Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

को हुन् एमालेमा जान खुट्टा उचालेका सांसद ?

‘२०७४ माघ अन्तिम साता हुनुपर्छ, पार्टीको सिंगो टिमले टंक आङबुहाङलाई संसदीय दलको नेता बनाउने तयारी थाल्यो, तर आङ्बोले गोपाल किराँतीसमेतलाई उचालेर रामबहादुर थापा बादलको कभरमा संसदीय दलको नेता बन्ने अराजनीतिक प्रपञ्च गरे ।’
उद्घोष सम्वाददाता
९ साउन २०८१, बुधवार

विराटनगर । नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवी, अध्येता एवम् सञ्चारकर्मी तारामणि सापकोटाले सामाजिक सञ्जालमा एउटा यस्तो स्टाटस लेखे– एमालेमा समाहित हुन खुट्टो उचालेका (सांसद पदले रोकिएका) एक नेताले कोशीमा माओवादी केन्द्रलाई बन्धक बनाए । तर सापकोटाले उक्त स्टाटस लेखेको केही समयमै हटाए । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । हत्तपत्त आफूले लेखेका स्टाटस नहटाउने स्वभावका सापकोटाले यो स्टाटस भने केही समयमै हटाए । चारैतिरबाट सोधखोज र दबाब आएपछि आफूले स्टाटस हटाएको उनले बताए । 

‘मानिसहरू पनि अचम्मकै हुँदा रहेछन्’ उनले भने, ‘को हो त्यो नाम भन् न भनेर सोधेर हैरान खेलाए । नाम लेख्न मिल्ने भए लेखिहाल्थेँ नि भनेर कतिलाई भन्नु ? त्यही भएर हटाएँ ।’ आफूले कसैको नाम तोकेरै लेख्न नसकेकै कारण त्यस्तो बिम्बात्मक स्टाटस लेखेको उनको जिकिर छ ।

हुन पनि शब्दका अनेक शक्ति हुन्छन् । अभिधा, लक्षणा, व्यञ्जना यी तीन शब्दशक्ति हुन् । कुनै अर्थमा गाई भन्नु घरपालुवा जनावर गाई नै हो भन्ने बुझिन्छ । तर ‘ऊ गाई प्राणी’ हो भन्यो भने सोझो, सरल, सुबानी भन्ने अर्थ लाग्छ । 
इन्टरनेट युगमा ‘वान क्लिक, मिलियन ब्लिङ्क’ भन्ने बुझ्दाबुझ्दै पनि सापकोटाले स्टाटस हटाएर सम्बन्धित मान्छेलाई राहत त दिए । तर ऊनले लेखेको स्टाटस अर्को व्यक्तिले स्त्रिनसट गरी विभिन्न सञ्चारमाध्यमलाई पठाउनबाट रोक्न भने उनले सकेनन् । 

‘आमसञ्चार र समावेशी पत्रकारिता’ विषयको पुस्तकका लेखक, अध्येता तारामणि सापकोटाले सामाजिक सञ्जालमा लेखेको स्टाटस–‘एमालेमा समाहित हुन खुट्टो उचालेका (सांसद पदले रोकिएका) एक नेताले कोशीमा माओवादी केन्द्रलाई बन्धक बनाए’ भनेर लेखेको पात्र आखिर को रहेछन् त ? 

उद्घोषले केही माओवादी नेतालाई सोधेको थियो । धेरैले आफ्नै पार्टीमा अन्तरकलह किन बढाउनु भनेर बोल्नै चाहेनन् । नाम कुनै पनि हालतमा सार्वजनिक नगर्ने शर्तमा माओवादीका एक नेताले त्यसरी एमालेमा जान खुट्टो उचालेका व्यक्ति इन्द्रबहादुर आङ्बो भएको चाहिँ बताए । 

यसका लागि उनले आङ्बोको नेकपा एमालेसँगको हिमचिम र उनको विगतको पृष्ठभूमि कोट्याए । आङ्बो पाँचथर ‘ख’बाट दोस्रो पटक निर्वाचित प्रदेश सभा सदस्य हुन् । वि.सं. २०३९ साउन २९ गते जन्मिएका आङ्बो ३५ वर्षको उमेरमा मन्त्री भएका व्यक्ति पनि हुन् । 

वि.सं. २०७४ सालमा उनी मुख्यमन्त्री शेरधन राईको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए । त्यसपछि राजेन्द्रकुमार राई मुख्यमन्त्री हुँदा पनि उनी सोही मन्त्रालयका मन्त्री भएका थिए । 

माओवादीमा लामो समयसम्म मन्त्री पद खानेमा अहिलेसम्म आङ्बो नै अगाडि छन् । आङ्बोले प्रदेश सभाको पहिलो कार्यकालमै संसदीय दलको नेता हुन निकै जोडबल गरेका थिए । त्यतिखेर आङ्बोलाई संसदीय दलको नेता बनाउन कसैले जोडबल नगरे पनि गाोपाल किराँती र रामबहादुर थापा बादलले ठूलै मिहेनत गरेका थिए । 

आङ्बो कुनै बेला नेकपा माओवादीबाट अलग भई गठन भएको नेकपा माओवादी वैध समूहमा थिए । तर सो समूहबाट बादलहरू फर्केर फेरि प्रचण्ड समूहमा आए । त्यसमा आङ्बो पनि आए । 

‘त्यस बेला प्रचण्डले बादलको मन शान्त र स्थीर पार्न पार्टी नै बादललाई जिम्मा दिए’ एक जना माओवादी नेता भन्छन्, ‘अनि त पार्टीमा डाडुपन्यु आफ्नो हातमा परेपछि त बादलका भान्सेले पनि ठाउँ पाए ।’ 

उनी नेकपा माओवादीको दुर्दिन पनि त्यहीँबाट सुरु भएको गुनासो गर्छन् । एउटा अनुशासित भनेको पार्टीमा समान्तर बैठक बस्ने, पार्टीको निर्णयमाथि चुनौती दिने काम सुरु भएको उनी उल्लेख गर्छन् । 

उनी सम्झन्छन्, ‘२०७४ माघ अन्तिम साता हुनुपर्छ, पार्टीको सिंगो टिमले टंक आङबुहाङलाई संसदीय दलको नेता बनाउने तयारी थाल्यो, तर आङ्बोले गोपाल किराँतीसमेतलाई उचालेर रामबहादुर थापा बादलको कभरमा संसदीय दलको नेता बन्ने अराजनीतिक प्रपञ्च गरे ।’

उनका अनुसार, त्यसबेला यतिसम्म भयो कि प्रदेश कमिटीको कार्यालयमा बसेर कथित बैठकको हवाला दिई संसदीय दलको नेता इन्द्रबहादुर आङबो, उपनेता रामकुमार राई, उपसभामुख सरस्वती पोखरेल, प्रमुख सचेतक मोहनबहादुर खड्का र सचेतकमा कुलप्रसाद सावा (कुशल) लाई चयन गर्ने निर्णय गरियो । तर, संस्थापक समूह भनिएको त्यसबेलाको एउटा समूहले यो निर्णय अमान्य हुने भनेर पार्टी अध्यक्ष प्रचण्डलाई पुनरावेदन गरेपछि निर्णय सच्चियो । 

बाटो बिराएरपछि फेरि बाटो समाएका बादल समूहले पार्टीको कमाण्ड आफ्नो हातमा पाएपछि जगजगी नै गरेको केही माओवादी नेताहरू अझै पनि दुखेसो गर्छन् । कतिसम्म भने पार्टीको प्रदेश नं. १ संयोजक भएपछि सावित्रीकुमार काफ्लेले शहिद परिवारको नाम हटाएर आफ्नी पत्नी विना पोखरेललाई राष्ट्रिय सभाको सांसद बनाए । काफ्ले पनि बादलसँगै माओवादीमा भित्रिएका थिए । 

सुरुमा नेकपा माओवादीमा बादल समूह बाम एकताप्रति त्यति सकारात्मक थिएन । ‘जति उग्र क्रान्तिकारी, उति उग्र प्रतिगमनकारी हुने खतरा’ भन्ने आहानझै पछि बादलहरू नै नेकपा विभाजित हुँदा हाल साबिक नगरी नेकपा एमालेमै रमाएर बसे । 

तिनै रामबहादुर थापा बादलसँग पुरानो साइनोसम्बन्ध भएका व्यक्तिहरू अहिले नेकपा एमालेसँग थोरै पनि हिमचिम गर्दा शंकाको नजरले हेर्नेको संख्या माओवादीमा कम छैन । बादलसँग पुरानो सम्बन्ध भएकै कारण, बादलसँगै पुनः पार्टीको मुलधारमा आएको भनेकै कारण इन्द्र आङ्बोलगायतलाई शंका गर्नु न्यायोचित नहुने एक माओवादी कार्यकर्ता बताउँछन् ।  

उनी भन्छन्, ‘बरु त्यसका बाबजुद उहाँहरूले नेकपा माओवादी केन्द्रको शाख र सान वृद्धिका लागि गर्नुभएको प्रयासको हामीले मुक्तकण्ठले प्रंशसा गर्नुपर्छ ।’ देश, काल, परिस्थितिका कारण मुख्यमन्त्रीसँग निजी तौरतरिकाले कसैले सम्बन्ध राख्दैमा उसलाई एमालेमा जान खुट्टा उचाल्यो भनेर फत्तुर लगाउनु अनुचित हुने उनी बताउँछन् । उनले कसैको राजनीतिक जीवन समाप्त पार्नेगरी सस्तो आरोप लगाउने कार्य पार्टीभित्र र बाहिर कतैबाट भए प्रतिवाद गरिने बताए ।

View : 229

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved