फागुन २१ को निर्वाचन
यतिखेर देशमा अन्योल र असहज परिस्थिति सिर्जना भइसकेको छ । भदौमा भएको जेएनजी विद्रोह र तत्पश्चात गठन भएको काम चलाऊ सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गरेर बिदा हुन आतुर छ । अन्योल र असहज परिस्थितिमा देश अगाडि बढ्न सक्दैन । लोकतन्त्रमा दलहरूले नै शासन गर्ने हो । लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रलाई संस्थागत गर्न अझै दलहरूले मेहनत गर्नुपर्ने हुन्छ ।
इमान्दारिता लगनशीलता पारदर्शिता जवाफदेहिता लोकतन्त्रका मूल मन्त्र हुन् तर नेपाली लोकतन्त्रमा यी माथिका सबैलाई तिलाञ्जली दिंदै दलहरूले आफ्नो स्वार्थ अनुसार लोकतन्त्रको परिभाषा गरिरहेका छन् । विश्वको सर्वोत्तम शासन शैली भनेको लोकतन्त्र नै हो । लोकतान्त्रिक मूल्य मान्यता आचारसंहिता कानुनी राज्यको अनुभूत आम जनतालाई दलहरूले दिनुपर्ने हुन्छ ।
निर्वाचन आयोग यतिखेर फागुन २१ गतेको आम निर्वाचनका लागि रात दिन खटिरहेको छ । जिल्ला जिल्लामा नयाँ मतदाता नामावली संकलन कार्य तीव्र रूपमा अगाडि बढेको अवस्था देखिन्छ । सबै जिल्लाहरूमा १८ वर्ष पूरा भएका नागरिकहरूको जिल्ला निर्वाचन कार्यालयमा भिडभाड देखिन्छ । अत्यधिक भिडका कारण शनिबारसमेत निर्वाचन आयोगले नयाँ मतदाता फोटोसहित परिचयपत्र संकलन गरेको छ । बिस्तारै निर्वाचनको माहोल बन्दैछ । निर्वाचनको विकल्प अन्य हुन सक्दैन ।
दलहरू फागुन २१ को निर्वाचनको लागि नयाँ दल दर्ता गरिरहेका छन् । बहुदलीय व्यवस्थामा निर्वाचन अगाडि दल दर्ता अनिवार्य हुन्छ नै । दलहरूको आन्तरिक कलहका कारण नयाँ दलहरू स्थापना हुने र निर्वाचनमा होमिने नियतले बिस्तारै निर्वाचनको माहोल बन्दै गएको छ । यसैबीच नेपालको सबैभन्दा जेठो दल नेपाली कांग्रेस भित्रको आन्तरिक कलह भने यथावत छ ।
नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन गर्नुपर्ने बाध्यता छ । तर संस्थापन पक्ष कोइराला पक्ष नामले प्रख्यात परिचित समूहहरू निर्वाचन अगाडि वा निर्वाचन पछाडि महाधिवेशन गर्ने आफ्नो तर्क अगाडि सारेका छन् । नेपाली कांग्रेसमा यतिका धेरै विवाद तथा बेमेल हुनु दुखद हो ।
नेपाली कांग्रेसले अहिलेसम्म निर्वाचनको विषयलाई गौण राखेर आफ्नो आफ्नो आन्तरिक समस्यालाई समाधान गर्न कोसिस गरेता पनि सफल हुन सकेको छैन । संसद विघटन र नयाँ प्रधानमन्त्री नियुक्ति विषयमा नेपाली कांग्रेसबीच फरक–फरक मत देखिन्छ ।
केही नेताहरू फागुन २१ को निर्वाचनको पक्षमा देखिन्छन् भने केही नेताहरू संसद पुनस्र्थापन हो पक्षमा देखिन्छन् । संसद पुनस्र्थापित हुनुपर्ने भन्दै डेढ दर्जन जति मुद्दा सर्वोच्च अदालतमा दर्ता भइसकेको छ । अदालती प्रक्रिया अगाडि बढ्ला तर फागुन २१ आउन अब धेरै दिन छैन ।
नेकपा एमाले पनि संसद पुनस्र्थापनको विषयलाई लिएर देशव्यापी रूपमा सडक आन्दोलनमा छ । हुन त अदालतमा पुगेको विषय सडकमा ल्याउनु उपयुक्त हुँदैन । अदालतले निर्णय गर्ने विषयलाई सडकमा ल्याएर विवादमा तानिनु हुँदैन । ३ करोड नेपालीको विश्वासिलो भरपर्दो सम्माननीय सर्वोच्च अदालतको निर्णय सबै जनताले स्वीकार गर्नुपर्दछ ।
अदालतको निर्णयलाई पर्खिनै पर्ने हुन्छ, हतार हतारमा सडकमा गएर संसद पुनस्र्थापनाको विषयलाई जोडदार उठाउनु बुद्धिमानी होइन । वास्तवमा सडक आन्दोलनको प्रभाव सर्वोच्च अदालतमा पर्नु हुँदैन । एमालेले बुझ्नै पर्ने विषय आजको यो परिस्थिति सिर्जना हुनुमा दोषी को हो ? हामी आजको परिस्थितिलाई दोष दिंदै भारत, अमेरिका, चीन तथा पश्चिमी मुलुकहरूलाई औंला ठड्याउँछु । फेरि एनजीओ आइएनजीओको हात भनेर उतापट्टि पनि कुदृष्टि राख्ने गर्दछौं । हामीले छातीमा हात राखेर भन्नुपर्दा आजको परिस्थिति सिर्जना गर्ने को हो त ?
जेनजी भाइबहिनीहरूले मुख्यत दुईटा विषय उठाएर भदौ २३ र २४ गते आन्दोलन गरेका थिए । एउटा विषय थियो । एउटा विषय भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने हो भने दोस्रो विषय सामाजिक सञ्जाल बन्द गरिनु हुँदैन थियो । यिनै दुइटा विषयलाई मुख्य मुद्दा बनाएर अहिलेका होनहार जेनजी समूह जुन समूह प्रविधिमा निकै अब्बल र जानकार छ । जेनजीका यी सामान्य मागहरू तत्कालीन सरकारले वार्ताद्वारा पूरा गर्न सकिने खालका थिए । तर तत्कालीन सरकार प्रमुखले नै जेनजी समूहलाई हाहा हीहीको संज्ञा दिएका कारण नसोचेको विध्वंश हुन पुग्यो ।
मुलुकले ७५ जना होनाहार दक्ष जनशक्ति गुमायो भने अर्बौंको भौतिक संरचना ध्वस्त भए । शासकहरूले जान्नैपर्ने कुरा के हो भने अहंकार र घमण्डलाई कहिल्यै देखाउनु हुँदैन । मै हुँ राज्य, मै हुँ सबै थोक भनेर घमण्ड नगरौं । समय परिस्थिति बदलिएको छ । म कतै भाग्दिन भन्दाभन्दै पनि हेलिकप्टर चढेर भाग्नुपरेको अवस्थादेखि अबका शासकहरू नयाँ पुस्तादेखि डराउनुपर्ने हुन्छ ।
२०–३० वर्ष अगाडिका नयाँ पुस्ता र हिजोआजका नयाँ पुस्ताबीच आकाश पातालको फरक छ । आजको युग शिक्षा, प्रविधि, विकास, चेतना, सुशासनको युग भएकाले शासकहरू अबका दिनहरूमा उही पुरानै शैलीमा शासन गर्न नआए हुन्छ । अबका दिनहरूमा पनि ढाटढुट छलकपट राजनीति चल्दैन ।
समानान्तर रूपमा भर्खरै १० राजनीतिक दलद्वारा बनेको नयाँ विचारधाराको कम्युनिष्ट दल गठनसँगै समाहित दलहरुमा आन्तरिक विवादले आगामी दिनमा भाग्य र भविष्य कता जाने हो फागुन २१ गतेले बताउने छ । पुष्पकमल दाहाल संयोजक रहेको कम्युनिस्टहरूको समूह नयाँ दल दर्ता पश्चात उनीहरूको विचार सिद्धान्त र व्यवहार कस्तो देखिन्छ जनताले सोही अनुसार जनमत दिन्छन् वा दिंदैनन् । फागुन २१ गतेले स्पष्ट पारिदिन्छ । प्राय सबैजसो नेपाली राजनीति दलहरू आन्तरिक विवादमा यतिखेर छन् ।
अबका दिनहरूमा दलहरूले बुझ्नैपर्ने कुरा के हो भने फागुन २१ को महापर्वलाई सफल बनाउन निर्वाचनको माहोल तयार गर्नुपर्ने देखिन्छ । कथम् कदापि फागुन २१ मा निर्वाचन सम्पन्न हुन सकेन भने देश झन् ठूलो दुर्घटनामा पर्ने निश्चित छ । विभिन्न दलमा आबद्ध बुद्धिजीवी, विज्ञ, प्राज्ञ, लेखक, वकिल, पत्रकार सबैले दल र दलका नेताहरूलाई असल सल्लाह दिनुपर्ने हुन्छ । सल्लाहकार खराब भएकै कारण जेनजी आन्दोलन देखियो र सरकार दुई दिनमै ढल्यो ।
अबको निकास भनेको सबैजना हातेमालो गरेर फागुन २१ को महान चाडलाई सफल बनाउनुको विकल्प छैन । नयाँ र ताजा जनादेशले हाम्रो देशको हाम्रो भाग्य र भविष्य कोर्नेछ ।
नेपाली कांग्रेस र नेकपा एमालेको सरकार गठनका बेला सहमति भएको थियो । संविधान संशोधन गर्ने र आलोपालो प्रधानमन्त्री पद सम्हाल्ने । १५ महिनासम्म संविधान संशोधनको ‘स’ पनि उच्चारण नेपाली कांग्रेस र एमालेले गरेनन् । केवल पदका लागि जनतालाई मुद्दा फ्याँकिदिए संविधान संशोधन गर्ने तर संविधान संशोधनको विषयलाई उनीहरूले प्राथमिकतामा राखेर र पद र सत्ताका लागि मरिहत्ते गरे ।
यतिखेर आएर संविधान संशोधनको विषय मुख्यत एमालेले उठाइरहेको छ । जुन विषय १५ महिना अगाडि उठेको थियो १५ महिनासम्म चुपचाप रहने र अहिले आएर संविधान संशोधनको विषयलाई फेरि जनतालाई खपतका लागि फ्यालिदिने नीति ठीक होइन ।
हुन त ठेस नलागी ऐय्या भनिंदैन त्यस्तै राजनीतिमा पनि ठक्कर नखाइ दलहरू नसचिने लक्षणहरू देखाइसकेका थिए । अबका दिनहरूमा दल र तिनका नेताहरू सचिनुपर्ने र फागुन २१ गतेको निर्वाचनलाई राष्ट्रकै महान पर्व सम्झेर अगाडि बढौं, सबैको कल्याण हुनेछ ।
View : 325
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved