Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
विचार

सन्दर्भ २६५० औं बुद्ध जयन्ती

बुद्धको विश्व शान्ति सन्देशको सान्दर्भिकता

सुरदास श्रेष्ठ
१८ वैशाख २०८३, शुक्रवार

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २६५०औं जन्म जयन्ती वैशाख शुक्ल पूर्णिमा आजको दिन २०८३ वैशाख १८ गते शुक्रबार मनाइएकाे छ।

गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनवटा संयोगको रूपमा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा तिथिको दिन बुद्ध जयन्ती मनाइने गरिन्छ।

यस आधारमा बुद्धको २६५० औं जन्म जयन्ती, २६१५ औं बुद्ध ज्ञानप्राप्ती र २५७० औं महापरिनिर्वाण दिवस हो।

विश्वले नै बुद्ध र बुद्धको शिक्षा अङ्गिकार गरिरहेको बेला यसलाई बुद्धकै जन्मभूमि नेपाल र नेपालीले अझ विशेष रूपले मनन गर्नुपर्ने देखिन्छ।

बुद्ध जयन्ती कसरी मनाउँदा बुद्धको जन्म नेपालमा भएको गौरव हामीले लिन सक्छौं। त्यसको फाइदा नेपाल र नेपालीले कसरी लिने, बौद्ध संघसंस्था, सरकार मात्र होइन सबै नेपाली, सबै धर्मावलम्बीहरूले, विना भेदभाव, विना हिचकिचाहटपूर्वक लाग्नु जरुरी छ।

 

बौद्ध धर्म सम्प्रदाय भएका मुलुकहरू थाइल्याण्डमा ९३ प्रतिशत, कम्बोडियामा ९७ प्रतिशत, म्यानमारमा ८८ प्रतिशत, श्रीलंकामा ७० प्रतिशत, भुटानमा ७५ प्रतिशत बौद्ध धर्मावलम्बीहरू छन्।

नेपालमा बुद्ध जन्मेको देश भएर पनि ८.२१ प्रतिशत अर्थात् कूल जनसंख्याको २३ लाख ९३ हजार ५४९ जनसंख्या बौद्ध सम्प्रदाय हुनु सोचनीय छँदै छ।

विश्वमा ३५ करोड जनसंख्या अर्थात् चौथो धार्मिक सम्प्रदायमा बौद्ध धर्म पर्दछ। नेपालमा हिन्दुको संख्या ८१.३ प्रतिशतको तुलनामा ८.२१ प्रतिशत थोरै हो, नेपालमा दोस्रो बौद्ध धार्मिक सम्प्रदाय पर्दछ।

यति भनिरहँदा नेपालमा कतिपय हिन्दु समुदायका मानिसहरू बौद्ध धर्मलाई पनि उत्तिकै सम्मानपूर्वक मान्दछन् तर उनीहरूलाई हिन्दु भनेर चिनिन्छ। नेवारी समुदायका अधिकांश व्यक्तिहरू बौद्ध धर्मलाई उत्तिकै आदरपूर्वक मान्दछन्।

गौतम बुद्धको मूल सिद्धान्त

सबै कुरा भगवान्ले नै बनाएको हो र भगवान्को इच्छाविपरीत केही पनि हुँदैन भन्ने मान्यताविपरीत बौद्ध दर्शनले भगवान् नै हुँदैन, सबै कुरा कर्मले गर्दछ भन्ने मान्यता, खासमा ‘ईश्वर हुन्छ भन्ने नमान्नु’, ईश्वर छ भन्ने हो भने मनुष्य स्वयम् मालिक हो भन्ने सिद्धान्तको विरुद्ध हुन्छ भन्ने मान्यता गौतम बुद्धको हो।

दोस्रो ‘आत्मालाई नित्य नमान्नु’, आत्मालाई नित्य मान्दा यसको शुद्धी र मुक्तिका लागि अवसर बाँकी रहने छैन भन्ने मान्यता बुद्धको रहेको छ।

तेस्रोमा ‘विचारको रूपमा ग्रन्थलाई स्वतः प्रमाण नमान्नु’,

ग्रन्थलाई स्वतः प्रमाण मान्ने हो भने बुद्धि र अनुभवको प्रमाणिकता हराउँदै जान्छ भन्नु भएको छ।

चौथोमा ‘जीवन प्रवाहलाई यसै शरीरसम्म पारमित मान्नु’ हरेक कार्यको कारण हुन्छ भन्ने सिद्धान्त नियमबाट उत्पन्न नभएर त्यो मात्र आकस्मिक घटना हुन जान्छ भन्ने मान्यता राख्नु हुन्छ,

यिनै चार सिद्धान्तको रूपमा बुद्धलाई बुझ्न सक्नु पर्छ भन्ने मान्यता रहिआएको छ, सबै सिद्धान्त परीक्षितसमेत भएको छ।

 

बुद्धको रचना तथा ग्रन्थहरू

गौतम बुद्धले प्रत्यक्ष रूपमा कुनै ग्रन्थ पु्स्तकको रचना गर्नुभएको छैन।

उहाँले आफ्नो जीवनकालमा आफ्ना उपदेश, दर्शनका विषयमा मौखिक रूपमा मात्र राख्नु भएको थियो।

बुद्धको महापरिनिर्वाण (मृत्यु) पछाडि उहाँका शिष्यहरूले उहाँका उपदेश दर्शनको रूपमा व्याख्या गरिएका विचारहरू संकलन गरी ग्रन्थको रूपमा लिपिबद्ध गरेको पाइन्छ।

हालसम्म गौतम बुद्ध तथा बौद्ध धर्मसम्बन्धी हजारौं ग्रन्थहरू प्रकाशनमा आइसकेका छन्। बुद्धको महापरिनिर्वाण (मृत्यु) पछाडि लेखिएका सबैभन्दा पुराना ग्रन्थहरू (१) त्रिपिटक, (२) सुत्तपिटक, (३) विनयपिटक, (४) अभिधम्मपिटक छन्।

(१) त्रिपिटकः यस ग्रन्थलाई बौद्ध धर्मको सबैभन्दा पुरानो ग्रन्थको रूपमा लिइन्छ।

बुद्धको जन्म, बुद्धले प्राप्त गरेको ज्ञान, शिक्षा, जीवन उपयोगी उपदेश तथा महापरिनिर्वाण (मृत्यु) सम्मको सँगालोको रूपमा व्याख्या गरिएको छ।

जुन पालि भाषामा लिपिबद्ध गरिएको पाइन्छ। (२) सुत्तपिटकः यसमा बुद्धको उपदेश तथा बुद्धले व्यक्त गरेका वाणीहरूलाई जस्ताको तस्तै संवादको रूपमा समेटिएको छ।

(३) विनयपिटकः यस ग्रन्थमा बौद्ध धर्मावलम्बीहरू अनुयायीहरू भिक्षु भिक्षुणीहरूले बुद्ध धर्ममा साधना गर्नु पर्दा गरिने नियम विधिहरू समावेश गरिएको छ।

(४) अभिधम्मपिटकः यस ग्रन्थमा बुद्धले प्रतिपादन गरेको दर्शनको व्याख्या, विश्लेषण गरिएको छ। यस बाहेक बौद्ध धर्मका सम्प्रदायअनुसार ग्रन्थहरू फरक–फरक पर्ने भएको पाइन्छ। यसमा प्रयोग भएका शब्द, लिपी, अत्यन्त क्लिष्ट भएकोले धेरै सूक्ष्म अध्ययनको जरुरी महसुस हुन्छ।

 

बौद्ध धर्मका सम्प्रदाय शाखाहरू के कस्ता छन्

 बुद्धको शिक्षालाई विभिन्न तरिकाले व्याखया, विश्लेषण अभ्यास गर्ने सन्दर्भमा विभिन्न देशका उपासक–उपाशिका, भिक्षु–भिक्षुणी, लामा, गुरु रिम्पोछे, वोधिप्राप्त, पद्मसम्भव जस्ता आदर सम्मानबाट सम्प्रदाय शाखाहरूमा भिन्नभिन्न नामबाट सम्बोधन गरिन्छ।

यसरी बौद्ध धर्ममा देश ठाउँ विशेष मुख्य तीन सम्प्रदाय शाखाहरू छन्।

(१) थेरवादः यो सम्प्रदाय वा शाखा बौद्ध धर्मको सबैभन्दा पुरानो सम्प्रदाको रूपमा लिइएको छ। यसले व्यक्तिगत निर्वाण र भिक्षु, भिक्षुणी जीवनलाई बढी जोड दिएको पाइन्छ।

श्रीलंका, कम्बोडिया, लाओस, थाइल्याण्डमा यो सम्प्रदायका बौद्धमार्गीहरू धेरै पाइन्छ।

(२) महायानः यस सम्प्रदायमा बोधिसत्वको मार्ग अङ्गिकार गर्दै सबै प्राणीको कल्याण र मुक्तिको लागि जोड दिने गरिएको छ।

यस सम्प्रदायमा सबै मानवले बुद्धको ज्ञान हासिल गरी मानव सेवा प्राणीप्रतिको माया र कल्याणमा लाग्न सक्छ, यो सम्प्रदायमा चीन, जापान, कोरिया, भियतनाम, नेपालमा रहेको सम्प्रदाय पनि पर्दछ।

(३) बज्रयानः यस सम्प्रदायमा तान्त्रिक, ध्यान, बोध जस्ता शिक्षासँग जोडेर बौद्ध धर्मसम्बन्धी ज्ञान, शिक्षा दिने गरिन्छ। मन्त्र, तन्त्र, ध्यान अभ्यासद्वारा छिटो बुद्धत्व प्राप्त गर्ने प्रयास गरिन्छ। यो सम्प्रदाय भुटान, नेपालमा प्रचलनमा छ।

यस बाहेक हिमालयन बौद्ध परम्पराअन्तर्गत पनि चार सम्प्रदाय छन्। निङ्मा, काग्यु, शाक्य, गेलुग छन्।

 

बुद्धले दिनुभएको विश्व सन्देश

 – स्वास्थ्य नै सबैभन्दा ठूलो उपहार हो, सन्तोष नै सबैभन्दा ठूलो धन हो, विश्वास नै सबैभन्दा राम्रो सम्बन्ध हो।

– आफ्नो दिमागलाई नियन्त्रण गर्नुहोस्, किनकि यो नै तपाईंलाई खुशी बनाउने, दुःखी बनाउने मुख्य कारण हो।

– हजारौं खोक्रो शब्दभन्दा एउटै शक्तिपूर्ण शब्द शक्तिशाली हुन्छ।

– विगतमा नअल्झिनुस्, भविष्यको चिन्ता नगर्नुहोस्, वर्तमानमा ध्यान केन्द्रित गर्नुहोस्।

– खुशी सधैँ बाहिर मिल्दैन, त्यो मनभित्र पाइन्छ।

– आफूलाई चिन्नु सबैभन्दा ठूलो विजय हो।

– कुनै पनि काम सुरु गर्न कहिले ढिलो हुँदैन।

– शान्ति रहनुहोस् किनकि शान्ति नै खुशीको मूल ढोका हो।

 

शान्ति, अहिंसा, सत्यको ज्ञान विश्वमा प्रज्ज्वलित गरी विश्वको शान्तिको दूतको रूपमा विभूषित बुद्धको देशका हामी नेपालीले अहिंसा, उपद्रवको बाटो मानव हितमा छैन भन्ने सन्देश दिन सक्नु पर्दछ।

 विश्वमा भएका युद्ध, मानव संहार आफै विनाश भन्दा अरु केही होइन भन्ने सन्देश दिन सक्नुपर्दछ।

 विश्वका विभिन्न देशका बौद्धमार्गीहरूलाई नेपाल भ्रमणको निम्तो दिई, बुद्धको तपोभूमि नेपाल र लुम्बिनीको दर्शन गराई समृद्ध नेपाल बनाउन सबैको पहल हुनु पर्दछ।

२०८३ वैशाख १८ गते २६५० औं बुद्ध जन्म जयन्तीको हार्दिक शुभकामना।

View : 282

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved