Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विनियोजन अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल सुरु, योजना काटेको भन्दै एमाले सांसदहरूको विरोध

बाबुराम भण्डारी
१२ मंसिर २०८०, मङ्गलवार

Advertisement

विराटनगर, ११ मंसिर : कोशी प्रदेशसभामा सोमबारदेखि विनियोजन अध्यादेश प्रतिस्थापन विधेयकमाथिको छलफल सुरु भएको छ । सरकारले प्रतिस्थापन विधेयकमार्फत अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले समेटेका योजनाहरू कटौती गरेको भन्दै नेकपा एमालेका सांसदहरूले भने चर्को विरोध जनाए ।

सरकारले मनपरी ढंगले बजेट कटौती गरेको भन्दै प्रदेशसभाको शुन्य समयमा तेह्रथुमको प्रदेशसभा १ (१) का सभा सदस्य किशोरचन्द्र दुलालले आसनबाट उठेर मौन विरोध जनाए । दुलालले खानेपानीको हाहाकार भएका क्षेत्रका लागि विनियोजित बजेट राजनीतिक पूर्वाग्रह राखेर काटिएको दाबी गरेका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश विनियोजन अध्यादेश २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ छलफलका लागि विचार गरियोस् भनी निर्णयार्थ पेश गरेपछि त्यसमाथि सैद्धान्तिक छलफल भएको थियो ।

छलफलमा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई समर्थन जनाउँदै आएको नेकपा एमाले संसदीय दलबाट ११ जना सभा सदस्यहरूले मुख्यमन्त्री कार्कीले विकास बजेट बजेट कटौती गरेको भन्दै विरोध गरेका थिए । 

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले कुनै पनि मूल्य मान्यता र मापदण्डमा नरही बजेट विनियोजन भएको दाबी गरे । उनले दलकै तर्फबाट गम्भीर रहेको चेतावनी दिंदै सामान्य रुपमा नठान्न मुख्यमन्त्री कार्कीलाई चेतावनी दिए । लोकप्रियताका लागि मुख्यमन्क्री कार्कीले कार्यत्रम ल्याएकोले कार्यान्वयन हुन नसक्ने बताए ।

नेकपा एकीकृत समाजवादीकी खिनु लङ्वा लिम्बूले पर्यटनतर्फ निर्माण सम्पन्न भएका अधुरा योजनाहरूको रकम भुक्तानीको स्रोत सुनिश्चित नझएको गुनासो गरिन् । शक्ति र व्यत्तिका आधारमा बजेट विनियोजन नभएको आरोप लगाइन् । 

नेकपा माओवादी केन्द्रका नारायणबहादुर मगरले मुख्यमन्त्रीकै पार्टीका सांसदहरूले समेत असन्तुष्टि जनाइरहेको भन्दै विनियोजनको उद्देश्यमाथि आशंका व्यक्त गरे । 

एमालेका विदुरकुमार लिंथेपले ५५ प्रतिशत बजेट पूँजीगततर्फ राख्नु सकारात्मक भए पनि विनियोजन भने उडन्ते जस्तो देखिएको टिप्पणी गरे । बजेटले विकासको उपलब्धिको आंकडा दिन नसक्ने दाबी गरे । उनले मुख्यमन्त्रीको निर्वाचन क्षेत्रतिर बजेट केन्द्रीत भएको आरोप लगाए ।

सिर्जना राईले सम्पन्न भइसकेका आयोजनाहरूको समेत भुक्तानी गर्न नसक्ने सरकारले हचुवाको भरमा बजेट बृद्धि गरेको बताइन् । उनले शक्तिको भरमा योजना छनौट र बजेट विनियोजन गरिएको आरोप लगाइन् ।

एमालेकी सचेतक कमला दर्नालले बजेटले दलितहरूको समस्या समाधान नगर्ने दाबी गरिन् । दलितहरूको परम्परागत शीप, कला र संस्कृतिको संरक्षणमा बजेटले ध्यान नदिएको गुनासो गरिन् । 

रमेशकुमार बस्नेतले योजनाहरू हराएको टिप्पणी गरे । उनले योजना खोजी पाऊँ भन्दै रोष्टमबाटै आग्रह गरे । बस्नेतले कुनै पनि निकायले सिफारिस नगरेका योजनाहरू विनियोजनमार्फत प्रवेश गराइएको आरोप लगाए ।

तिलचन पाठकले बजेटले आफूलाई अचम्मित बनाएको बताए । उनले कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने एमालेका सांसदहरूको क्षेत्रकै योजनाहरू कटौती भएको गुनासो गरे । मुख्यमन्त्री कार्कीले २५ लाखका योजना कटौतीको कुरा गरेर ५ लाखका योजनाहरू थपेको सभा सदस्य पाठकले दाबी प्रस्तुत गरे ।

छविलाल चुडालले पनि मुख्यमन्त्रीले २५ लाखमुनिका योजना कटौती गर्ने घोषणा गरे पनि त्यो कार्यन्वयन हुन नसकेको जिकिर गरे । बजेटले योजनाहरूको प्राथमिकीरण नगरेको दाबी गरे ।

पाँचकर्ण राईले आफ्नो समेत इमान्दार प्रयासले मुख्यमन्त्री बनेका कार्कीले बजेटहरू आफ्नो जिल्लामा मात्रै केन्द्रीत गरेको आरोप लगाए । मुख्यमन्त्रीले मन्त्रीहरूको कार्यविभाजन समेत नगरी अर्थ मन्त्रीको समेत जिम्मेवारी लिएर सबै बजेट आफूतिर केन्द्रीत गरेको दाबी गरे । दुई जिल्ला जोड्ने रणनीतिक मार्गका पुलहरूसमेत कटौती गरिदिएको बताए ।

गीतादेवी रेग्मीले महिलाको समस्या समाधान गर्न, मातृ मृत्युदर घटाउने योजना कार्यान्वयनका लागि बजेट विनियोजन नभएको बताइन् । राधाकृष्ण खनालले मात्र विनियोजन पुस्तिका प्राप्त गरेकोले धेरै कुरा हेर्न नपाएको बताए । मुख्यमन्त्रीले घोषणा गरे विपरीत ५/६ लाख रुपैयाँका योजनाहरूसमेत समावेश भएको बताए ।

खड्गबहादुर बस्नेतले मुख्यमन्त्री कार्कीले खानेपानी र सिँचाइकै योजनाहरू कटौती गरेको दाबी गरे । सिँचाइको योजना कटौती गरेपछि कृषि क्षेत्रको विकासको लागि ठुला कुरा गर्ने हैसियत सरकारले गुमाएको बताए । सरकारसँग बजेट तथा योजना निर्माणको प्रणाली नै नभएको र कर्मचारीहरू बिचौलियाहरूको पक्षमा लागेको आरोप लगाए । 

जयप्रकाश चौधरीले प्रदेशलाई समृद्ध बनाउने सपना देखेको भए सरकारसँग विगतको अभ्यासको प्रयोग गर्नुपर्ने सुझाव दिए । सरकारले योजना छनौट गर्दा बेथितीपूर्ण तरिकाले ल्याएको आरोप लगाए ।चौधरीले पहुँचको भरमा झ्याल र पछाडिको ढोकाबाट योजनाहरू छिर्ने बेथितीको अन्त्य गर्न मुख्यमन्त्री कार्कीसँग आग्रह गरेका थिए । 

View : 140

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved