विराटनगर । ‘तिमीले सम्झे नि लाखै छ, तिमीले बिर्से नि लाखै छ’ देखि ‘रातो भाले क्वाँयाँ क्वाँयाँ सुत्केरीलाई ख्याएँ’ जस्ता चर्चित गीतका गायक एवम् संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ ।
गणेश रसिकले आइतबार ७८ वर्षको उमेरमा अन्तिम सास लिएका छन् । उनी प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए । माटोप्रतिको माया र देशभक्तिको भावना झल्काउने गीतहरुका सर्जक रसिक पाँच वर्षयता प्रोस्टेट क्यान्सरसँग जुधिरहेका थिए ।
नेपाली गीत, सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक ।
जीवनको उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानीयता र मधुर आवाजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन् ।
२०२४ साल श्रीपञ्चमीको दिन ‘लेकाली’ समूह जब जन्मियो, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, निर्मला श्रेष्ठ, नवीन किशोर, तीर्थ शेरचनलगायत रसिक पनि थिए । उनी ‘लेकाली’ भए । कवितालाई, नेपाली जनजीवनका कथालाई लेकालीले आफ्नो विषय बनाएको थियो ।
नेपाली साहित्य र कला क्षेत्रमा अद्वितीय योगदान गरेका उनै रसिकको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचारकै क्रममा निधन भएको हो ।
विसं २००४ सालमा भोजपुरको हाल टेम्केमैयुङ गाउँपालिका वडा नं २ छिनामखुको नौलागाउँमा जन्मिएका रसिक आफ्नो समयका ख्यातनाम लेखक हुन् । गीत, कविता मात्रै होइन, आख्यानमा पनि उनको बलियो उपस्थिति छ ।
उनका ‘क्षीतिजलाई छुन खोज्दा’ र ‘एउटा सारंगी छुन खोज्दा’ कथा संग्रह, ‘रसिकका गीतहरू’ र ‘स्वाधिनताको पीडा’ ‘आकाशगंगाको ओतमुनि’ उपन्यास, ‘जब सिस्नुहरू टेक्दै हिँडें’, ‘दशगजामा उभिएर, पेरुङ्गो’ लगायतका कृतिहरु साहित्य क्षेत्रमा उनलाई दर्बिलोसँग उभ्याउने प्रमाणहरु हुन् ।
२०४४ सालमा पत्रकार तीर्थ कोइरालालाई ‘मातृभूमि’ अखबारका लागि दिएको अन्तरवार्तामा रसिकले आफू लेखन र गीत–संगीत सबैतिर सक्रिय भए पनि लेख्नमै बढी आनन्द लाग्ने बताएका थिए ।
लेखनमा आनन्द मान्ने बताए पनि उनी नेपाली गीत संगीत क्षेत्रका ‘लिजेन्ड’ गायक र संगीतकारका रुपमा पनि खडा हुन पुगेका छन् ।
उनका गीतहरु बालबालिकादेखि पाकाहरुसम्मले गुनगुनाएका छन् । कुनै बेला विद्यालय शिक्षाका हरेकजसो कक्षागत गीत उनकै सिर्जना थिए ।‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ’ होस् अथवा ‘हामी धेरै साना छौं’ नै किन नहोस् । त्यसैगरी ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’ जस्ता गीतका कारण पनि उनी चिनिएका प्रतिभा हुन् ।
‘उहाँ जति उम्दा कलाकार हुनुहुन्थ्यो, मेरा लागि उत्तिकै प्रेरक अभिभावक पनि,’ अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिसमेत रहेका गायक शम्भु राईले भने ‘जतिबेला म र मजस्ता धेरै कलाकार नेपाली संगीत क्षेत्रमा हिँड्ने जमर्को गर्दैथियौं, हामीजस्ता संघर्षशीलहरुलाई अभिभावकीय छहारी दिने अग्रज हुनुहुन्थ्यो गणेश दाइ ।’
शम्भु राईले गाएका धेरै गीत चर्चित छन् । तीमध्येको एउटा गीत हो, ‘तिमीले सम्झे नि लाखै छ, तिमीले बिर्से नि लाखै छ ।’ यो गीतका लेखक तथा संगीतकार गणेश रसिक नै हुन् ।
‘यो र ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’ सहित धेरैवटा गीतमा गणेश दाइसँग मेरो सहकार्य भयो,’ शम्भुले सम्झिए ‘नेपाली जनजीवनको यथार्थलाई नेपाली शैलीमा लेख्ने र संगीत भर्ने पोख्त संगीतकर्मी हुनुहुन्थ्यो उहाँ ।’
रसिकका बहुसंख्यक गीतहरु नेपाली दर्शक–स्रोतामाझ उत्तिकै लोकप्रिय छन् ।
हिरण्य भोजपुरेसहितको टिममा रहेर झण्डै ५१ वर्षअघि ‘लेकाली’ समूह गठन गरेर सांस्कृतिक अभियानमा होमिएका रसिक र उनका टिमका गीतहरु देशभक्तिले ओतप्रोत र सामाजिक यथार्थको एकदमै नजिक सुनिन्छन् ।
‘रातो भाले क्वाँयाँ, क्वाँयाँ’, ‘धेरै सम्झे धेरै हुन्छ’, घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘ओ शून्यता’, ‘नखेल्नु जुवा र तास’ जस्ता केही प्रतिनिधि गीतहरु हुन्, जसले गणेश रसिकलाई नेपालको ‘लिजेन्डरी’ संगीतकर्मीका रुपमा सदा उभ्याइ रहने छन् ।
सांस्कृतिक संस्थानमा लामो समय रसिकसँगै काम गरेका गायक राई उनी एक कुशल प्रशासक पनि भएको बताउँछन् ।
रसिककै पुराना सहकर्मी श्याम प्रधान साझा प्रकाशनमा अध्यक्ष र महाप्रबन्धक एकै व्यक्ति हुने दुर्लभ रेकर्ड रसिककै नाममा भएको बताउँछन् ।
प्रधानका अनुसार रत्न रेकर्डिङ संस्थानदेखि, सांस्कृतिक संस्थान, साझा प्रकाशनसम्मको अनुभव अनि पछिल्लो समय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्यसचिवका रुपमा रसिकले सफल प्रशासकको छवि पनि बनाएका थिए ।
‘सबै सिर्जनात्मक मान्छेहरु अब्बल र सफल प्रशासक नहुन सक्छन्, किनभने व्यवस्थापकीय क्षमता फरक कुरा हो,’ संगीतकार चन्द्र भण्डारीको भनाइ छ ‘तर, रसिक दाइ कलासाहित्य र व्यवस्थापन दुवैतिर अब्बल देखिनु भयो ।’
लामो समय विभिन्न संस्थाहरुलाई नेतृत्व प्रदान गरेका अनि लेखन र संगीतकर्ममा उचाइ प्राप्त गरिसकेका उनको इलाम फिक्कलस्थित घर, चियाबारी धेरै लेखक, कलाकारलाई स्वागत गर्ने थलो थियो ।
‘उहाँको फिक्कलको घर धेरै लेखक कलाकारका लागि तीर्थ जस्तो थियो,’ लेखक एवम् पत्रकार केदार शर्माले भने ‘पछिल्लो समय भने उहाँ यहाँको सबै जग्गा घर बिक्री गरेर काठमाडौंतिर लाग्नुभएको थियो ।’
उनी फर्केर जन्मथलो भोजपुर फर्कन चाहन्थे । त्यही चाहनाले उनले इलामको घरखेत बेचेका थिए । तर, क्यान्सरले उनलाई जन्मथलोतिर जान रोकेको थियो ।
View : 162
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved