेपाली ज्वाइँको खोजीमा रहेका हुन्छन् । आफ्ना अभिभावकको बाध्यता बुझ्ने छोरीहरु पनि उनीहरुलाई मारमा नपार्नकै लागि जन्मदेशबाट बिहे गरेर नेपालतिर जान राजी हुने गरेका छन् ।

पछिल्लो डेढ दशकयता ‘दहेजमुक्त मिथिला’ अभियान चलाइरहेका अभियन्ता प्रवीणनारायण चौधरीका अनुसार दाइजोको मामिलामा भारतीयभन्दा नेपाली समाज धेरै उदार छ । 

‘उताभन्दा यता (नेपाल) को समाज दाइजोको मामिलामा उदार छ’, चौधरीले भने ‘त्यसबाहेक नेपालको समाज मिश्रित छ । सबै जातजाति, भाषाभाषी  मिलेर बसेको सहिष्णु समाज भएकाले पनि नेपालतिर बिहे गर्न भारतीय छोरीहरु राजी हुन्छन् । अभिभावकहरु पनि सकेसम्म त्यही चाहन्छन् ।’

यही वर्ष मात्रै भारतबाटै छोराका लागि बुहारी भित्र्याएका विराटनगरका एक जना व्यवसायी पनि चौधरीको भनाइसँग सहमत छन् ।

‘धनाढ्य परिवारलाई दाइजोको धेरै समस्या नभए पनि गरिबीको पीडामा रहेका अभिभावकहरुका लागि भारतीय समाजमा छोरीको बिहे ठूलो आर्थिक बोझ बन्ने गरेको छ’, उनले सुनाए ‘भारतीय बेहुलाहरुभन्दा नेपालका बेहुलाहरु दाइजोको धेरै लोभ गर्ने हुँदैनन् । छोरीका लागि राजीखुसीले दिएको स्वीकार्ने तर जबरजस्ती  माग नगर्ने नेपाली बेहुला र परिवारको शैलीले पनि भारतीय बुबाआमा नेपालतिरै बिहे गरेर छोरी दिने चाहनामा हुन्छन् ।’

त्यसो त अररिया मात्रै होइन नेपाल–भारत सीमा क्षेत्रका भारतीय  गाउ“हरुबाट नेपालमा बिहे गर्ने महिला धेरै छन् । बिहारको सुपौल, पूर्णिया, कटिहार, मधुवनी, भागलपुर लगायतका जिल्लाबाट नेपाल बिहे गरेर आउने महिला धेरै छन् ।

नेपालको कानुन अनुसार नेपाली युवकसँग बिहे गर्ने विदेशी महिलाले नेपालको नागरिकता लिन आफू जन्मेको देशको नागरिकता त्याग्नुपर्ने हुन्छ । 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार नेपालमा बिहे गरेर आउने भारतीय महिलाले नेपाली नागरिकता प्राप्त गर्न केही शर्तहरु पूरा गर्नुपर्छ । 

‘पहिलो कुरा त बिहे दर्ता गर्नुपर्छ । बिहे दर्ता गर्दा नै महिलाले आफूसँग भएको भारतीय कागजात पेश गर्नुपर्छ’, प्रजिअ भट्टराईले भने ‘त्यसपछि भारतीय नागरिकता छाडेको र छाड्ने कारवाही चलाएको प्रमाण पनि पेश गर्नुपर्छ । सकेसम्म पासपोर्ट, नभए मतदाता कार्ड वा आधार कार्ड नेपालतिर पहिले पेश गर्ने अनि ती सबैकुरा त्यागेको कागजात पनि पेश गरेपछि बिहे गरेर आउने महिलाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्दछन् ।’

नेपालको यही कानुनी प्रावधान पूरा गर्न बिहे गरेर नेपाल आएका भारतीय महिलाले भारतीय प्रशासनमा निवेदन दिइरहेका हुन् । बिहारको  मधेपुरा, सहर्षा, पूर्णिया, कटिहार, भागलपुर जिल्लामा पनि नागरिकता परित्यागको निवेदन फाटफुट पर्ने गरेको हिन्दुस्तानले उल्लेख गरेको छ ।

‘भारतको जुन ठाउँका युवतीहरुको बिहे धेरैजसो  नेपालमा हुने गरेको छ, ती ठाउँहरु मुख्यतः दाइजो प्रथाले सताएका ठाउँहरु हुन्’, विराटनगरका ती व्यवसायीले थपे ‘गरिब भारतीय अभिभावकहरुका लागि त्यही भएर नेपाली ज्वाइँहरु रोजाइमा पर्ने गरेका हुन् ।’

View : 203

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved