विराटनगर । मोरङमा गत आर्थिक बर्षमा नया“ नागरिकता लिने र नागरिकता लिइसकेकाहरूले प्रतिलिपि निकाल्ने संख्या हाराहारी जस्तो रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आर्थिक वर्ष २०८१/८२ मा २७ हजार १२१ वटा नयाँ नागरिकता जारी गरेकोमा प्रतिलिपि लिनेको संख्यासमेत २६ हजार ४२६ अर्थात नयाँ नागरिकता वितरणको तुलनामा ३ प्रतिशतमात्रै कम रहेको बताए ।
जिल्लाका सरकारी कार्यालयका प्रमुख र सूचना अधिकारीहरू समेतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङको बार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ यादवले नागरिकताको प्रतिलिपि निकाल्ने संख्या ठूलो रहेको बताए ।
नयाँ नागरिकता वितरण गरेकै संख्याको हाराहारीमा प्रतिलिपि वितरण गर्नुपर्ने अवस्थाले नागरिकता जस्तो अनिवार्य र महत्वपूर्ण कागजपत्रको सुरक्षामा मानिसहरूको ध्यान नदेखिएको भन्दै चिन्ता व्यक्त गरे । जसका कारण कार्यालयमा अनावश्यक प्रशासनिक बोझ बढेको उनले बताए ।
प्रतिलिपि निकाल्ने मुख्य कारण नागरिकता ‘हराएको’ वा ‘साथमा नरहेको’ भन्ने जवाफ आउने गरेको जानकारी दिए ।
‘नयाँ नागरिकता वितरण गरे जस्तै गरी प्रतिलिपि निकाल्नुपर्ने अवस्थाले कार्यालयको प्रशासनिक बोझ बढेको छ’ उनले भने, ‘अर्कोतिर मानिसहरूमा नागरिकता जस्तो महत्वपूर्ण कागजपत्रलाई सुरक्षित रुपमा राख्नुपर्छ भन्ने कुरामा ध्यान पुगेको देखिएन ।’
गत आवमा प्रशासन कार्यालयबाट १ हजार १२३ वटा वैवाहिक अंगीकृत र ११२ वटा गैर आवासीय नागरिकता वितरण गरिएको उनले जानकारी दिए । त्यस्तै ९८ जनाले नागरिकता परित्याग गरेको र आठ जनाको नागरिकता नै रद्द गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय मोरङले आव २०८१/८२ मा ७८ हजार ६८८ वटा राष्ट्रिय परिचयपत्रको नयाँ दर्ता गरेको जनाएको छ । एक आवमा २६ हजार ९२५ वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको जनाइएको छ ।
नागरिकताभन्दा राहदानी लिने धेरै
जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता वितरणभन्दा धेरै संख्यामा राहदानी वितरण गर्नु परेको छ । प्रजिअ यादवका अनुसार एक आर्थिक वर्षमा २८ हजार ६३३ वटा राहदानीका लागि सिफारिस गरिएको हो । त्यस्तै ३१ हजार १४१ जनालाई राहदानी वितरण गरिएको जानकारी दिए ।
‘राहदानी बनाउनेको संख्या ठूलो छ, नागरिकतामा भन्दा चाप राहदानीमा देखिएको छ’ प्रजिअ यादवले भने, ‘राहदानी बनाउनुको उद्देश्यले वैदेशिक रोजगारी र अध्ययन अध्यापनका लागि जानका लागि हुने भएकाले यसले मुलुकको अर्कै खालको समस्याको संकेत गरिरहेको छ ।’
प्रजिअ यादवले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा शान्ति सुरक्षाको अवस्था बलियो रहेको दाबी गरे । सुरक्षा निकायले विभिन्न चाडपर्वका क्रममा भिड नियन्त्रण गर्न गोली नै चलाउनु पर्ने अवस्था यो बर्ष नआएको बताए । हरेक कार्यक्रम शान्तिपूर्ण रुपमा सकिएको उनले बताए ।
१७ हजार गुनासो शून्यमा
जिल्ला प्रशासन कार्यालय मोरङले नागरिक एप मार्फत दर्ता भएका १७ हजार बढी गुनासोलाई शून्यमा झारेको छ ।
२०७७ सालयता नागरिक एपमा नागरिक सच्याउने सम्बन्धी दर्ता भएका उजुरी तथा गुनासोहरू त्यतिकै रहेकोले ठूलो प्रयासबाट त्यसलाई शून्य कायम गर्न सफल भएको प्रजिअ यादवले बताए । उनले कार्यालयमा दर्ता भएका ९९३ वटा ठाडो उजुरी सत् प्रतिशत फछ्र्याैट गरिएको दाबी गरे ।
गृह मन्त्रालयमार्फत आएका १० वटामध्ये सातवटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फतका ३० मध्ये १२ वटा र हेल्लो सरकार अन्तरगत दर्ता भएका दुईवटा उजुरी फछ्र्याैट गरिएको जानकारी दिए ।
आफूले कार्यालयको दैनिक प्रशासनिक काम कारवाहीलाई वेवसाइटमार्फत सार्वजनिक गर्दै नागरिकलाई सहज रुपमा सेवा प्रवाह गरिरहेको बताए ।
२०८१ पुस २४ मा मोरङ हाजिर भएका प्रजिअ यादवले गत आवमा आफ्नो नेतृत्वमा भएका कामकारवाहीको विवरण कार्यालय प्रमुखहरूसँग प्रस्तुत गर्दै अर्को बैठकमा सबै कार्यालय प्रमुखले बार्षिक प्रगति प्रस्तुत गर्नुपर्ने निर्देशन दिएका थिए ।
View : 533
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved