झ्याप्प–झ्याप्प गइरहन्छ बिजुली
विराटनगर । एक ढंगले चलिरहेको उद्योगको मेसिन कतिबेला ठप्प बन्छ कुनै टुंगो हुँदैन । २० मिनेट पनि मेसिन चल्न पाएको हुँदैन विद्युत आपूर्ति अवरुद्ध भइहाल्छ । घन्टैपिच्छेजसो बिजुली झ्याप्प–झ्याप्प बन्दा उद्योगहरु नियमित चल्नै नपाउने अवस्था छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका बहुसंख्यक उद्योगधन्दाहरुले पछिल्लो समयमा भोगिरहेको यो साझा समस्या हो । अनेक बहाना देखाउँदै पूर्व जानकारी बेगरै नेपाल विद्युत प्राधिकरणले मनपरी ढंगले विद्युत लाइन अनियमित तुल्याउँदा उद्योगहरुले भोगिरहेको पीडा झन्–झन् बढ्दो छ ।
‘उद्योग पूरै ठप्प पनि छैन तर पूरा अवधि नियमित रुपमा चल्न पाएको पनि छैन’, विराटनगरका उद्योगी प्रकाश मुन्दडाले भने ‘एकैदिनमा बारम्बार मेसिन चल्ने र बन्द हुने समस्या चुलिएको छ । यसले उत्पादन लागत ह्वात्तै बढाएको छ भने अर्कातिर उत्पादकत्वमा ठूलो ह्रास ल्याएको छ ।’
विद्युत आपूर्ति अनियमित हुँदा उद्योगहरुले भोग्ने क्षतिबारे मुन्दडाले एउटा प्रसंग उप्काए । ‘उद्योगहरुमा विद्युत आपूर्ति अनियमित हुनु भनेको ठूलो क्षतिको विषय हुन्छ’, उनले भने ‘मेसिनले आफ्नो काम एउटा गतिमा गरिरहेको हुन्छ । तर, काम चलिरहेकै बेला झ्याप्प बिजुली जान्छ । यस्तो हुँदा प्लाष्टिक उद्योगहरुले व्यहोर्ने क्षति अकल्पनीय छ । प्लाष्टिक उद्योगले मेसिनबाट हात्ती बनाउन खोजेको छ भने बिजुली काटिंदा त्यो गधा बनेर निस्कन्छ । यस्तो अवस्था आए के हुन्छ ?’
विराटनगरकै अर्का उद्योगी नवीन रिजालको भनाइ पनि मुन्दडासँग मिल्दो छ । ‘प्राधिकरणले पूर्व सूचना दिएर लोडसेडिङ गर्ने हो भने सोही अनुसार उद्योगहरुले तालिका बनाउँछन्’, रिजालले थपे ‘तर, छिनछिनमै बिजुली झ्याप्प–झ्याप्प हुन्छ । उद्योग पनि घरी ठप्प घरी खुला हुन्छ । यसले उद्योगहरुलाई पूरै मारमा पारेको छ ।’
सुनसरी मोरङ औद्योगिक करिडोरको मुख्य लाइन र कटहरी लाइनमा मात्रै साना–ठूला गरी पाँच सयभन्दा धेरै उद्योगधन्दा सञ्चालित छन् । स्पिनिङ(धागो), आइरन, खाद्यान्न, प्लाष्टिक, वायर (तार), साबुन, घ्यू, दहलन, तेलहन, जुट, कपडा लगायतका धेरैथरी उद्योगहरु रहेको मुख्य औद्योगिक करिडोरमा विद्युत आपूर्तिको अनियमितताले उद्योगीहरुलाई यति आक्रोशित तुल्याइसकेको छ कि, उनीहरु चाडपर्वको मुखमा उद्योग नै बन्द गर्ने चेतावनी दिन बाध्य भइरहेका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष पवनकुमार सारडाले आइतबार प्रकाशित विज्ञप्तिले उद्योगीहरुको वर्तमान अवस्था, त्यसले निम्त्याएको दुरावस्था र उनीहरुमा सिर्जित आक्रोश उजागर गर्दछ । आफू पनि स्वयम् उद्योगी रहेका सारडाले विज्ञप्तिमार्फत सरकार र नेपाल विद्युत प्राधिकरणतर्फ केही गम्भीर सवालहरु उठाएका छन् ।
उनले उठाएको सबैभन्दा गम्भीर सवाल प्राधिकरण नेतृत्वतिर लक्षित छ । प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समयअघि पत्रकार सम्मेलन गरेरै बिजुली बेचेरै मुलुकले ठूलो आकारमा आम्दानी गरेको तथ्यांक सार्वजनिक गरेका थिए । उनको देवत्वकरण गरिरहेको समूहले त्यही तथ्यांकलाई उपलब्धिका रुपमा प्रचार गरिरहेको छ ।
परिसंघ कोशी प्रदेशले यही विषयमा गम्भीर प्रश्न उठाएको छ । ‘एकातिर विद्युत प्राधिकरणले नै विद्युत खपत बढाउन आग्रह गर्ने, निर्यात गर्न सक्षम भएको भन्दै नाफा कमाएको तथ्यांक मुलुकबासीलाई दिने, अर्कोतर्फ आफ्नै देशका उद्योगमा विद्युतकै कारण औद्योगिक बातावरण नै खलबलिने र उत्पादन नै अवरुद्ध हुने बिडम्बनापूर्ण अवस्था छ’, विज्ञप्तिमा अध्यक्ष सारडाले प्रश्न गरेका छन् ‘यसरी नै मुलुकको आर्थिक विकास गर्ने गर्ने सपना पूरा हुन्छ त ?’ स्वदेशी उद्योगहरुलाई विद्युत आपूर्ति नियमित नगर्ने तर भारतलाई बिजुली बेचेको भनेर प्रचार गर्ने प्राधिकरणको शैली र नियत सच्याउन पनि उनको माग छ ।
परिसंघले भनेको छ ‘मुलुकको प्रमुख औद्योगिक करिडोर मानिएको सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेका सयौं उद्योगहरूमा दैनिक विना कुनै पूर्व सूचना घण्टौसम्मको चर्को लोडसेडिङ तथा पटक–पटक हुने लो भोल्टेज र ट्रिपिङले उद्योगहरु थलापर्ने अवस्थामा पुगेका छन् ।’
यस्तो अवस्थाले उत्पादकत्वमा प्रतिकूल असर पारेको उल्लेख गर्दै परिसंघले उद्योगहरूले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको र यसले अर्थतन्त्रमै नोक्सानी पुर्याउने बताएको छ ।
‘अचानक र अघोषित रुपमा हुने यस प्रकारको लोडसेडिङले अब उद्योग संचालन गर्न नसक्ने अवस्था आएको छ’, अध्यक्ष सारडाले भनेका छन् ‘सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदै अविलम्ब समस्याको समाधानमा सकारात्मक आग्रह गर्दर्छौ ।’
लामो समय विद्युत कटौती, ट्रिपिङ, लो भोल्टेज लगायतका समस्याबाट नियमित तालिका अनुसार उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको, कामदारहरु बिना काम अलपत्र हुने अवस्था आएको र कामै नगरी कामदारलाई घर फर्काउन बाध्य हुनुपरेको उद्योगीहरुको भनाइ छ ।
अपर्झट विद्युत आपूर्ति बन्द हुँदा करोडौं पर्ने मेसिनहरूमा क्षति पुग्ने, उत्पादन कटौती हुँदा सामान डेलिभरीमा अवरोध हुने अवस्था आएको पनि उनीहरुको गुनासो छ ।
‘यसले उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर जाने, जसको कारण लागत खर्च बढेर प्रतिस्पर्धा गर्न नसकिने अवस्था छ’, अध्यक्ष सारडाले भने ‘बैंकको चर्को ब्याज र साँवा भुक्तानी लगायतमा गम्भीर समस्या पर्न गएको छ ।’
परिसंघले अब पनि औद्योगिक क्षेत्रमा विद्युतको नियमित आपूर्ति नगराउने हो भने आर्थिक वृद्धिको प्रक्षेपणमा धक्का लाग्ने, उद्योगहरूको प्रतिस्पर्धर् ीक्षमता गुम्ने तथा समग्रमा निर्यात नै प्रभावित हुने बताउँदै परिसंघले अब पनि कुनै पनि बहानामा विद्युत अवरुद्ध भइरहे उद्योगीहरु उद्योग बन्द गर्न बाध्य हुने चेतावनी दिएको छ ।
‘उद्योग चलाउनै पाइन्न भने खोलेर मात्रै के गर्नु ?’, अध्यक्ष सारडाले भने ‘बरु बन्द गरियो भने बैंकलाई किस्ता तिर्नु पर्दैन, कामदारलाई चाडपर्व खर्च दिनुपर्दैन । होइन भने सरकार र प्राधिकरणले विद्युत आपूर्ति नियमित तुल्याइदियोस् । कहिले तार चुाडियो भनेको छ, कहिले पोल ढल्यो भनेको छ । विद्युत काटेको काट्यै गर्दा उद्योगहरु क्षति सहनै नसक्ने अवस्थामा पुगिसकेका छन् ।’
View : 152
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved