Biratnagar, Morang, Nepal
१० कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ कांग्रेस अधिवेशन

रूपान्तरण र पुस्तान्तरणको एजेन्डासहित सुयर्माराजले गरे सभापतिमा दावी

उद्‌घोष संवाददाता
१० कार्तिक २०८३, मङ्गलवार

Advertisement

विराटनगर । गुटगत भागबण्डा र परम्परागत राजनीतिक शैलीबाट गुज्रिरहेको नेपाली कांग्रेसभित्र वैचारिक शुद्धीकरण, सांगठनिक रूपान्तरण र पुस्तान्तरणको बहस जारी रहँदा मोरङ कांग्रेसको नेतृत्व लिन युवाहरूको तयार देखिएका छन् । 

कोशी प्रदेशका पूर्व प्रदेशसभा सदस्य एवं कांग्रेसका पूर्व प्रमुख सचेतक सुयर्माराज राईले मोरङ सभापतिमा आफ्नो दावी घोषणा गरेका छन् । उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै एकता, वैचारिक स्पष्टता र युवापुस्ताको सहभागिता सुनिश्चित गर्ने ऐजेण्डासहित उम्मेदवारी घोषणा गरेका हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएका राईले कांग्रेसको ‘पावर पोलिटिक्स’लाई ‘प्रिन्सिपल पोलिटिक्स’मा रुपान्तरण गर्नुपर्ने विचार बोकेर अघि बढेको बताए ।

कांग्रेसभित्र देखिएको विभाजनको प्रमुख कारण लोकतान्त्रिक अभ्यास, मूल्य र मान्यतामा आएको विचलन रहेको राईको विश्लेषण छ । उनले पार्टी नियन्त्रण कायम गरेर आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा पार्टीभित्र अवसरको असमान वितरण र गुटगत प्रतिस्पर्धा मौलाएको बताए ।

‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । यहाँ प्रतिस्पर्धा गर्न पाउने अधिकार र आफूले रोजेको नेता तथा प्रतिनिधि छान्न पाउने अधिकार सुरक्षित हुनुपर्छ’ उनले भने, ‘तर, पावर पोलिटिक्स हाबी हुँदै जाँदा संगठनलाई आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्यो त्यसले पार्टीभित्र विभाजनको रेखा कोर्नुका साथै कार्यकर्ताको मनोबल कमजोर बनायो । कांग्रेसलाई एकताको बिन्दुमा जोड्न पावर एन्ड प्रिन्सिपल पोलिटिक्सलाई सँगसँगै अघि बढाउनुपर्छ ।’

राजनीतिमा शक्ति प्राप्तिको प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई सिद्धान्त र विचारसँग जोड्नुपर्ने उनको धारणा छ । 

‘सबैसँग छलफल र सहकार्य गर्ने, अवसर वितरणलाई न्यायोचित बनाउने, योगदानका आधारमा मूल्याङ्कन गर्ने तथा विधानसम्मत ढंगले पार्टी सञ्चालन गर्ने पद्धति स्थापित गर्नुपर्छ,’ राईले भने ।

उनले अवसर पाइसकेका नेताहरूको योगदानको सम्मान गर्दै लामो समयदेखि पार्टीमा योगदान पु¥याएका तर जिम्मेवारी नपाएका योग्य नेता तथा कार्यकर्तालाई पनि अवसर दिनुपर्ने बताएका छन् । 

पार्टीभित्र आत्मसमीक्षा र सुधारको प्रक्रिया अघि बढाउन सके कांग्रेसलाई एकताबद्ध बनाउँदै संगठन सुदृढ गर्न सकिने विश्वास व्यक्त गरे ।

मोरङको कानेपोखरी गाउँपालिका–५ जन्मिएका राईले मोरङ कांग्रेसको नेतृत्व गर्ने अवसरका लागि आफु तयार रहेको बताएका हुन् । विशेष महाधिवेशनदेखि नै वर्तमान केन्द्रीय नेतृत्वलाई साथ दिएका राईले पार्टीभित्र अहिलेपनि फरक–फरक समूह र विभाजित मानसिकता मेटाउनका लागि आफुले प्रयास गर्ने बताए । 

‘मोरङको हकमा यो अधिवेशनलाई एकता अधिवेशनका रूपमा अघि बढाउनुपर्छ भन्ने मेरो सोच हो । त्यही मनोविज्ञान र तयारीका साथ म अघि बढिरहेको छु । सबैसँग छलफल र सहकार्य गरिरहेको छु । मलाई विश्वास छ, कार्यकर्ता र मतदाता साथीहरूले मेरो एजेन्डालाई स्वीकार गर्नुहुनेछ,’ राईले भने ।

उनका अनुसार कांग्रेसभित्र एकता कायम गर्न नेतृत्व चयनमा मात्र सीमित नभई पार्टी संचालनको पद्धति, अवसर वितरण र योगदानको मूल्यांकन प्रणालीमा समेत सुधार आवश्यक रहेको बताएका छन् । लामो समयदेखि संगठनमा काम गरेका तर अवसरबाट वञ्चित भएका नेता तथा कार्यकर्तालाई उचित स्थान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

विद्यार्थी राजनीतिदेखि प्रदेशसभासम्म

विद्यार्थी राजनीतिबाट कांग्रेसमा जोडिएका राईले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्ने क्रममा २०५१–५२ सालतिर नेपाल विद्यार्थी संघको इकाई समितिबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०६२ सालमा विराटनगरस्थित डिग्री क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोषाध्यक्षमा निर्वाचित भए ।

२०६२–६३ को जनआन्दोलनमा विद्यार्थी नेताका रूपमा सक्रिय सहभागी भएको उनले बताए । विद्यार्थी राजनीति बिट मारेपछि विराटनगरका निजी क्याम्पसहरूमा करिब चार वर्ष अध्यापनसमेत गरेको उनीसँग अनुभव छ । नेपाली साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी राजनीतिक सक्रियतासँगै साहित्य सिर्जना र सामाजिक अभियानमा पनि संलग्न रहँदै आएका छन् ।

विगतमा क्षेत्र नम्बर ३ को क्षेत्रीय समिति सदस्य, मोरङ जिल्ला सदस्य र महासमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका राई १५औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुन् ।

२०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र ३(१) बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनले प्रदेशसभामा कांग्रेस संसदीय दलको सचेतक हुँदै प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

राई शिक्षा, स्वास्थ्य, विकास निर्माण, लागूऔषधविरुद्धको चेतना तथा भ्रष्टाचारविरोधी अभियानमा सक्रिय रहँदै आएका छन् । चुरे संरक्षण र प्राकृतिक स्रोतको अवैध उत्खनन्विरुद्ध आवाज उठाउनुका साथै मोरङको बहुसांस्कृतिक समाजमा सामाजिक–सांस्कृतिक एकता र सद्भाव कायम गर्न पनि आफूले भूमिका निर्वाह गर्दै आएको बताए ।

‘नेपाली कांग्रेसलाई अब भाषणमा मात्र होइन, व्यवहारमै रूपान्तरण र पुस्तान्तरणको दिशामा लैजानुपर्छ । पार्टीलाई विचारहीनता र गुटबन्दीबाट मुक्त गर्दै युवा पुस्ताको वैचारिक उपस्थिति सुनिश्चित गर्न, आम कार्यकर्ताको आत्मसम्मान जोगाउन र मोरङ कांग्रेसलाई नयाँ उचाइ दिन मैले जिल्ला सभापतिमा दाबी गरेको हुँ,’ राईले भने ।

एकता, न्यायोचित अवसर वितरण, वैचारिक स्पष्टता र संगठनात्मक सुधारलाई प्राथमिकतामा राखेका राईले आफ्नो नेतृत्वले पार्टीभित्रको विभाजन कम गर्दै कार्यकर्तालाई एक ठाउँमा ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

View : 49

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved