चौतर्फी आक्रमणको सामना गर्दै दुई-तिहाइ जनमत ओगट्न सफल वामपन्थी आन्दोलनले यस पटक नराम्ररी धक्का खाएको छ।
क्रान्तिपछिका सम्भावित प्रतिक्रान्तिका आयामहरूको चिरफार नगर्दा त्यसले निम्त्याउने परिणामबारे वाम नेताहरूले समीक्षा गरे कि गरेनन्, त्यो उनीहरू नै जानुन्। तर, प्रतिक्रान्तिका कारकहरूको सही पहिचान गरेर अघि बढ्न नसक्दाको परिणाम कस्तो हुन्छ भन्ने कुरा यस पटक प्रमाणित भएको छ।
साथै, दोष जति अरूलाई मात्र थोपर्ने प्रवृत्तिलाई अबको समयले पचाउँदैन भन्ने नजिर पनि स्थापित भएकै छ। त्यसकारण, निर्वाचन परिणामको अदृश्य कारक जोसुकै भए पनि मूल कारक आफैँभित्र खोज्नुपर्छ। अदृश्य कारक हिजो पनि थिए, आज पनि छन् र भोलि पनि हुनेछन्। मूल रूपमा आन्तरिक कारण नै निर्वाचनमा लज्जास्पद पराजयको मुख्य कारण हो, जसमध्ये केही यहाँ उल्लेख गरिएको छ:
राजनीतिक परिवर्तनले जनताका आँखा त खुलायो, तर खुला आँखामा चेतना निदायो। बोल्ने शक्ति खुल्यो, तर मौनता खुलेन। निरपेक्ष प्रतिरोधी भावनाको विकास भयो, तर सापेक्षतावादी चेतनाको विकास भएन। गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने संस्कार बसेन।
सुलभ शिक्षाले शिक्षितहरूको संख्या त बढायो, तर उनीहरूमा परिवर्तनकारी चिन्तनको धरातल बढाउन सकेन। शिक्षाले उपाधि त भिरायो, तर सामूहिकतावादी ज्ञानको थैलो भिराउन सकेन। अन्धसमर्थन वा अन्धविरोधले निष्ठाको सुन्दरतालाई निर्लज्ज रूपमा उदाङ्गो बनाउँदा वामहरू जनताबाट टाढिँदै गए।
नैतिकता राजनीतिको मूल आधार हो। तर, पछिल्लो अवधिका अनैतिक गतिविधि र सैद्धान्तिक विचलनको दृश्यले लाज मान्नुपर्ने अवस्था आयो। पार्टीभित्र असहमत पक्षलाई खेदो गर्ने मनोदशा विकास भयो, जसले गर्दा वामहरू स्वयं नाङ्गिँदै गए।
पथभ्रष्ट तथा आपराधिक पृष्ठभूमिका पात्रहरूलाई नायक बनाउने होडले राजनीतिलाई सत्ताको 'चाकाचुली' खेल बनायो। आमूल परिवर्तन 'नारा' मात्र बन्यो भने गैरराजनीतिक खेल 'अभिभारा' बन्यो। यस्तो असङ्गतिपूर्ण खेलमा लम्पट बन्दा जनतामा वितृष्णा पैदा भयो। जनताले वाम र गैरवामको प्रवृत्तिमा कुनै भिन्नता देखेनन्।
वैकल्पिक नेतृत्वको विकासबिना दलीय पद्धतिभित्रै निरङ्कुशता जन्मन्छ र आन्तरिक संघर्ष बाह्य संघर्षमा परिणत हुन्छ। गैरवामको त कुरै छाडौँ, वामपन्थीहरूले समेत विकल्प हुर्कन दिएनन्। नेताहरू अवचेतन मस्तिष्कमा गाडिएको अतृप्त इच्छाको जालोमा बाँधिए। बाँचुञ्जेल पद छाड्न चाहेनन्।
सबैले स्वीकार्नै पर्ने र ताली बजाउनै पर्ने मनोवैज्ञानिक त्रासदीको वातावरण निर्माण गरियो। यसले सत्तालाई नै अन्तिम लक्ष्य बनाएर नेताहरूलाई अनैतिक खेलको खेलाडी तुल्यायो।
वाम सिद्धान्तप्रतिको जनरुचिको आडमा दलभित्र अभिजात वर्गको वर्चस्व कायम रह्यो। शृङ्खलाबद्ध क्रान्तिको भट्टीमा खारिएका सर्वपूज्य नेताहरू समेत क्रमिक विचलनको भासमा डुब्दै गए।
सामन्तवादी चिन्तन फेरिन सकेन। नेतृत्वको अवचेतन मस्तिष्कमा पुरानै सोच र चिन्तनका अवशेषहरू बाँकी रहे। रूप बदलियो तर चेतना बदलिएन, पात्र फेरिए तर प्रवृत्ति फेरिएन।
सांस्कृतिक तथा सामाजिक क्रान्तिको अभावमा समाज नैतिक मूल्य, मान्यता, विवेक र चेतनाको सङ्कटमा फस्दै गयो। राजनीति परिवर्तनकारी विचार नबनेर सत्ता र प्रतिशोधको मैदान बन्यो। जननायकहरू शक्तिका दलालमा रूपान्तरित भए। कार्यकर्ताहरू अन्धभक्त र दासमा परिणत भए। नागरिकहरू कर्तव्य बिर्सेर निरपेक्ष नकारात्मक मनोविज्ञानका पात्र बने।
सत्ताले अपराधको नेतृत्व गर्यो भने न्याय अन्धो बन्यो। वामपन्थीहरू सामन्तवादी चिन्तनको बोरा बोकेर सैद्धान्तिक पण्डित बन्दै खुद्रा पसलमा रमाए। प्रगतिशील चिन्तनको शून्यताले सिद्धान्तको रटानलाई हावामा विलीन गरायो, जसको कन्तविजोकपूर्ण परिणाम आज देखिँदै छ।
वामपन्थीहरूले संसदीय संघर्षलाई वर्ग संघर्षको रूपमा ग्रहण गरे। विद्यमान सामाजिक चेतनाको अवस्थालाई हेर्दा यसलाई बेठिक भन्न मिल्दैन। तर, संसदीय संघर्ष अन्ततः आन्तरिक शक्ति संघर्षमा परिणत भयो। निर्वाचित प्रतिनिधिहरू सेवक बन्नुको साटो शासक बनेर उदाए। राजनीति व्यवसाय बन्यो र भ्रष्टाचार बहादुरी।
असामाजिक गतिविधिका पात्रहरू नायक बने। निष्ठावान कार्यकर्ताले तिनै अपराधीलाई सलाम गर्नुपर्ने अवस्था आयो। कथित बौद्धिक तथा विशेषज्ञ भनिएका पेशाकर्मीहरूले वामपन्थको आडमा 'हामपन्थ' (आफू मात्रै बन्ने) लाई दर्शन बनाए। उनीहरू शक्तिको चाकरीमा लिप्त भएर 'वामपन्थी' शब्दलाई नै बदनाम गराउन सफल भए।
राजनीति निष्ठापूर्ण जीवन पद्धति हो। यसका लागि सिद्धान्त व्यवहारमा उत्रिनुपर्छ। सादा जीवन, उच्च विचार र कठोर संघर्षको कसीमा उभिएर नेताहरू अनुकरणीय बन्नुपर्छ। तर, वामहरूले सिद्धान्तलाई बन्धक बनाए। कार्यकर्ताहरू पठन संस्कृतिबाट विचलित भए।
एउटा वामले अर्को वामलाई सिध्याउने दाउपेचमा लागे। आफ्नै आन्तरिक झगडाका कारण विपक्षीहरूले खेल्ने मौका पाए। यस्ता अनगिन्ती दृश्यहरू बारम्बार देखेपछि जनताले यस पटक निर्वाचनमार्फत सजाय दिएका छन्। अब यसलाई स्वीकार्नु र सुध्रनुको विकल्प छैन।
जनता र पार्टीबीचको मध्यस्थकर्ता कार्यकर्ता हुन्। जनसङ्गठनहरू भुइँमान्छेका आवाज हुन्। त्यसका लागि निष्ठा, इमानदारी र नैतिकता भएका कार्यकर्ता चाहिन्छ। तर, पछिल्लो समयमा वामहरूले कार्यकर्ता जन्माएनन्, केवल चाकरीबाज र दासहरूको भीड जम्मा गरे। निष्ठावानहरू पाखा लगाइए र स्वार्थीहरू काखी च्यापिए। पार्टी र जनताबीचको सम्बन्ध निर्वाचनसम्म मात्र सीमित भयो। यस्तो अवस्थामा आन्तरिक कमजोरीलाई छाडेर बाह्य शक्तिलाई मात्र दोष दिनुको अर्थ छैन।
वाम आन्दोलन सङ्कटको दोभानमा भए पनि सुध्रिएमा अझै बिग्रिसकेको छैन। सुधारका लागि सङ्गठनको पुनः संरचना गरेर यसलाई वैचारिक बनाउनुपर्छ।
अहिले नेता-कार्यकर्ता सामाजिक सञ्जालका विकृतिका दास भएका छन्। उनीहरू सञ्जालमा सुन्दर देखिन हानाथाप गर्छन् तर ज्ञान र चेतनाका कुरा पढ्दैनन्।
उनीहरूलाई यो मनोरोगबाट मुक्त गराई सञ्जाललाई ज्ञानको माध्यम बनाउनुपर्छ। पुस्तक र पत्रिका पढ्ने संस्कार पुनः जागृत गर्नुपर्छ।
भद्दा चाकरीवादी संस्कारबाट नेता-कार्यकर्तालाई मुक्त पार्नुपर्छ। वामपन्थीहरूको जीवनशैलीले जनताको जीवनलाई गिज्याउने हुनुहुँदैन। यदि यति मात्र गर्न सके पनि जनविश्वास पुनः जागृत हुन सक्छ, अन्यथा यथास्थितिले विनाश निश्चित छ।
View : 207
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved