विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपाल, विराटनगर वडा नं. १२ को आयोजनामा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
दशैं, तिहार र छठ पर्वका अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबीच आपसी सद्भाव, भाइचारा र एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
वडा समितिका अध्यक्ष रामानन्द यादवको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं जसपाका केन्द्रीय सचिव सुरेशकुमार मण्डलले देशको वर्तमान राजनीतिक परिस्थिति र जनताको अधिकार स्थापनाका लागि जसपा सधैं अग्रपंक्तिमा रहेको बताउँदै स्थानीय तहदेखि नै संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू जयराम यादव, समाजवादी किसान महासंघका अध्यक्ष सञ्जय सिंह, मो. कादिर र कुन्ता राई, पूर्व केन्द्रीय सदस्य जोगीलाल यादव, मोरङ अध्यक्ष राजकुमार यादव, उपाध्यक्ष मन्तलाल यादव तथा मोरङ क्षेत्र नं. ६ का सचिव महेश यादव लगायतले मन्तव्य राख्दै चाडपर्वहरूले नेपाली समाजमा आपसी मेलमिलाप र सांस्कृतिक एकतालाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
उनीहरूले राजनीतिक स्थिरता र विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्वागत मन्तव्य नगर सदस्य अरविन्दकुमार मण्डलले राखेका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव वैजनाथ भण्डारीले गरेका थिए ।
त्यसैगरी, कार्यक्रममा बुद्धिजीवीहरू रामप्रसाद साह र वीरेन्द्र कामत, जसपा नेता तथा विराटनगर महानगरगरपालिका–१२ का वडाध्यक्ष हिरालाल कामत र सदस्य कुशेश्वर राजवंशी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा जनमत पार्टीका मोरङ इञ्चार्ज तथा केन्द्रीय सदस्य जीवन गुप्ताको समेत आतिथ्यता रहेको थियो र उनले पनि दशै, तिहार, छठ पर्वको शुभकामना दिएका थिए ।
सांस्कृतिक सद्भाव र राजनीतिक प्रतिबद्धतासहित सम्पन्न भएको सो कार्यक्रमले स्थानीय स्तरमा पार्टी पंक्तिलाई थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ ।
View : 152
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved