विराटनगर । भारतको प्रयागराजमा जारी महाकुम्भमा स्नान गर्न र धार्मिक अनुष्ठान पूरा गर्न जाने मानिसहरूमा नेपालीको संख्या पनि ठूलो छ । संसारकै सबैभन्दा ठूलो धार्मिक जमघटका रुपमा चित्रित गरिएको महाकुम्भमा हिन्दुत्वप्रति आस्थावान नेपाल र भारतका श्रद्धालुहरू पुग्ने गरेका छन् ।
महाकुम्भमा मानिसहरूको ठूलो भिड लाग्ने गरेकामा त्यहाँ मानिस हराउने र भेटिने श्रृंखला पनि ठूलो छ । यो महाकुम्भमा पछिल्लो समय मोरङका विभिन्न ठाउँबाट पुगेका मानिसहरू आफ्नो समूहबाट छुटिएर हराउने गरेका घटना बाहिरिन थालेका छन् । लामो समय लगाएर केही भेटिएका घटना पनि सार्वजनिक भइरहेका छन् ।
त्यसरी हराउने र भेटिनेहरूको नाम र फोटो सामाजिक सञ्जालमा सार्वजनिक हुने क्रम बढ्दैछ । हराएकाहरूको खोजी गर्न आफन्तजन कुन प्रक्रिया अपनाउने भन्नेमा अन्यौलग्रस्त बनेका छन् ।
जसकारण खोजीका लागि औपचारिक पहल गर्न कठिनाइ भएको छ ।
प्रयागराजको कुम्भ स्नान गर्न गएका विराटनगर महानगरपालिका–६ झरना चोकका एक दम्पतीको अवस्था यकिन हुन नसकेको भन्दै उनीहरूका आफन्तले सामाजिक सञ्जालबाट खोजीको अभियान चलाए ।
हराउनेमा लक्ष्मण साह र उनीकी श्रीमती सकुन्तला देवी साह छन् । खोजीका लागि आफन्तजनले सामाजिक सञ्जालको सहारा लिए । सामाजिक सञ्जालकै माध्यमबाट उनको खोजी भइरहेको बेला साह दम्पती भेटिएर परिवारको सम्पर्कमा पुगेको स्थानीय गणेश साहले बताए । ‘वहाँहरू भेटिनु भएको छ, घर पुगिसक्नु भएको छ’ साहले भने ।
मोरङको बेलबारी नगरपालिका–६ बोराबाँधका रामचन्द्र महतो प्रयागराज महाकुम्भ नुहाएर फर्किने क्रममा १० दिनयता बेपत्ता छन् । उनीसँगै समूहमा गएका सबैजना फर्किए पनि महतो फर्किएका छैनन् । परिवारमा चिन्ता बढेको उनीहरूका आफन्तले बताएका छन् ।
‘कुम्भमेलाबाट फर्किंदा हराउनुभयो, हराएको आज १० दिन भइसक्यो’ बेपत्ता भएका महतोका आफन्तले भने, ‘गाउँबाट सँगै गएको सबै फर्किनुभयो, तर वहाँ आउनु भएन, नभेटिएपछि खोजीका लागि फेसबुकमा हालेको हो, तपाईहरूले पनि सहयोग गरिदिनु पर्यो ।’
महतोको खोजीका लागि पनि सामाजिक सञ्जालकै सहारा लिइएको छ । फेसबुकमा फोटो हालेपछि ससुरा (रामचन्द्र) हराएको जानकारी प्रहरीमा पनि दिएको ज्वाइँ सूर्यकुमार महतोले बताए । तर कुम्भमेलामा धेरै मान्छे हराउने गरेकोले नेपालबाट उनीहरूलाई खोज्न नसकिने जवाफ प्रहरीले दिएको उनले गुनासो गरे ।
‘प्रहरीमा गएर पनि निवेदन दिएको छु, हुलिया पनि दिएको छु’ सूर्य कुमारले भने, ‘भारतमा हराएको छ, दुनियाँ मान्छे हराइरहेको छ भन्छ, नेपालबाट खोज्न गाह्रो छ भनेको छ ।’
१४४ वर्षपछि लागेको दाबी गरिएको यो महाकुम्भमा नेपालबाट जाने तिर्थयात्रीहरूको यकिन संख्या कतै पनि छैन ।
धार्मिक पारस्परिकता र खुला सीमानाका कारण प्रयागराजमा जोगवनी नाकाबाट कति नेपाली त्यहाँ पुगे भन्ने विवरण नहुँदा त्यहाँ हराउनेहरूको खोजीमा अन्यौलता बढेको छ ।
तर स्थानीय प्रशासनले भने मोरङबाट महाकुम्भ स्नानका लागि पुगेर अलपत्र परेका या हराएका व्यक्तिहरूको वास्तविक जानकारी पाएर खोज्नका लागि कठिनाइ नभएको दाबी गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले महाकुम्भमा हराएकाहरूको खोजीका लागि भारतीय सुरक्षा निकायमा समेत नियमित सम्पर्क कायम भइरहेको बताए । उनले हराएका व्यक्तिको वास्तविक विवरणका आधारमा खोजी गर्न कठिनाइ नहुने दाबी गरे ।
‘नेपाली नागरिक हराएको जानकारी आयो र सम्बन्धित परिवारले ठ्याक्कै हराएकै हो भनेर जानकारी दिएको खण्डमा हामी तत्कालै कुरा गर्न सक्छौं, त्यस्तो अवस्थामा हाम्रो तत्कालै सम्पर्क पनि हुन्छ’ प्रजिअ यादवले भने, ‘खोज्नका लागि कुनै समस्या छैन, तर अहिलेसम्म कतैबाट पनि मान्छे हराएको जानकारी हामीलाई आएको छैन ।’
View : 263
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved