फाइल फोटो ।
विराटनगर । हेलिकप्टर उडानमा कसिलो नियम लगाउने आफ्नो निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज पछि सरेको छ । निकुञ्जले नियमअनुसार हेलिकोप्टर उडान गर्नू भन्दै सार्वजनिक सूचना जारी गरेको छ । तर, स्थानीयबासीको अवरोधका कारण सो क्षेत्रमा हेलिकप्टर सेवा अवरुद्ध नै छ ।
कोशी प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मानिने सगरमाथा क्षेत्रमा आठ दिनयता हेलिकप्टर सेवा ठप्प रहेको हो । स्थानीयबासीले हेलिकप्टर उडानमा अवरोध सिर्जना गरेपछि सगरमाथा क्षेत्रमा पर्यटक आवागमनसमेत ठप्प बनेको हो ।
हेलिकप्टर सेवा ठप्प भएपछि जिल्ला प्रशासन कार्यालय सोलुले सूचना निकालेर उडानमा अवरोध गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको थियो ।
लगत्तै सगरमाथा निकुन्जकी वरिष्ठ संरक्षण अधिकृत सुष्मा रानाले सूचना निकालेर ‘नियम अनुसार अनुमति लिएर, राजस्व तिरेर हेलिकप्टर उडान, अवतरण र होभरिङ गर्न’ आग्रह गरेकी हुन् ।
निकुन्जले हेलिकप्टर उडाउन अनुमति दिए पनि खुम्बु पासाङल्हामु गाउँपालिकाले यसबारे निर्णय लिएको छैन । यसअघि पालिका र निकुन्ज मिलेर नयाँ नियम लगाउँदै ४ हजार मिटरभन्दा माथि चार्टर्ड र माउन्टेन फ्लाइट गर्न नदिने निर्णय गरेका थिए । त्यसपछि आइतबार मात्रै असुरक्षा भएको भन्दै वायु सेवा सञ्चालक संघले विज्ञप्ति निकालेर सुरक्षा प्रत्याभूति नभएसम्म हेलिकप्टर उडान गर्न नसकिने बताएको थियो ।
सगरमाथा राष्ट्रिय निकुन्जले हेलिकप्टर उडाउन दिने ढंगको सूचना निकालेपछि गाउँपालिकाको कार्यपालिका बैठक बसेको थियो । मंगलबार राति अबेरसम्म चलेको बैठकले कुनै निर्णय गरेको छैन । ‘बैठक जारी छ’, गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले भने ।
सगरमाथा वा खुम्बु क्षेत्रका लागि हेलिकप्टर अनिवार्य साधन बनिसकेको छ । यातायात पहुँच सहज नहुने सो क्षेत्रमा विरामीको उद्धारदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत हेलिकप्टरबाटै हुने गरेको छ ।
हरेक दिन दर्जनौं हेलिकप्टरले फन्को लगाउने सगरमाथा क्षेत्रको आकाश एक सातादेखि सुनसान बन्दा दैनिक करोडौं रकम नोक्सानी हुने अवस्था सिर्जना भएको पर्यटन व्यवसायीहरू बताउँछन् ।
एक महिनाअघि खुम्बु पासाङल्हामु गाउँपालिकालाई समेत सहभागी गराएर सगरमाथा निकुन्ज प्रशासनले सन् २०२५ को सुरुदेखि हेलिकप्टर कम्पनीहरूलाई उद्धारबाहेकका काममा करिब ४ हजार मिटर माथिको सगरमाथा क्षेत्रमा जान रोक लगाउने निर्णय गरेको थियो ।
अहिलेसम्म ४ हजार मिटरभन्दा माथि पनि हेलिकप्टर उडान भइरहेको थियो । निकुन्ज क्षेत्रमा बिना अनुमति हेलिकप्टरहरूले जथाभावी उडान गरिरहेका कारण यस्तो निर्णय लिन बाध्य भएको निकुन्ज प्रशासनको भनाइ छ ।
यो निर्णयपछि उड्डयन कम्पनी तथा पर्यटन व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए भने उड्डयन नियामक निकायले उक्त विषय आफ्नो मात्रै क्षेत्राधिकारमा पर्ने, निकुन्ज र पालिकाले त्यस्तो निर्णय गर्नै नपाउने भन्दै उडान जारी राख्न भनेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसो भने पनि स्थानीयबासीको साथ लिएर पालिकाले अवरोध जारी राखेको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निकुन्ज आफ्नो निर्णयबाट पछि हटेको र पालिकाले पनि बैठकमार्फत हेली सेवा सुचारु गराउन सहयोग गर्ने अपेक्षा रहेको बताए ।
निकुन्ज तथा पालिकाले रेस्क्यू र सामान ढुवानीको मात्र उडान गर्न दिने माउन्टेन र चार्टर्ड उडान गर्न नदिने भनेपछि सोही विषयलाई आधार मानेर स्थानीयबासीले अवरोध गरिरहेका हुन् ।
माउन्टेन र चार्टर्ड उडान मात्रै हुँदा पर्यटकहरूले सोलुखुम्बुमा धेरै समय नबिताउने, त्यसले स्थानीयबासीको आम्दानी घट्ने भन्दै सोलुखुम्बुका सबैजसो हेलिप्याडहरूमा स्थानीयले झन्डा गाडेर अवरोध सिर्जना गरिरहेका छन् । यस्तो अवस्थामा असुरक्षा भएको भन्दै हेलिकप्टर कम्पनीहरूले उडान रोकेका हुन् ।
View : 85
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved