Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

टिप्पणी

चिन्ता छैन केही !

बन्धु पोखरेल
९ चैत २०८२, सोमवार

विराटनगर । यो मेरो मनोगत धारणा हुन सक्ला । वस्तुगत अवस्था त्यस्तो नहोला । विश्व अर्थतन्त्र, ऊर्जा बजार र हाम्रो भान्सासम्मलाई प्रभावित पार्ने इरान–इजरायल युद्धप्रति नेपाली समाज खासै चिन्तित भएको म देखिरहेको छैन ।

नीति निर्माण तहमा वा अर्थतन्त्र बुझ्ने वर्गमा केही चिन्ता भइरहेको होला । तर, आम जनजीवनमा यसको प्रत्यक्ष बहस, चासो वा बेचैनी अपेक्षाकृत म कम देखिरहको छु । हुन सक्छ यो मेरो भ्रम हो । वा फराकिलो समाजसँग अन्तरघुलनको कमी हो । तथापि म भने नेपाली समाजमा एउटा मौनता नै देखिरहेको छु ।

नेपाली समाजले अहिले भइरहेको मध्यपूर्व युद्धका बाछिटा र प्रभावबारे खासै चासो लिइरहेको छैन कि भन्ने मलाई लागिरहेको छ । के नेपाली समाज वास्तवमै चिन्तित छैन वा चिन्ता गर्ने ऊर्जा नै बाँकी छैन ?

अर्थतन्त्र र हाम्रो भान्सा महँगो हुने विषयमा अघिपछि चियाचौतारीजस्ता आधारभूत थलोमै गफिने नेपाली समाज अहिले किन हो किन शान्त छ, चुपचाप छ । आखिर किन नेपाली समाज यो युद्धका बारे निरपेक्ष छ ? किन प्रतिक्रियाविहीन छ ?

इरान–इजरायल युद्ध भौगोलिक रूपमा टाढा छ । धेरै नेपालीलाई यो युद्ध मध्यपूर्वको समस्या मात्र जस्तो लागेर त यस्तो भएको छैन ? जबकि लाखौं नेपालीहरू रोजगारीका लागि मध्यपूर्वमा पसिना बगाइरहेका छन् । जीवन दाउमा लगाइरहेका छन् । तिनै देशबाट पठाएको रेमिट्यान्सले नेपाली अर्थतन्त्र चलिरहेको छ । 

युद्धकै कारण इन्धनको मूल्यवृद्धि भई उत्पादित वस्तुको आपूर्ति प्रणालीमा असर पार्न थालिसकेको छ । हामीले उपभोग गर्ने वस्तुहरू महँगो हुन थालिसकेको छ । 

विश्व अर्थतन्त्र, ऊर्जा आपूर्ति, खाद्य सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रलाई प्रत्यक्ष असर पार्ने यो द्वन्द्वप्रति नेपाली समाज खासै चिन्तित नदेखिनु भनेको कतै हाम्रो संकट सामना गर्ने क्षमताको कारणले त होइन ? हुन पनि नेपाली समाजको एउटा पुस्ताले कुन चाहिँ दुःख बेसाउन बाँकी होला र ? 

२०४७ सालको राजनीतिक परिवर्तनदेखि आजको समयसम्मलाई एउटा कालखण्ड मान्ने हो भने यहीबीचमा एउटा पुस्ताले धेरै प्रकारका दुःखहरू भोगेको छ । दुई लिटर मट्टीतेलका लागि लाइन लाग्नेदेखि १८-२० घण्टाको लोडसेडिङ भोगेको पुस्ता दुःखमाथि दुःख थपिनु सामन्य ठानिरहेको छ । वा, आफूलाई अभिसप्त ठानेर आफ्नो बलबुता र क्षमताभन्दा बाहिरको विषयमा प्रवेश नै गर्न चाहिरहेको छैन । कि हरेक संकटलाई जीवनको एउटा भाग वा खप्परको दोष भन्दै कठिन परिस्थितिमा पनि आफूलाई अनुकूल बनाउने क्षमता विकास गरिहेको छ । 

हुन त हामी मध्यपूर्वमा भएको युद्धमा के पो नै गर्न सक्छौं र ? आफ्नै देशको सिंहदरबार जलिरहँदा दमकल पठाउन नसकेको नेपालीले मध्यपूर्वका तेलखानीमा लागेको लागेको आगो टुलुटुलु हेर्नु वा सुन्नुको सिवाय के पो गर्न सक्छ र ?
हामी आफ्नै देशको भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपद्लाई सामन्य घटना ठान्छौं । प्राकृतिक प्रकोपबाट हुने धनजनको क्षतिमा सरकारको दोष होइन बरु हामी आफ्नै भाग्यको खोट देख्छौं भने बाहिरी देशका युद्धलाई पनि उनीहरूकै कर्मको खेल भनेर किन पन्छिन सक्दैनौ र ? 

नेपाली समाजले पछिल्ला केही दशकहरूमा लगातार संकटहरू झेलेको छ । २०४७ सालमा प्रजातन्त्रको पुनर्वहालीलगत्तैका वर्षहरूबाट सुरु भएको १० वर्षे जनयुद्धदेखि २०८२ भदौको जेनजी आन्दोलन र यहीबीच सरकार बन्ने, भत्किने जस्ता राजनीतिका अस्थिर खेलहरू नेपाली समाजले भोगिसकेको छ,  देखिसकेको छ ।

२०७२ सालको महाभूकम्प, संविधान सभा, संविधान निर्माणको सकसपूर्ण यात्रा, नाकाबन्दी, कहालीलाग्दो लोडसेडिङ, कोभिड महामारी, जेनजी आन्दोलन, सरकारी तथा निजी सम्पत्ति जलेर खरानी भएको नेपाली समाजको एउटा पुस्ताले एकपछि अर्को व्यहोर्दै आएको दुःख हो । अब दुःखै दुःखको श्रृङ्खलामा एउटा दुःख थपिने हो, त्यो भनेको मध्यपूर्व युद्ध र त्यसले पार्ने परोक्ष प्रभाव । 

यसरी दुःख नै दुःखको अनुभवले नेपाली समाजमा संकटसँग जुध्ने क्षमता बढाएको हो कि जस्तो पनि लाग्छ । महाभूकम्पले लाखौंलाई प्रभावित गर्यो, महामारीले रोजगारी र स्वास्थ्य प्रणालीलाई हल्लायो । राजनीतिक अस्थिरता त लगभग नियमित जस्तै भयो । यसरी कहर नै कहरको जिन्दगीमा के नेपालीमा जस्तोसुकै अवस्था र परिस्थितिमा पनि बाँच्न सकिने आत्मविश्वास बढाएको हो त ? कि जुनसुकै संकट आए पनि चिन्ता गर्नै छाड्ने एक प्रकारको थकान  हो ? 

एक पटक कुनै कक्षाका एक शिक्षकले विद्यार्थीहरूलाई ‘यो कक्षामा को को अल्छी छौ ?’ भनेर हात उठाउन लगाए छन् । सबै जनाले हात उठाए छन्, तर एक जनाले हात उठाएन छ । कारण के दिएछ भने उसलाई हात उठाउन पनि अल्छी लागेछ । कतै नेपाली समाज पनि चिन्ता गर्ने वा कुनै प्रतिक्रिया नै नदिने तहको आलसी त भएको होइन ? 

सायद मध्यपूर्वमा भइरहेको युद्ध हामीबाट टाढा छ भन्ने अनुभूति नेपाली समाजलाई परेको छ । युद्ध त्यहाँ भइरहेको छ, हामी यहाँ छौं । नेपाली समाजले युद्धको समाचार सुनेको छ, तर प्रत्यक्ष देखेको, भोगेको छैन ।

आजको वैश्वीकरणको युगमा कुनै पनि क्षेत्रीय द्वन्द्व केवल त्यही क्षेत्रभित्र सीमित रहँदैन । तेल आपूर्ति, व्यापार मार्ग, रेमिट्यान्स प्रवाह, पर्यटन यी सबै विश्वव्यापी रूपमा जालोझैं जोडिएका छन् । मध्यपूर्वमा अस्थिरता बढ्दा यसको प्रभाव नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा प्रत्यक्ष रूपमा पर्छ । 

भलै युद्धको प्रभाव हाम्रो घरभित्र तुरुन्तै विस्फोट भएको छैन । तर क्रमशः, मूल्यवृद्धि, आपूर्ति अभाव र रोजगारी असुरक्षाको रूपमा देखापर्ने निश्चितप्रायः छ । 

लाखौं नेपालीहरू मध्यपूर्वका देशहरूमा काम गरिरहेका छन् । उनीहरूले पठाएको पैसाले यहाँको अर्थतन्त्र चलिरहेको छ । विडम्बना ती कामदारहरूको जीवन, जोखिम र संघर्ष यहाँका परिवारका लागि दैनिक चिन्ताको विषय कम र आर्थिक सहाराको रूपमा बढी देखिन्छ । 

युद्धले ती कामदारहरूको सुरक्षा, रोजगारी र भविष्यलाई खतरा पु¥याउन सक्छ भन्ने कुरा सैद्धान्तिक रूपमा बुझिए पनि भावनात्मक रूपमा नेपाली समाजमा त्यो चिन्ता सक्रिय भएको छैन । वा चिन्ता गरेर नै के पो हुन्छ भन्ने मनमा परेको छ ।

हुन त नेपाली समाज लामो समयदेखि आफ्नै समस्याहरूमा अल्झिएको छ । राजनीतिक अस्थिरता, सरकार परिवर्तन, भ्रष्टाचार, बेरोजगारी, महँगी आदिको ओलझोलले नेपाली समाज आफैमा आन्तरिक रूपमा अस्तव्यस्त छ । 

जब दैनिक जीवनमै धेरै चुनौती र झन्झट हुन्छन् भने सायद बाहिरी संकटहरू प्राथमिकतामा नपर्न सक्छ । आफ्नै समस्याबाट माथि उठ्न नसकेको समाजले विश्व राजनीतिका जटिलतामा के कसरी ध्यान दियोस् ? 

सम्भवतः नेपाली समाजले यो वा त्यो कारणले निरन्तरको कठिनाइ भोग्न अभ्यस्त भइसकेकाले मानिसहरूमा एक प्रकारको सहनशीलता विकास भएको छ । जस्तोसुकै अवस्था आए पनि बाँच्न सकिन्छ भन्ने आत्मविश्वास बनाएको छ । 

एउटा भनाइ के छ भने जब हरेक संकट सामान्य लाग्न थाल्छ भने नयाँ संकटले खासै प्रभाव पार्दैन । यस्तै त हो भन्ने लाग्छ । आउँछ, जान्छ, टर्छ भन्ने लाग्छ रे । युद्ध मध्यपूर्वमा भइरहेको छ । संसारकै महाशक्ति राष्ट्र अमेरिका आफै युद्धमा अग्रसर छ । यस्तो अवस्थामा निरुपाय नेपाली रमिते हुनबाहेक के नै पो हुन सक्छ र ? बरु नेपाली समाज आफ्नै दुःखको भारीले अनुभवी छ । दुःख सहने बानी परेको छ । सायद त्यसैले मध्यपूर्वमा भएको युद्धप्रति नेपाली समाजको चासो छ, तर चिन्ता छैन ।

View : 178

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved