Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

अस्थिर नीति र आन्दोलनले निजी क्षेत्रमा थपिंदो संकट

उद्योग व्यवसायीले भने ‘अर्थतन्त्र नै जोखिममा छ, विश्वास बिनाको लगानी चुनौतिपूर्ण’

बाबुराम भण्डारी
१० माघ २०८२, शनिवार

विराटनगर । नीतिगत अस्थिरता र अनेकौं प्रकारका आन्दोलनले मनोबल घटेका कारण नेपाली अर्थतन्त्र नै संकटतर्फ बढ्दै गएको उद्योगी व्यवसायीहरूले बताएका छन् । जसको परिणाम मुलुकको अर्थतन्त्र जोखिममा परेको र राज्यले विश्वास दिलाउन नसकेका कारण लगानी समेत चुनौतिपूर्ण बनेको उनीहरूले बताएका हुन् । 

उद्योग संगठन मोरङको आयोजना तथा राष्ट्रिय व्यवसायिक पहलको अग्रसरतामा शुक्रबार उद्योग संगठनमा आयोजित ‘निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता’ विषयक बृहत अन्तरक्रियाका प्रमुख वक्ताहरूले आर्थिक मुद्दालाई केन्द्रमा राख्दै राज्यको नीति र निजी क्षेत्रकै भूमिकामाथि गम्भीर प्रश्न उठाए ।

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले संसारमै कतै अभ्यास नभएको तीन–खम्बे अर्थनीतिले नेपालको अर्थतन्त्रलाई कमजोर बनाएको दाबी गरे । 

सरकारी, निजी र सहकारीलाई समान हैसियतमा राखेर अघि बढाइएको नीतिकै कारण अर्थतन्त्र असन्तुलित भएको उनको भनाइ थियो । 

‘सहकारी निजी क्षेत्रकै एउटा अंग हो, तर यसलाई छुट्टै खम्बा बनाएर राज्यले प्रवद्र्धन गर्दा सहकारी क्षेत्रमा देखिएको विचलनले समग्र अर्थतन्त्रलाई नोक्सान पु¥यायो’ उनले भने, ‘निजी क्षेत्रले खुला रूपमा तीन–खम्बे अर्थनीतिको विरोध गर्ने हिम्मत गरेनन्, सहकारी त निजी क्षेत्रकै ‘बेल्ट’ हो, यसको अलग अस्तित्वलाई अस्वीकार गर्नुपर्छ र राज्यको आर्थिक नीतिमा स्थिरता खोज्नुपर्दछ ।’

उनले निजी क्षेत्र भनेको आफ्नो सोच बिचार बेचेर आफु कमाउने र राज्यलाई योगदान गर्ने क्षेत्र भएको बताए । सरकारले तिन खम्बेको नाममा निजी क्षेत्र बिभाजित हुँदा पनि कोही नबोलेको गुनासो गरे । नेपालले व्यक्तिगत नाफाको सुरक्षामात्रै निजी क्षेत्रको जिम्मेवारी नभएको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले संविधान निर्माणका बेला निजी क्षेत्रले दुई–खम्बे अर्थनीतिको वकालत गरेको स्मरण गरिन् । राज्यले सहकारी क्षेत्रलाई मात्रै अत्यधिक प्राथमिकता दिंदा ठुला लगानीको वातावरण बन्न नसकेको धारणा राखिन् ।

‘निजी क्षेत्रलाई कर उठाउने स्रोतको रूपमा मात्र होइन, आर्थिक समृद्धि र विकासको साझेदारका रूपमा स्वीकार गर्दै नीति निर्माण हुनुपर्छ’ उनले भनिन्, ‘मुलुकमा शान्ति कायम गर्ने र परिवर्तनका लागि समेत निजी क्षेत्रले योगदान गरेका छन्, तर सरकारको आथिक साझेदार निजी नै भन्ने कुरा स्थापित हुन सकेको छैन ।’

उनले पछिल्लो पटकको जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल उठ्न नसकेको बताइन् ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले निजी क्षेत्रका बिचमा स्वस्थ प्रतिस्पर्धा कमजोर बन्दै गएको बताए । 

उनले निजी क्षेत्रभित्रै देखिने सिन्डिकेट र अस्वस्थ अभ्यासले लगानी र बजारलाई विकृत बनाइरहेको टिप्पणी गरे । तर राजनीतिक अस्थिरता र आन्दोलनहरूले राज्य नै कमजोर बन्न पुगेको बताए ।

सुरानाले यस्ता गतिविधिलाई राज्यले कठोर रूपमा निरुत्साहित गर्नुपर्ने धारणा राखे । 

‘राजनीतिक अस्थिरता र आन्दोलनले राज्य नै कमजोर देखिंदा निजी क्षेत्रको मनोबल थप खस्किएको छ’ उनले भने, ‘विभिन्न आन्दोलन र पछिल्लो जेनजी आन्दोलनले मुलुक नै राज्यबिहीन नै भयो, यस्तो अवस्थामा निजी क्षेत्रले अब त मनोबल उठाउने कुनै ठाउँ छैन ।’

साथै, मेरो मात्रै व्यापार फस्टाओस् भन्ने भावना उद्योगी व्यवसायीहरुले पनि त्याग्नुपर्ने र गलत भएको ठाउँमा राज्य स्पष्ट भएर कानुनी कारवाही गर्न सक्नुपर्ने सुझाव दिए ।

कोशी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष सुबोध प्याकुरेलले रोजगारी सिर्जना र अर्थतन्त्र निर्माणमा निजी क्षेत्रको योगदान नै निर्णायक रहेको बताए । तर सामाजिक न्याय र नीतिगत सन्तुलन नहुँदा लगानी भने घट्दै गएको बताए । 

उनले कर्मचारीतन्त्र हाबी बन्दा निजी क्षेत्र त्रसित भएको उल्लेख गर्दै राज्यले प्रशासनिक शक्ति बलियो बनाउँदै लैजा“दा निजी क्षेत्र कमजोर पार्ने सोच त्याग्नुपर्ने धारणा राखे । 

‘जोखिम मोलेर लगानी गर्ने निजी क्षेत्रलाई नै भ्रष्टाचारीका रूपमा हेर्ने प्रवृत्ति बढ्दो छ, यसले अर्थतन्त्रलाई थप कमजोर बनाउँछ’ प्याकुरेलले भने, ‘अर्थतन्त्रको निर्माण र रोजगारी सिर्जनामा निजी क्षेत्रकै योगदान छ, तर सामाजिक न्याय कायम भएन भने निजी क्षेत्र पनि बलियो हुँदैन ।’

सवै क्षेत्रबाट मुलुकमा उत्पादनमुखि लगानी किन घट्दैछ भन्नेतर्फ चिन्ता बढाउनु पर्नेमा जोड दिए । निजी क्षेत्रले खतरा मोलेर लगानी गर्ने भएकोले त्यसको जोखिमको प्रतिफललाई मुनाफाका रुपमा आर्जन गर्दा भ्रष्टाचारी करार गर्नु गलत भएको बताए । राजनीतिक क्षेत्रले पनि निजी क्षेत्रबाटै सहयोग लिएर जाने तर उनीहरुलाई नै पछि गलत दृष्टिकोणले चित्रित गरिदिने प्रवृत्ति बढेको बताए ।

युवा उद्यमी एवं एनिटाइम रेष्टुरेन्ट एण्ड बारकी प्रबन्ध निर्देशक सिद्धी अधिकारीले उद्योग व्यवसाय गर्नका लागि राज्यको कानुनी प्रणाली नै जटिल रहेको बताइन् । झन अहिलेको अवस्थाले त निजी क्षेत्र यता न उता भएको टिप्पणी गरिन् ।

उनले बिजनेस गर्नेले नियम पनि केही न केही चैं थाहा पाउनु पर्ने सुझाव दिइन् । ‘किनभने त्यै व्यवसाय पछि ठुलो हुने हो’ उनले भनिन् । अधिकारीले राज्यले स्थिर र व्यवसायमैत्री नीति ल्याएर सहजीकरण गर्नुपर्ने बताइन् । 

कार्यक्रमको अध्यक्षता गरेका उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रभित्रै आपसी एकता, आत्मसमीक्षा र राज्यसँगको सहकार्य बिना मुलुकको आर्थिक पुनरुत्थान सम्भव नहुने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकारको सहजीकरण गरेको उक्त कार्यक्रममा राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशी, केन्द्रीय संयोजक किशोरकुमार प्रधान लगायत मोरङ–सुनसरी औद्योगिक क्षेत्रका अगुवा उद्योगी व्यवसायीहरू उपस्थित थिए ।

छलफलका क्रममा उनीहरूले मुलुकका आर्थिक मुद्दाहरूलाई नै निजी क्षेत्रले केन्द्रमा राखेर नीतिगत पुनरावलोकन, अर्थनीतिमा पुनर्विचार र लगानीमैत्री वातावरण निर्माणमा आवाज उठाइरहनु पर्ने सुझाव दिएका थिए ।

View : 173

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved