Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एलिट क्लबले थाल्यो संविधान संशोधनको बहस

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८१, बिहिवार

विराटनगर । एलिट क्लब विराटनगरले संविधान संशोधनको विषयलाई बहसको रूपमा अघि सारेको छ । क्लबले बुधबार अन्तरिक्रया कार्यक्रमको आयोजना गरी संविधान संशोधनको विषयलाई सार्वजनिक बहसको रूपमा अघि सारेको हो । 

बुधबारको अन्तरक्रियामा मानव अधिकारकर्मी एवं नागरिक  समाजका अगुवाद्वय सुशील प्याकुरेल र कनकमणि दीक्षितलाई निम्त्याइएको थियो ।

मानव अधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेलले नेपाल नागरिक समाजले तरंगित पार्ने मुलुक भनेर अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिने गरेकोमा अहिले काठमाडौंको वौद्धिक समाजमा सिथिलता आएको हुँदा एलिट क्लब जस्तो बौद्धिक वर्गको संस्थाले संविधानको विषयलाई उठाएर बौद्धिक क्षेत्रलाई फेरि तरंगित पार्न लागेकोमा खुसी व्यक्त गर्दै संविधानका आधारभूत विषयमा संशोधन गर्न नसकिए पनि कार्यान्वयनको प्रक्रियामा देखिएका समस्याहरू हटाउन केही विषयमा संशोधन गर्नु पर्ने बताए ।

उनले संविधानमा स्पष्ट नभएका र कार्यान्वयनमा देखिएका समस्याहरूमा अदालतले ब्याख्या गरेर सरल पारिदिने हुँदा अदालतको व्याख्याका आधारमा पनि संविधानमा संशोधन गर्न सकिन्छ भने नागरिक समाजले पनि देखेका विषयमा बहस चलाएर संशोधनका मुद्दाहरूलाई अघि सार्नु पर्ने बताए ।

संविधान जारी हुँदाको अवस्थामा छिमेकी मुलुक भारतले असन्तुष्टी जनाएको र देश भित्र पनि ठूलो जमातले संविधान स्वीकार नगरेका कारणले अहिले नै आधारभूत विषयमा संशोधान गर्नतिर लाग्यौं भने त्यसले मुलुकलाई अस्थिरतातिर धकेल्न सक्ने हुँदा विचार पु¥याएर संविधान संशोधनको विषयलाई उठाउनु पर्ने उनको धारणा थियो । उनका अनुसार संविधान संशोधनको विषय अत्यन्तै संवेदनशील विषय हो ।

अर्का नागरिक अगुवा कनकमणि दीक्षितले हाम्रो संविधानमा संवैधानिक राजतन्त्र र हिन्दु राज्य भन्ने रहनु पथ्र्यो भन्दै ‘यो मेरो व्यक्तिगत धारणा हो । प्रक्रियागत ढंगले संविधान आएकाले यसमा प्रश्न उठाउने ठाउँ छैन’ भने । 

एलिट क्लबले संविधान संशोधनको विषयलाई उठाएकोमा त्यसको प्रशंसा गर्दै काठमाडौंले बोल्न छाडेकाले देशको अवस्थाको विषयमा प्रदेशस्तरबाट एलिट क्लब जस्ता संस्थाहरूले आवाज उठाउनु पर्ने धारणा राखे ।

देश खत्तम भयो भन्ने नकारात्मक धारणा हावी भएकोमा चिन्ता व्यक्त गर्दै युवा वर्ग विदेशिने प्रवृत्ति विश्वव्यापी रूपमा आएको उनले बताए । 

हाम्रो इतिहास, संस्कृति, भौगोलिक विविधता जस्ता विषयलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पु¥याएर देशको उन्नति गर्नु पर्ने उनको सुझाव थियो । कोशी प्रदेश प्राकृतिक एवं भौगोलिक विविधता भएको प्रदेश भएकाले यहाँको जलस्रोत र यहाँको विविधताबाट विकास गरेर अन्य प्रदेशका लागि पनि उदाहरणीय बन्न उनले सुझाव दिए । 

खुल्ला अन्तर्राष्ट्रिय सिमानालाई नियमन गरेर त्यसबाट आर्थिक लाभ लिन सकिने उनको धारणा छ । दीक्षितका अनुसार संविधान संशोधनको विषयलाई आर्थिक संशोधनसँग जोडेर उठाउनु पर्दछ ।

एलिट क्लबका महासचिव यज्ञ शर्माको अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रममा कार्यक्रमका सहभागीहरूको स्वागत गर्दै सत्तारूढ दुई ठूला राजनीतिक दलहरूले पनि संविधान संशोधनको विषयलाई महत्वका साथ उठाएकाले यस विषयमा बौद्धिक बहस गर्न आवश्यक भएको बताए ।

View : 202

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved