विराटनगर, १४ कात्तिक : विराटनगर महानगरपालिकाकै सिमानामा एक कृषि फार्म छ । जहाँ तीन सय बढी चौपाया पालिएको छ भने दैनिक १२ सय लिटर दूध उत्पादन हुन्छ । फार्म सञ्चालकले भने सरकारी अनुदान नै अस्वीकार गरेका छन् ।
मोरङको जहदा–३ स्थित सिंघिया खोलाको किनारमा रहेको टिका गौशाला कृषि तथा पशुपालन फार्मका सञ्चालक रामएकवाल साहले प्रदेश सरकारबाट प्राप्त डेढ लाख रूपैयाँ अनुदान अस्वीकार गरेका थिए । बैंकबाट ऋण लिएर ५ करोड रूपैयाँ फार्ममा लगानी गरेका साह गत वर्ष प्रदेश सरकारबाट अरूले १०, १० लाख रूपैयाँ अनुदान पाउँदा आफूले डेढ लाख रूपैयाँ मात्रै पाएको बताउँछन् ।
‘झोलामा फार्म हुनेहरूले १० लाख पाए, मलाई डेढ लाखको काम नभएकाले लिन मानिन’ उनले भने । सरकारी अनुदान लिन पहिले कमिशन छुट्याउनु पर्ने किसानलाई बाध्यता पनि छ । हुन त उनले त्यसअघि दुई पटकमा ५ लाख रूपैयाँ अनुदान भने पाएका थिए ।
२०६२ सालमा डेढ बिघा जमिन घेरेर सञ्चालन गर्न थालेको फार्ममा ६५ वटा दुहुना र १० वटा ब्याउने होलस्टेन र जर्सी गाई छन् । २० वटा हुर्कदै गरेका बाछाबाछी पनि छन् ।
स्थानीय र बोयर जातिका ८५ माउ बाख्रा र २५ पाठापाठी उनको फार्ममा छन् । उनको फार्ममा केही अघिसम्म कुखुरा पालन पनि हुने गरेको थियो । आम्दानी कम भएकाले हाल रोकिएको छ । १५ सय कुखुरा अटाउने खोर भएकाले उनी पुनः कुखुरा पाल्ने तयारीमा छन् ।
विराटनगर–८ निवासी साह गाई र बाख्राबाट वार्षिक करिव ३० लाख रूपैयाँ आम्दानी गर्छन् । उनले बिक्री गर्ने एउटा दुहुना गाईको मूल्य एक लाख ५० हजार रूपैयाँसम्म पर्छ ।
एउटै गाईले दिनमा २२ लिटरसम्म दूध दिने गरेको छ । चौपायाका लागि तीन बिघामा घाँस लगाउने साहले सात बिघामा धान खेती पनि गर्दै आएका छन् । फार्मकै मल खेतीमा प्रयोग हुने भएकाले रासायनिक मलको आवश्यकता नपर्ने उनी बताउँछन् । दैनिक काँचो गोबर उनको फार्मबाटै बिक्री हुन्छ । जीवन विकास समाजले ग्याँस उत्पादन गर्न गोबर लैजाने गरेको छ ।
उत्पादित दूध विराटनगर बजारका मिठाई पसलमा जाने गरेको छ । जर्सी गाईका बाछी महंगो मूल्यमा बिक्री हुने भए पनि बाछा बिक्री नहुने भएकाले किसानलाई सित्तैमा दिनु पर्ने बाध्यता छ । रामएकवालका दाजु राजनीतिकर्मी लक्ष्मण साहुले बास्तविक किसानले भन्दा कर्मचारी र नेता रिझाउने ब्यक्तिले कृषिमा सरकारी सुविधा पाउने अवस्था रहेको बताए ।
View : 284
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved