भदौरे हत्या घटना :
विराटनगर । ८० वर्षीय चन्द्रविक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको मंगलबार राती सुतिरहेकै ठाउँमा हत्या भएपछि ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरे गाउँ अहिले शोकमा डुबेको छ ।
गाउँकै भलो र सेवा सहयोगमा जुट्दै आएका चन्द्रविक्रम र चन्द्रमायाको हत्याले गाउँ स्तब्ध बनेको छ ।
चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाका अनुसार चन्द्रविक्रम स्थानीय आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । उनले विद्यालयलाई स्थापित गर्न चन्द्रविक्रमले ठुलो सहयोग गरेको बताए ।
‘वहाँ एकदमै सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो, उमेर पाको भएपनि समाजमा सक्रिय हुनुहुन्थ्यो’ अध्यक्ष बास्तोलाले भने, ‘स्थानीय विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयलाई बलियो बनाउन वहाँले ठुलो सहयोग गर्नु भएको थियो, तर वहाँकै हत्याको घटनाले पालिका नै शोकमा डुबेको छ ।’
अध्यक्ष बास्तोलाका अनुसार अहिले पहाडी जिल्लाका गाउँघरमा युवाहरू कामको सिलसिलामा बाहिर हुने र गाउँमा बढीमात्रामा बुढापाका मान्छे नै बस्ने गरेको अवस्थामा उनीहरूको श्रृंखलावद्ध हत्याका घटनाले पहाडी क्षेत्रमा ठुलो सुरक्षा चुनौती देखाएको बताए । घटनापछि गाउँघरमा सन्त्रास पैदा भएको उनले बताए ।
‘राज्यले गहिरो अनुसन्धान गरेर दोषी नउम्किने गरी अघि बढ्नुपर्छ, समुदायले अनुसन्धानलाई सहयोग गर्छ, समाजमा यस्ता अपराधी बस्ने अवस्था नहोस्’ अध्यक्ष बास्तोलाले भने, ‘अहिले कतिपय घरमा त दुईजना मात्रै बस्ने अवस्था छ, बुढापाका मात्रै पनि छन्, यस्तो घटनाले ठुलो सुरक्षा चुनौती थपिएको छ, जो सुकै अपराधी भए पनि कानुनी दायरामा छिटो आउने छ ।’
चन्द्रविक्रमले स्थानीय तेजमाया राई आधारभूत विद्यालयको स्थापनाका लागि ठुलो सहयोग गरेका थिए । विद्यालय स्थापना भएपछि त्यहाँ पाँच जना शिक्षकलाई निजी श्रोतमा राख्नका लागि मासिक रुपमा ५० हजार रुपैयाँ बढी रकम सहयोग गरेका थिए । उनले झण्डै पाँच बर्ष यसरी सहयोग गरेको सोही विद्यालयका प्रधानाध्यापक फडिन्द्र श्रेष्ठले बताए ।
‘वहाँकै कारण यहाँ विद्यालय टिकेको थियो, मसहित पाँच जना शिक्षक राखेर हामीलाई मासिक १० हजार रुपैयाँ तलब वहाँले लगातार आठ बर्षसम्म खुुवाउनु भयो’ प्रअ श्रेष्ठले भने, ‘२०६६ सालदेखि वहाँ हाम्रो विद्यालयको संस्थापकका रुपमा रहेर सहयोग गर्दै आउनु भएको थियो, अहिले म चैं २०७६ सालदेखि करारमा नियुक्त भएपछि सरकारकै तलव खान थालें, वहाँ समाजकै सहयोगीका रुपमा हुनुहुन्थ्यो तर यो घटनाले भदौरे गाउँ नै स्तब्ध भएको छ ।’
चन्द्रविक्रम बृद्ध अवस्थाका भएपनि गाउँघरका हरेक सामाजिक काममा सहयोगी थिए । दम्पती नै गाउँका लागि असल थिए । चन्द्रविक्रमका छोराछोरीसहित दाजूभाई भने बेलायतमा छन् । चन्द्रविक्रम र चन्द्रमाया भने गाउँमै बस्दै आएका थिए ।
चन्द्रविक्रम कवि, गीतकार र अनुसन्धानात्मक लेखनमा समेत सक्रिय थिए । उनले साहित्य, संस्कृति संरक्षण र ग्रामीण प्रविधि विकासमा समेत योगदान गर्दै आएका थिए । उनले ‘सर्वोच्च शिखर समिश्रण जगत संगम’ (कविता र गीतसंग्रह २०६७), जडिबुट्टी औषध उपचार विधि–प्रविधि, प्रभुको आत्मावचन (धर्म–दर्शन २०६१) सबल राष्ट्र निर्माणको परिकल्पना (२०७१), सिलाई मेसिन मर्मतसम्भार तथा कटाई सिलाई विधि प्रविधि (पूरक खण्ड–दुई, २०७१) जस्ता किताव कृति पनि प्रकाशन गरेका थिए ।
प्रहरीले लामो अनुसन्धानपछि गत पुस १५ गतेको दम्पती हत्याको घटनाका संलग्न चारजनालाई पक्राउ गरेपछि भदौरे गाउँका स्थानीयले शान्ति सुरक्षाको अनुभूति पाएका थिए । तर त्यो घटना सेलाउन नपाउ“दै मंगलबार विहान चन्द्रविक्रम राई र पत्नी चन्द्रमायाको हत्या भएको हो ।
अघिल्लो पटकको घटना प्रकृतिकै झल्को आउने गरी घरमा लुटपाट गरेपछि राई दम्पतीको हत्या भएको पाइएको चिसंखुगढी–६ का वडाध्यक्ष बलराम कटवालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले आफै घटनास्थलमा रहेर अनुसन्धान अघि बढाएको बताए ।
हत्या भएका चन्द्रविक्रमको शव घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा र उनकी श्रीमती चन्द्रमायाको शव उनीहरू सुत्ने खाट नजिकै भुइँमा सिरक ओढेकै अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मंगलबार विहान ७ः४० बजेतिर मात्रै उनीहरूको हत्या भएको जानकारी प्रहरी चौकी निशंखेले पाएपछि त्यहाँबाट प्रहरी घटनास्थल पुगेको थियो । घटनाको अनुसन्धानका लागि विराटनगर र धरानस्थित कुकुरसहितको प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको जनाइएको छ ।
पुस १५ मा भदौरेस्थित शोभितमान किराना पसलका सञ्चालक ६० वर्षीय सोवितमान मगर र उनकी श्रीमती ६० वर्षीया रत्नमाया मगरको लुटपाटपछि हत्या भएको थियो । सोही समुहले गत असोज २६ गते ओखलढुंगाकै सिद्धिचरण नगरपालिका–४ चार्खुमा एकल रुपमा बस्दै आएकी ५२ वर्षीया रत्नकुमारी कट्वालको समेत लुटपाटपछि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।
उक्त घटनामा ओखलढुंगा प्रहरीको नेतृत्वमा कोशी प्रदेश प्रहरी कार्यालय र सिआईबीको समेत अनुसन्धान टोली खटिएर संलग्न चार जनालाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइसकेको छ ।
तर, अघिल्लो हत्याको घटनाको त्रास हट्न नपाउ“दै सोही गाउँमा अर्को घटना भएको हो ।
View : 321
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved