Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

अहिले यो परिस्थिति बन्नुको सम्पूर्ण कारण पुष्पकमल दाहालको अस्थिरता नै हो: गगन थापा

नयाँ खालको लसपस गर्न थालेपछि, हातखुट्टा पसार्न थालेपछि यो अहिलेको दुर्घटना वहाँकै कारणले निम्त्याएको हो ।
बाबुराम भण्डारी
२० असार २०८१, बिहिवार

Advertisement

विराटनगर, २० असार । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकार परिवर्तन गर्न वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरता नै प्रमुख कारण भएको दाबी गरेका छन् । उनले एमालेसँग सरकारमा बसिरहेकै अवस्थामा प्रधानमन्त्री दाहालले नयाँ खालको लसपस गर्न थालेको र हातखुट्टा पसार्न थालेपछि उनकै कारण दुर्घटना निम्तिएको बताएका हुन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संवादका क्रममा महामन्त्री थापाले एमाले– कांग्रेसको गठबन्धन कसैको चाहनामा बनेको वा कसैले भत्काएको नभई यसको सबै दोष प्रधानमन्त्री दाहाललाई लाग्ने बताए । उनले नेपालको राजनीतिमा प्रचण्डले अति नै अस्थिर देखिएको र कसैले पनि विश्वास गर्न नसक्ने अवस्था बनेको टिप्पणी गरे ।

‘अहिले एमालेसँग सरकारसँग बसिसकेपछि पनि फेरी नयाँ खालको लसपस गर्न थालेपछि, हातखुट्टा पसार्न थालेपछि यो दुर्घटना वहाँकै कारणले निम्त्याएको हो, त्यसैले यो कसैको कारणले बनेको पनि होइन, कसैले भत्काएको पनि होइन’ महामन्त्री थापाले भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर हुनुभयो कि वहाँसँग कसैको पनि विश्वास रहेन, त्यो कारणले गर्दा अहिलेको परिस्थिति सिर्जना भएको हो ।’

उनले काङ्ग्रेसभित्र आफूलाई काङ्ग्रेस प्रतिपक्षमै बस्नु नै ठिक हुन्छ भन्ने लागेपनि व्यक्तिको चाहनाभन्दा पार्टीको चाहना माथि हुने बताए । तर सरकार बनेको दुई चार महिना हुँदा नहुँदै नयाँ गठबन्धन बन्नका लागि पनि प्रचण्डकै अस्थिर व्यवहार मुख्य कारण बनेको उनले बताए ।

महामन्त्री थापाले काङ्ग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्था, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व, सबैको स्वतन्त्रता, नेपालको विविधतालाई थप सुदृढ गर्दै संविधानलाई पुनरावलोकन गर्ने प्रस्ताव अघि बढाएको बताए । 

‘नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको यो संविधान हो, यसप्रतिको सबैभन्दा ठुलो जिम्मेवारी काङ्ग्रेसको छ भन्ने कहिँ कतै कसैले पनि आशङ्का गर्नु पनि पर्दैन, यो संविधान हामीले अरु कसैको लागि बनाइदिएको होइन’ उनले भने, ‘आफ्नो मनले नेतृत्व गरेर बनाएको संविधान हो, कसैलाई देखाइदिनलाई पनि बनाएको पनि होइन, नेपालको विविधतालाई थप सुदृढ गरीकन संविधानलाई पुनरावलोकन गर्ने काङ्ग्रेसको प्रस्ताव हो ।’

उनले ८-१० वर्षको अनुभव हेर्दा सङ्घीय र प्रदेश सरकार बन्ने प्रक्रियामा देखिएको अस्थिरता संविधान पुनरावलोकन मार्फत सम्बोधन हुने बताए । संविधान संशोधनको विषय माओवादीसँगै गठबन्धनमा भएको बेलामा भएको महासमिति बैठकबाट निर्णय गरेर संविधान संशोधनको प्रक्रियामा अघि बढेको बताए ।

‘हामीले त महासमितिको बैठकबाट निर्णय गरेर ल्याएको हो, माओवादीसँग गठबन्धनमा भएकै बेलामा हामीले महासमितिबाट पारित गरेको हो, संविधानको पुनरावलोकन गर्नुपर्नेछ, यसको नेतृत्व काङ्ग्रेसले गर्छ’ उनले भने, ‘हामी सबैसँग संवाद गर्छौं भनेको विषय नै अहिले आएर हाम्रो लागि अनुकुलको अवस्था बनेको छ, हामीले एमालेसँग साझेदारीमा जाँदैगर्दा सबैभन्दा महत्वपूर्ण विषय नै यहि बनेको छ, हामीले संविधानको पुनरावलोकन गर्नुपर्छ, समय आयो, त्यसका लागि हाम्रो मात्र मतले पुग्दैन । नेकपा एमालेको मतले मात्रै पनि पुग्दैन, यसमा अरु दलपनि योसँग जोड्नुपर्छ ।’

उनले संविधानकै कारण राजनीतिक स्थिरता कायम गर्न नसकिएको दाबी गरे । थापाले २०७० सालमा पनि दुईवटा ठुला दल मिलेर संविधान निर्माण गरेको, २०५६ मा पनि दुईवटा दल मिलेर निर्वाचन गर्ने जिम्मेवारी सम्पन्न गरेको, २०४७ सालमा पनि दुईवटा दल मिलेर चुनाव पनि गराएर संविधान पनि बनाएका कारण एमालेसँगको सहकार्य सहि भएको बताए । 

‘नेपालको सन्दर्भमा विशिष्ट अवस्थामा दुईवटा दल मिलेर निकास दिएका छौं, दुईवटा दल मिल्दैगर्दा संसदभित्र प्रतिपक्ष कमजोर होला कि वा दुईवटा दल मिल्दा संख्याको आधारमा कानुन शासन लगायतका विषयमा ध्यान नपुग्ला कि भन्ने विषयमा सचेत रहनुपर्छ भन्ने जायज हो’ उनले भने, ‘तर यसमा किन आत्तिनु पर्दैन भने हामीहरु जस्ता थुप्रै मानिसहरु छौं, जो हामी एउटा दलको मात्र सरकार हुँदै गर्दा दलको सरकारले गलत गर्यो भने प्रश्न उठाउने कोही सडकमा, कोही संसदमा छौं भने अहिलेको कोही साथीहरु सरकारमा जानुहुन्छ, सरकार चलाउनु हुन्छ ।’

उनले कांग्रेसबाट कसको नेतृत्वमा सरकारमा जाने भन्ने कुरा अहिले छलफल प्रारम्भ नभएको बताए । हिजोमात्रै केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट नयाँ बन्ने सरकारलाई समर्थन गरेर जाने निर्णय गरेको जानकारी दिए । उनले नयाँ सरकार बन्नका लागि कि अहिलेको प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने कि विश्वासको मत लिनुपर्ने अवस्था रहेको बताए । 

‘हाम्रो अपेक्षा अब आज अशोक राईले नेतृत्व गर्नु भएको जसपाले समेत समर्थन फिर्ता लिइसकेपछि प्रधानमन्त्री सम्पूर्ण रुपमा अल्पमतमा परेको अवस्था छ, यसमा अलमलिएर नबस्नु उचित होला’ उनले भने, ‘जतिसक्यो त्यति छिटो वहाँले मार्ग प्रसस्त गर्नुहुन्छ, त्यसपछि मात्रै हाम्रो दलभित्र कसले नेतृत्व गरेर जाने भन्ने छलफल सुरु हुन्छ ।’ 

तपाँई गृहमन्त्री बन्ने चर्चा छ नि ? भन्ने प्रश्नमा महामन्त्री थापाको जवाफ थियो– ‘म त महामन्त्री नै छु नि, म पार्टीको महत्वपूर्ण जिम्मेवारी मै छु ।’

View : 112

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved