(एआईद्वारा सम्पादित तस्वीर )
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विराटनगर महानगरपालिका समितिको आयोजनामा सोमबार अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर–११ स्थित राधाकृष्ण प्यालेसमा आयोजित साे कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी महानगर प्रमुख (मेयर), उपप्रमुख (उपमेयर), वडा अध्यक्ष तथा वडा सदस्यका आकांक्षीहरूको विशेष उपस्थिति थियो ।
रास्वपा महानगर समितिका अध्यक्ष कृष्णप्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न साे अन्तरक्रियामा तीन सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो ।
कार्यक्रममा विराटनगरका सबै १९ वटा वडाका सहभागीहरूलाई छुट्टाछुट्टै समूहमा विभाजन गरी सघन छलफल र अन्तरक्रिया गराइएको थियो ।
आगामी निर्वाचनका लागि नगरका शीर्ष नेतृत्वको दाबी र सम्भावनाका विषयमा कार्यक्रममा विशेष चर्चा भएको थियो ।
विभूतिराज कोइराला, करिम अन्सारी र विष्णु कार्कीले आफ्नो दाबी प्रस्तुत गर्दै मन्तव्य राखेका थिए ।
उता, विराटनगर महानगरको मेयरका रूपमा चर्चामा रहेका नेताहरू नेत्र शिवाकोटी, सञ्जीव रेग्मी र सौरभ कोइराला कार्यक्रममा उपस्थित रहे तापनि उनीहरूले भने आफ्नो धारणा राखेनन् ।
आयोजकले पूर्वसूचना जारी गर्दै महानगरका मेयर, उपमेयर लगायत अन्य पदाधिकारीका आकांक्षीहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको थियो ।
कार्यक्रममा रास्वपाका संघीय संसदीय दलका सचेतक प्रमुख प्रकाशचन्द्र परियार, माेरङ ६ का सांसद सन्ताेष राजवंशी, प्रदेश अध्यक्ष चन्द्र राई, कोषाध्यक्ष निश्मा कोइराला, जिल्ला सभापति भरत कँडेल, नगर संस्थापक सभापति सागर ढुंगाना, नगर सचिव अम्बरबहादुर बस्नेत, नगर सहसचिव विष्णु निरौला (आकाश) तथा प्रदेश सदस्यहरू एमिलिया कार्की र नेत्र शिवाकोटी लगायतका नेताहरूको सहभागिता थियो ।
साथै, मोरङका अन्य विभिन्न पालिकाका अध्यक्षहरूको समेत कार्यक्रममा ऐक्यबद्धता र सहभागिता थियो ।
View : 126
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved