Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

'ऐतिहासिक निवासमाथिको आगजनी इतिहास मेटाउने दुष्प्रयास'

२ असोज २०८२, बिहिवार

विराटनगर ।  नेपाली कांग्रेसले हालै भएको जेन–जी आन्दोलनका नाममा ऐतिहासिक निवासहरूमाथि गरिएको आगजनीको कडा निन्दा गरेको छ। नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य राजु मास्केले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई इतिहास भत्काउने दुष्प्रयासको संज्ञा दिएका छन् । 

विज्ञप्तिमा, प्रजातन्त्र स्थापनादेखि २०४६ सालको जनआन्दोलनसम्मका महत्त्वपूर्ण राजनीतिक घटनाहरूको साक्षी रहेको चाक्सीबारीस्थित लौहपुरुष गणेशमान सिंहको निवासमाथि भएको आगजनी निन्दनीय रहेको बताइएको छ।

त्यसैगरी, विराटनगरको कोइराला निवास र बाँडेगाउँको किसुनजी आश्रममाथि भएको आक्रमणलाई पनि इतिहास मेट्ने प्रयासका रूपमा लिइएको छ।

इतिहास नयाँ बन्न सक्छ, तर बनेको इतिहास मेटिँदैन, मास्केले भने, चाक्सीबारी आगजनीले गणेशमान सिंहको, कोइराला निवासको आगजनीले बीपी कोइरालाको र बाँडेगाउँको आगजनीले किसुनजीको सुनौलो इतिहास मेटिनेछैन।

ती निवासहरूलाई लोकतन्त्रवादीहरूको आस्थाको केन्द्रको रूपमा वर्णन गर्दै उनले जुनसुकै प्रतिकूलतामा पनि ती संरचनाहरू सतिशाल बनेर उभिएको उल्लेख गरेका छन् ।

सर्वमान्य नेता गणेशमान सिंहको आज (असोेज २ गते) २८औँ स्मृति दिवसको सन्दर्भमा जारी गरिएको विज्ञप्तिमा उहाँको त्याग र साहसको पनि स्मरण गरिएको छ। हाल चाक्सीबारी निवासमा प्रकाशमान सिंह र कोइराला निवास (विराटनगर)मा डा शेखर कोइराला बस्दै आएको जानकारी पनि विज्ञप्तिमा दिइएको छ।

View : 875

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved