सुन्दरहरैँचा । महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला अधिकारका लागि राष्ट्रिय अभियान मोरङको चौथो साधारणसभा तथा प्रथम जिल्ला अधिवेशनले रीता दाहाललाई पुनः सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ ।
‘हिजोको मञ्च, आजको अभियान ः महिला अधिकारका लागि राष्ट्रिय अभियान’ भन्ने मूल नारासहित बेलबारीमा आयोजित अधिवेशनले दाहालको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा रञ्जु शाह, महासचिवमा सुमी खवास र सचिवमा सावित्रा शिवाकोटी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा मन्दिरा धमला, सावित्रा पोखरेल, ज्ञानु श्रेष्ठ, देवीका चिमरिया, अन्गुरा बस्नेत र उषा सुवेदी भण्डारी चयन भएका छन् ।
बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष रीता दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला अधिकारको वर्तमान अवस्था, सशक्तीकरण, सामाजिक न्याय, समानता तथा महिलामाथि हुने विभेद र हिंसाको अन्त्यका विषयमा छलफल गरिएको थियो ।
महिलाको हक, अधिकार र सम्मानका लागि लामो समयदेखि पैरवी तथा अभियान सञ्चालन गर्दै आएको संस्थाले नयाँ नेतृत्व चयनसँगै आफ्नो अभियानलाई थप संगठित, प्रभावकारी र परिणाममुखी बनाउने प्रतिवद्धता जनाएको छ ।
View : 39
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved