विराटनगर । नेपाल सरकारले सन् २०३० सम्म सबै नेपाली नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने लक्ष्य बनाएको छ । तर स्वास्थ्य बिमा कार्यक्रम लागू भएको ८ वर्ष बितिसक्दा कोशी प्रदेशको कूल जनसंख्याको ४९ प्रतिशत नागरिकले मात्र स्वास्थ्य बीमा गराएका छन् ।
४९ लाख ६१ हजार ४ सय १२ जना जनसंख्या रहेको कोशी प्रदेशमा ४९.४९ प्रतिशत अर्थात् २४ लाख ३९ हजार ४ सय २५ जनाले मात्र स्वास्थ्य बीमा गराएका छन् । प्रदेशमा सबैभन्दा बढी स्वास्थ्य बीमा झापा जिल्लामा भएको छ भने सबैभन्दा कम सोलुखुम्बुमा रहेको स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।
स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका अनुसार झापामा सबैभन्दा बढी ७५ प्रतिशत अर्थात् ७ लाख ३८ हजार ६ सय ७८ जनाले स्वास्थ्य बीमा गराएका छन् । त्यसैगरी दोस्रोमा सुनसरी र तेस्रोमा मोरङ जिल्लामा बिमित बढी देखिएका छन् ।
सुनसरीमा कूल जनसड्ख्याको ६१ प्रतिशत अर्थात् ६ लाख ६० हजार ५ सय ३५ बिमित रहेका छन् भने मोरङमा कूल जनसंख्याको ५० प्रतिशत अर्थात् ५ लाख ७२ हजार ८ सय ५५ जना स्वास्थ्य बीमा सेवामा आबद्ध भएका छन् ।
त्यस्तैगरी सबैभन्दा कम स्वास्थ्य बीमा गराउने जिल्लामा भने सोलुखुम्बु र ताप्लेजुङ देखिएको छ ।
सोलुखुम्बुमा कूल जनसंख्याको १३ प्रतिशत अर्थात् १२ हजार ८ सय ६५ जना मात्र स्वास्थ्य बीमा सेवामा आवद्ध भएका छन् भने ताप्लेजुङमा पनि कूल जनसंख्याको १३ प्रतिशत अर्थात् १५ हजार ७ सय १५ स्वास्थ्य बीमा सेवामा आवद्ध भएका छन् ।
स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक पण्डित प्रदेशको तराई क्षेत्रको तुलनामा पहाडी जिल्लाहरूमा स्वास्थ्य बीमाको बारेमा पर्याप्त जानकारी नभएका कारण बिमितको संख्या अपेक्षा गरिएअनुसार नभएको बताउँछन् ।
२८ प्रतिशत बिमितले नविकरण नै गरेनन्
कोशी प्रदेशमा स्वास्थ्य बीमाको नविकरण दर ७८ प्रतिशत रहेको छ । २२ प्रतिशत बिमितले भने स्वास्थ्य बीमा नविकरण गराएका छैनन् । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका संयोजक अर्जुन पण्डित नागरिकलाई बीमाको महत्वका बारेमा अझैपनि राम्रोसँग बुझाउन नसकिएको कारण स्वास्थ्य बीमाप्रतिको रूचि बढाउन नसकिएको बताउँछन् ।
कोशी प्रदेशमा नेपाल सरकारले प्रदान गर्दै आएको स्वास्थ्य बीमा सेवा लिन पाइने सेवा प्रदायक सस्था १ सय १२ रहेका छन् । निजी, सामुदायिक तथा सरकारी गरी प्रदेशका बिभिन्न जिल्लामा गरी १ सय १२ स्वास्थ्य संस्थाहरूबाट बिमितले स्वास्थ्य सेवा लिन सक्ने ब्यवस्था छ ।
प्रदेशमा ८६ वटा सरकारी अस्पताल, पाँचवटा सामुदायिक र २१ निजी अस्पताल गरी ११२ वटा सेवाको स्वास्थ्य बीमाबाट बिरामीले सेवा लिदै आएका छन् ।
स्वास्थ्य बीमा बोर्डका अनुसार स्वास्थ्य बीमाको सदस्यता लिने समयमा बिमित आफैले आफ्नो पायक पर्ने स्वास्थ्य संस्था रोज्ने ब्यवस्था रहेको छ ।
यदि आफ्नो रोजाइको स्वास्थ्य सस्थामा आपूmले लिने स्वास्थ्य सेवाको सु्बिधा नभएको अवस्थामा भने स्वास्थ्य संस्थाले अर्को बीमा सेवा उपलब्ध भएको स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने ब्यवस्था छ ।
बिमितले सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाले दिएको उपचार सम्बन्धी सिफारिसपत्रको आधारमा अर्को स्वास्थ्य संस्थाबाट उपचार सेवा लिन पाउनेछन् ।
२०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट औपचारिक रूपमा पाइलट प्रोजेक्टको रूपमा नेपाल सरकारले सुरू गरेको कार्यक्रम हो । बीमा कार्यक्रममा सहभागी हुन एक परिवारका पाँचजना सदस्यहरूले वार्षिक रूपमा ३ हजार ५ सय योगदान रकम तिर्नुपर्छ ।
परिवारमा पाँच जनाभन्दा बढी सदस्य भए प्रति सदस्य थप ७ सयको दरले थप योगदान रकम तिर्नुपर्छ । यसरी बीमाको सदस्य भइसकेपछि बिमितले वार्षिक १ लाख सम्मको उपचार सेवा पाउने ब्यवस्था छ ।
View : 121
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved