विराटनगर । नेकपा एमालेबाट मोरङको क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका विनोद ढकालले भ्रष्टाचार नगर्ने र हुन नदिने अठोटसहित मतदातासामू ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । ढकाल आफ्ना १०२ वर्षीय पिता विष्णुप्रसाद ढकालको निधनपछि अहिले कामका लागि कोरामा छन् ।
आइतबार उनले कोराबाटै पार्टी कार्यकर्ता, आम मतदाता र शुभचिन्तकहरूसँग ३० बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
ढकालले आफ्नो राजनीतिक जीवनमा भ्रष्टाचार नगर्ने अठोट व्यक्त गरेका हुन् । ‘भ्रष्टाचार गरेर वा कसैको नजरमा तपाईंहरूको शिर झुकाउने काम मबाट हुनेछैन’ ढकालले प्रतिवद्धतापत्रमार्फत भने, ‘सूर्य चिन्हमा मतदान गरी सेवा गर्ने अवसर दिनुहोस् ।’
उनले स्थानीय विकास, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटनदेखि सामाजिक सुरक्षासम्म समेटिएको ३० बुँदे प्रतिबद्धता अघि सार्दै आफूलाई कामले प्रमाणित गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन् ।
विराटनगर–५ सम्झना चोकस्थित ढकाल निवासमा नेकपा एमाले क्षेत्र नम्बर ६ को क्षेत्रीय निर्वाचन परिचालन कमिटीका सचिव सत्यनारायण चौधरीले उक्त प्रतिवद्धताका बुँदाहरू पढेर सार्वजनिक गरेका थिए ।
‘हामीले भोट मात्रै मागिरहेका छैनौं, काम पूरा गर्ने अवसर खोजिरहेका छौं’ प्रतिवद्धतापत्रमा उल्लेखित सन्देश पढ्दै चौधरीले भने, ‘एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका ढकाल अहिले पितृशोकमा भएपनि उहाँले विगत चार दशकदेखि यस क्षेत्रका जनताको सुख–दुःखमासँगै रहेको काम गर्नु भएको छ, अब यहाँका अधुरा काम पूरा गर्ने र नयाँ योजनालाई गति दिनका लागि आगामी फागुन २१ को मतदानमा मत प्रदान गरिदिन सवै मतदातासमक्ष आग्रह गर्दछौं ।’
प्रतिवद्धतापत्रमा ढकालले आफू सांसदमा निर्वाचित भएमा क्षेत्र नम्बर ५ मा पूर्वसांसद लालबाबु पण्डितले चार अर्ब रुपैयाँ भन्दाबढीको विकास निर्माणको काम गरेको र त्यसबाहेक पनि बाँकी रहेका कामलाई आफूले सम्पन्न गर्ने बताए ।
‘जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै हो, म निर्वाचित भएर प्रदेश र स्थानीय तहसँग समन्वय गर्छु र बलियो सरकारका माध्यमबाट योजना कार्यान्वयनका लागि समन्वय र सहकार्य गर्दै यस क्षेत्रको विकासको नेतृत्व गर्नेछु’ उनले भनेका छन् ।
ढकालले विराटनगरको दीर्घकालीन समस्याका रुपमा रहेको ढल निकास र डुबान अन्त्यका लागि गुरुयोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । डुबानले वर्षेनि सर्वसाधारणलाई पीडा दिंदै आएको भन्दै टालटुले उपायको पछि नलागी स्थायी समाधान खोज्ने बताए ।
उनले चक्रपथसहित प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने, गछिया, बुढीखोला–केशलिया र सिसरिया नदी नियन्त्रणका लागि विशेष योजना ल्याउने बताए ।
नेताचोक–खनार–भाइरल पुल सडक, मिलनचोक–कमलपुर– जोगीयारे हुँदै मृगौलिया जाने भुवनेश्वर सडक चौडा पारी कालोपत्रे गर्न पहल गर्ने बताए ।
उम्मेदवार ढकालले क्षेत्र नम्बर ६ भित्रका बन्द तथा रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न पहल गर्ने र मजदुरको हितका विशेष कार्यक्रम ल्याउने बताए ।
उनले साना तथा घरेलु उद्योगको प्रवद्र्धन बिना स्थानीय अर्थतन्त्र नचल्ने बताउँदै युवा उद्यमीलाई बिनाधितो ऋणको व्यवस्था मिलाउन पहल गर्ने र स्वरोजगारमूलक तालिममार्फत उद्यमशीलता विकास गरिने प्रतिवद्धता जनाएका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा र ‘स्मार्ट क्लासरुम’ नीति लागू गर्ने, आधुनिक प्रविधिमार्फत नवप्रवर्तनात्मक सिकाइ प्रणाली विकास गर्नेसमेत आफ्नो योजनाभित्र उनले समेटेका छन् । त्यस्तै, मदरसा र गुरुकुलविधि धार्मिक विद्यालयलाई सुव्यवस्थित गरी विश्वविद्यालयको शैक्षिक कार्यक्रमसँग जोड्न नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्षेत्र नम्बर ६ मा सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकको सहज पहुँच सुनिश्चित गरिने उनले बताए ।
मल, खाद र बीउ समयमै उपलब्ध गराउने, सिंचाइको प्रबन्ध गर्ने र आधुनिक कृषिलाई व्यवसायीकरण गर्ने प्रतिबद्धता उनले गरेका छन् । कृषि उपज संकलन केन्द्र र शीत भण्डार सञ्चालनमा प्रोत्साहन गरिने उनको भनाइ छ ।
सुन्दरहरैंचाको छ पोखरी, बुढीगंगाको सिंघिया खोला र बौराहाको मधुपार्कसहित अन्य पार्क स्थापना तथा प्रवद्र्धन गर्ने, हसिना सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना उनले सार्वजनिक गरेका छन् ।
सुनसरी–मोरङ सिंचाई आयोजनाको विराटनगरतर्फको शाखा नहर किनारमा एकातर्फी सडक र अर्को किनार हरियालीसहित खुला व्यायामशाला र मिनीपार्क निर्माण गर्ने योजनालाई अघि बढाइने प्रतिवद्धता एमाले उम्मेदवार ढकालले जनाए ।
पूर्वाञ्चल विश्वविद्यालयबाट हसिना सिमसार जोड्ने पर्यटन मार्ग निर्माण, गछिया–गोठगाउँ जोड्ने पक्की पुल, वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुल निर्माण जस्ता परियोजना पनि आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।
निर्वाचन क्षेत्रस्तरीय रंगशाला, खेलमैदान र कभर्ड हल निर्माण गर्दै युवालाई खेल र रचनात्मक कार्यमा प्रोत्साहित गरिने ढकालले बताएका छन् । लागू औषध दुव्र्यसनविरुद्ध सचेतना अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
सांस्कृतिक धरोहर संरक्षण गरिने र थारू समुदायको भाषा, संस्कृति, भेषभूषा, पर्व तथा रीतिरिवाजको संरक्षण गर्दै समग्र समुदायको विकास गरिने उनले प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै, ज्येष्ठ नागरिक, अपाङ्गता, दलित र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बढाउन पहल गर्ने, अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान गर्ने, विपन्न परिवारलाई निःशुल्क विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।
ढकालले चारकोसे जंगल क्षेत्रमा हात्ती तथा हात्तीमुडामा बाँदर लगायतका जंगली जनावरको आतंक नियन्त्रणका लागि पहल गर्ने बताएका छन् ।
त्यस्तै, सहकारी र माइक्रोफाइनान्सको चर्को ब्याजबाट विपन्न नागरिकलाई राहत दिने, सिटी रिक्सा चालकलाई संगठित गरी सहुलियत दरमा चार्जिङ सुविधा उपलब्ध गराउने योजना पनि उनले अघि सारेका छन् ।
उत्तरी मोरङको गछियालाई प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने, विगतमा लम्ब्याएका योजनालाई प्राथमिकताका साथ पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा एमालेका पूर्व स्थायी कमिटी सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज ऋषिकेश पोखरेल, केन्द्रीय सदस्य पर्शुराम बस्नेत, एमाले मोरङका उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा लगायतका क्षेत्र नम्बर ६ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
View : 154
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved