Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

३५ वर्षे सुहाङलाई २७ वडामा पहिलो मत

२७ हजार ७७२ मत पाएर इलाम-२ बाट अनुमोदित
बाबुराम भण्डारी
१८ वैशाख २०८१, मङ्गलवार

Advertisement

विराटनगर । इलाम–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ५ हजार ८३० मतान्तरले विजयी भए । मंगलबार बिहान करिव पाँच बजेतिर सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार सुहाङले आफ्नै बाबु सुवासचन्द्र नेम्वाङलाई झण्डै हराएका नेपाली कांग्रेसका डम्बर बहादुर खड्कालाई भारी मतान्तरले पराजित गरे ।
सुहाङले लोकप्रिय २७ हजार ७७२ मत प्राप्त गर्दा डम्बरले २१ हजार ९४२ मत पाए ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ५ हजार ०५० मत प्राप्त गरेको निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाममा उल्लेख छ ।

मत परिणामको विश्लेषण गर्दा कुल सदर मत ६८ हजार ४७२ मध्ये ४० प्रतिशत भोट सुहाङलाई खसेको छ । ३२ प्रतिशत भोट कांग्रेसका डम्बरले प्राप्त गरेका छन् ।

२०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा डम्बर र सुवास बीचको मतान्तर ११४ मात्रै थियो । 

त्यतिबेला सुवासले ३० हजार २० मत पाउँदा डम्बरले २९ हजार ९०६ मत ल्याएका थिए । २०५६ यता अपराजित रहेका आफ्ना बाबुको निधनपछि एमालेबाटै उम्मेदवार बनेका सुहाङले इलाम–२ मा आफ्नो राजनीतिक जीवनको पहिलो कदम सफलतापूर्वक टेकेका छन् । राजनीतिको यात्रालाई एकैपटकमा जनताबाट अनुमोदन गरेका छन् ।

सुहाङ स्व. सुवासचन्द्र नेम्बाङ र आमा विशाल नेम्वाङका कान्छा छोरा हुन् । २०४६ फागुन ६ मा काठमाडौंमा जन्मिएका उनले प्रारम्भिक शिक्षा पनि काठमाडौंकै ग्यालेक्सी पब्लिक स्कुलबाट लिएर । त्यहाँ नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका थिए ।

त्यसपछि ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर अढाइ वर्षका लागि अस्ट्रेलिया गएका सुहाङ कानुन बिएएलएलबी अध्ययनका लागि पुनः नेपाल फर्किएका थिए ।

‘काठमाडौं स्कुल अफ ल’ बाट एलएलएम अध्ययन गरिसकेका सुहाङले इलाम–२ बाट राजनीतिक जीवन पनि सुरु गरेका छन् ।

४२ वटा वडा रहेको इलाम–२ को मतगणना सकिंदा उनले २७ वटा वडामा पहिलो मत प्राप्त गरेका छन् । सुहाङले आफ्नै वडा इलाम–७ सुन्तलाबारीमा भने दोस्रो मत पाए ।

उनले ७ वटा वडा रहेको फाकफोकथुम गाउँपालिकाको वडा नंं. १ बाहेक सवैमा पहिलो मत पाए । ६ वटा वडा भएको चुलाचुली गाउँपालिका वडा नं. १ र ३ बाहेक चारवटामा पहिलो मत ल्याए ।

माङ्सेबुङ गाउँपालिकामा रहेका ६ वडा मध्ये वडा नं. २, ४ र ६ मा पहिलो मत पाए । इलाम–२ निर्वाचन क्षेत्रमा पर्ने माई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मध्ये सुहाङले ७ र ८ पनि मतमा पहिलो बने ।

त्यसैगरी देउमाई नगरपालिकाको ९ मध्ये वडा नं. ६ बाहेक सबैमा उनले पहिलो मत ल्याए । जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिका भने सुहाङलाई उल्लेख मत आएन । वडा नम्बर १० बाहेकका इलाम–२ निर्वाचन क्षेत्रमा पर्ने १–९, ११ र १२ नम्बर वडामा सुहाङले चारवटामात्रै पहिलो भए । उनले वडा नं. १, २, ५ र ११ मा पहिलो मत ल्याए ।

नेपाली कांग्रेसका डम्बरले देउमाईको वडा नंं ६, फाकफोकथुमको वडा नं. १,  माङ्सेबुङको वडा नं. १ र इलाम नगरपालिकाको वडा नं. ३, ४, ६, ७, ८, ९ र १२ मा पहिलो मत प्राप्त गरेका छन् ।

त्यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रले चुलाचुलीको वडा नम्बर १ र ३, माङ्सेबुङको ३ र ६ तथा माईको वडा नं. १ मा पहिलो मत प्राप्त गरे ।

View : 345

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved