विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष मोरङ उद्योग व्यापार संघको टोलीले औद्योगिक तथा व्यावसायिक क्षेत्रले भोगिरहेका समस्याबारे जानकारी गराएको छ ।
विराटनगर आएका अर्थमन्त्री वाग्लेलाई संघका अध्यक्ष अनिलकुमार साह नेतृत्वको टोलीले स्वागत गर्दै निजी क्षेत्रका समस्या, चुनौती तथा आर्थिक गतिविधिबारे जानकारी गराएको हो ।
अध्यक्ष साहले मुलुकको समग्र आर्थिक अवस्थासँगै मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग–व्यवसायले भोगिरहेका नीतिगत तथा व्यावहारिक समस्याबारे अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
उनले नेपाली जुट निर्यातमा देखिएका अवरोध, भारतमा वस्तु निर्यात गर्दा अनिवार्यजस्तै बनेको बीआईएस प्रमाणीकरण प्रक्रियाका जटिलता तथा औद्योगिक क्षेत्रका लागि भारतसँग विद्युत् आयात–निर्यातको प्रभावकारी व्यवस्थापन हुन नसकेको बताएका थिए ।
त्यसैगरी, खुला सिमानाबाट हुने अवैध कारोबार नियन्त्रण, सीमापार व्यापार सहजीकरण तथा प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा उच्च प्राथमिकताका साथ उठाउनुपर्ने द्विपक्षीय व्यापार र पारवहनसम्बन्धी मुद्दाबारे अवगत गराएको संघका अध्यक्ष साहले बताए ।
उनले स्वदेशी उद्योगको संरक्षण र प्रवद्र्धनका साथै उद्योगी–व्यवसायीले भोगिरहेका समस्या तथा तिनको व्यावहारिक समाधान समेटिएको विस्तृत सुझावपत्र समेत अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
भेटघाटमा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।
View : 33
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved