Biratnagar, Morang, Nepal
१६ कार्तिक २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

तोमनाथ उप्रेतीको ‘अक्षरभित्र चिन्तन’ दोस्रोपटक विमोचित

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर  ।  साहित्यकार तथा समालोचक तोमनाथ उप्रेतीद्वारा लिखित समालोचनात्मक कृति ‘अक्षरभित्र चिन्तन’ को विराटनगरमा पुनः विमोचन गरिएको छ।

रतुवामाई समाज, विराटनगरद्वारा आदर्श माध्यमिक विद्यालयमा आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेशसभाका सदस्य भीम पराजुलीले कृतिको दोस्रोपटक विमोचन गरेका हुन् । 

पूर्वप्रकाशित यस कृतिलाई स्थानीय साहित्यिक समुदाय र पाठकमाझ थप सुसूचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

समारोहमा कोशी प्रदेश सभा सदस्य गणेश उप्रेती ‘सुशील’ समेत उपस्थिति रहेकाे   कार्यक्रमको अध्यक्षता रतुवामाई समाजका अध्यक्ष विष्णुराज लामिछानेले गरेका थिए।

सोही अवसरमा तिहार, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदानका साथै मोरङ कोष तथा लेखा नियन्त्रक कार्यालयबाट उदयपुर सरुवा भई जान लागेका कृतिकार उप्रेतीको सम्मानमा ‘फेरि भेटौँला’ बिदाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले नेपाली साहित्यको परिमार्जन र श्रीवृद्धिमा सिर्जना जत्तिकै समालोचनाको भूमिका महत्त्वपूर्ण हुने विचार व्यक्त गरे।

कोशी प्रदेशसभाका सदस्यद्वय भीम पराजुली र गणेश उप्रेती एवम् समाजका संस्थापक अध्यक्ष रमानाथ भट्टराईले कृतिको गम्भीर अध्ययन र तटस्थ मूल्याङ्कनले स्थानीय साहित्यलाई राष्ट्रिय परिदृश्यमा स्थापित गर्न मद्दत पुर्‍याउने बताए।

‘अक्षरभित्र चिन्तन’ मा विराटनगरलाई कर्मभूमि बनाएका विभिन्न स्रष्टाका कविता, उपन्यास, कथा, नाटक, मुक्तक, हाइकु र खण्डकाव्य जस्ता विधामा प्रकाशित कृतिहरूको गहन समालोचनात्मक विश्लेषण गरिएको छ।

साे कृतिले स्थानीय साहित्यलाई केवल मनोरञ्जनमा सीमित नराखी सामाजिक यथार्थ, वर्गीय चेतना र जीवनदर्शनसँग जोडेर बौद्धिक विमर्शको दायरा फराकिलो बनाएको छ।

View : 40

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved