उद्योगमा लोडसेडिङ थपिएको थपियै
विराटनगर । नेपाल विद्युत प्रधिकरणले उद्योगमा थप समय विद्युत कटौति गर्ने गरेको निर्णयले पूर्वका उद्योगी व्यवसायीले त्रास थपिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्राधिकरणले अचानक विद्युत कटौतिको कुरा ल्याएर औद्योगिक क्षेत्रमा १० घण्टासम्म लोडसेडिङ सुरु गरेको उनीहरुले आरोप लगाएका छन् ।
जसका कारण उद्योगहरूको उत्पादन तालिकामै प्रत्यक्ष असर परेकोले उत्पादन क्षमता ३० प्रतिशतमा खुम्चिएको जनाइएको छ । लोडसेडिङका कारण उद्योगले ठुलो नोक्सानी व्यहार्नुपर्ने अवस्था आएको एवं उत्पादन घट्दा निर्माण सामग्रीको अभाव बढ्ने संकेत देखिएको उद्योगीहरूले बताएका छन् ।
यसअघि अघोषित रुपमा लोडसेडिङ गर्दै आएको प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई कारण देखाएर उद्योगमा पिक आवरमा थप समय विद्युत कटौती गर्ने तयारी गरेको छ । जसका कारण उद्योगीहरू चिन्तित बनेका हुन् ।
हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा नदी प्रवाही (आरओआर) मा आधारित जलविद्युत आयोजनाहरूको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने गरेको छ । तर पिक समयमा भारतबाट ल्याएर भएपनि समस्या समाधान गर्ने प्रयासमा भने प्राधिकरण असफल बनेको उद्योगीहरूको भनाइ छ । प्राधिकरणले हरेक पटक एउटा बहाना देखाएर उद्योगमा अघोषित लोडसेडिङ गर्दै आएको मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए ।
‘लोडसेडिङ थपिएको थपियै छ, कहिले के बहाना हुन्छ कहिले के, बहाना बनाएर अघोषित रुपमा लोडसेडिङ चलिरहेको छ, एक महिनादेखि त दैनिक १० घण्टासम्म विद्युत कटौति भइसकेको छ’ राठीले भने, ‘सवैभन्दा ठुलो मार स्टील र प्लाष्टिक उद्योगलाई परेको छ, यी उद्योगलाई नियमित पावर चाहिन्छ, एक पटक तताएको मेसिन बन्द भयो भने त्यसलाई फेरी तताउन दुई घण्टा लाग्छ ।’
उनले प्राधिकरणले गरिरहेको अघोषित लोडसेडिङका कारण मोरङ–सुनसरीको औद्योगिक करिडोरका उद्योगहरूको उत्पादन क्षमता घटेर ३० प्रतिशतमा खुम्चिएको बताए । प्राधिकरणले ‘भारतले विद्युत दिएको छैन, हामीसँग छैन’ भनेर पन्छिइरहेको र उद्योगहरूले पनि जेनेरेटर चलाएर उद्योग चलाउने अवस्था नभएको बताए । उद्योगहरूको उत्पादन घट्दै जाने भएकोले निर्माण क्षेत्रमा सामग्री अभाव बढ्ने अध्यक्ष राठीको भनाइ छ ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले प्राधिकरणले समयमै विद्युत कटौतिको जानकारी गराउन नसकेको र विद्युतको जोहो पनि गर्न नसकेको भन्दै औद्योगिक क्षेत्रमा लापरवाहीपूर्ण व्यवहार गरेको आरोप लगाए । उनले सुख्खा याम आउँछ भन्ने थाहा हुँदैहुँदै पनि प्राधिकरणले थप विद्युतको व्यवस्था गर्न नसकेको गुनासो गरे ।
‘मुख्य कुरा प्राधिकरणले बेलामै विद्युतको जोहो गर्न सकेन, दोस्रो कुरा सुख्खा याम आउँछ भन्ने पहिले नै थाहा थियो, अहिले विद्युत कटौतिको हल्ला भइरहेको छ, यसलाई उद्योगलाई थप त्रासमा पारेको छ’ सुरानाले भने, ‘त्यसैपनि अहिले कुनै पनि उत्पादन माल बिक्दैन, लोडसेडिङ थपिने हो भने त हाम्रो पनि उत्पादनको सेड्युल नै बिग्रिन्छ, कति सामान उत्पादन गर्ने भन्ने नै हुँदैन, कच्चा पदार्थ पनि नोक्सान हुने अवस्था आउँछ ।’
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ घटाउनका लागि भारतबाट विद्युत आयात गर्ने प्रक्रियामा उदासिन बन्दै आएको उद्योगीहरूको आरोप लगाएका छन् ।
प्राधिकरणले लोडसेडिङलाई ढाकछोप गर्नकै लागि डेडिकेटेड र टं«क लाइनको महसुल विवादलाई देखाएर उद्योगको लाइन काटेको एक उद्योगीले आरोप लगाएका छन् ।
कार्यकारी निर्देशक घिसिङले पछिल्लो पटक माथिल्लो तामाकोशीलाई नै कारण देखाएर हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापन गर्न नसकिएको र भारतबाट विद्युत ल्याउन पनि समस्या भइरहेको बताइसकेका छन् । उता मुलुककै सवैभन्दा ठुलो क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भने गत असोज ११ र १२ गतेको भिषण बाढीका कारण क्षतिग्रस्त बनेपछि अहिले मर्मत कार्य चलिरहेको जनाइएको छ ।
उक्त आयोजनाले यहि पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने प्रारम्भिक तालिका राखेको छ । तर त्यस अवधिमा पनि विद्युत उत्पादन गर्न नसक्ने अवस्था बनेको खण्डमा औधोगिक क्षेत्रमा थप समय विद्युत कटौति हुने अनुमान गरिंदै आएको छ ।
लोडसेडिङको समस्या चर्किएपछि समस्या समाधानका लागि प्राधिकरणसँग पहल गरिरहेको नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले बताए । उनले मंगलबार पनि प्राधिकरणमा पुगेर समस्या राख्न खोजेपनि कार्यकारी निर्देशक घिसिङसँग भेट हुन नसकेको जानकारी दिए ।
‘उद्योगमा लोडसेडिङलाई गरिदिनु भएन भन्दै आएका छौं, प्राधिकरणले पनि भारतबाट मागेजति विद्युत आएको भनिरहेको छ’ उनले भने, ‘विद्युत बिना उद्योग चल्दैन, अब उद्योगले नै उत्पादन घटाउनुपर्ने अवस्था आइसकेको छ, उत्पादन घट्दा लागत पनि बढ्छ, सरकारले उद्योग क्षेत्रलाई लोडसेडिङ मुक्त बनाउनका लागि नयाँ तरिकाले सोचोस् भन्ने हाम्रो भनाइ छ ।
View : 39
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved