विराटनगर । इलाममा अनशनरत प्रा. डा. गोविन्द केसीको स्वास्थ अवस्था जटिल बनेपछि उपचारका लागि काठमाडौ लैजाने तयारी भएको छ ।
उनलाई लिन सेनाको हेलिकप्टर इलाम आउॅदै गरेको इलाम अस्पतालले जनाएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका केसीको रगतमा चिनीको मात्रा अत्यधिक घटेपछि अस्पताल भर्ना गरिएका केसीको अवस्था जोखिमपूर्ण रहेको चिकित्सकले बताएका छन् ।
अस्पतालले आइतबार सार्वजनिक गरेको विवरणअनुसार केसीलाई शनिबार राति करिब ८ बजे उपचारका लागि भर्ना गरिएको थियो ।
टाइप–२ मधुमेहका बिरामी रहेका उनको रगतमा ग्लुकोजको मात्रा खतरनाक स्तरसम्म घटेको पाइएको छ। पिसाबमा एसिटोनको मात्रा पनि बढेको अस्पतालले जनाएको छ ।
अस्पतालमा गरिएको परीक्षणमा उनको रगतमा ग्लुकोजको मात्रा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको थियो। चिकित्सकीय भाषामा यसलाई गम्भीर हाइपोग्लाइसेमिया भनिन्छ। अस्पतालका अनुसार केसीको रक्तचाप १००/६० एमएमएचजी छ ।
नाडीको गति प्रतिमिनेट ८० देखि १०८ सम्म र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशत रहेको छ ।
ईसीजी परीक्षणमा कहिलेकाहीँ भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भीपीसी) समेत देखिएको विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य अवस्था थप बिग्रिन सक्ने र जीवन नै जोखिममा पर्न सक्ने अवस्था रहेको भन्दै इलाम अस्पतालले आवश्यक उपचार तथा थप व्यवस्थापनका लागि कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved