२० वर्ष अघिसम्म हामीले गर्ने गरेका कतिपय व्यवहार र आनीबानी अहिले निकै कम भएका छन् वा पूर्ण रूपमा हराइसकेका छन्। पूर्वीय सामाजिक संस्कार तथा मेलजोललाई छाडेर बिस्तारै हामी पश्चिमा समाजको अन्धानुकरणतिर अघि बढ्दै छौँ।
यसले गर्दा एकातिर हामी आफैँमा संकुचित हुँदै छौँ भने अर्कोतिर हाम्रो शारीरिक क्रियाकलाप पनि घट्दो क्रममा छ। यसलाई समयक्रमसँगै भएको स्वाभाविक परिवर्तन मान्ने वा हाम्रो आफ्नै सुविधाभोगी तथा एकलकाटे आनीबानीको परिणाम मान्ने भन्नेमा आ–आफ्नो धारणा फरक हुन सक्छ। यहाँ हाम्रा केही परिवर्तित शारीरिक तथा सामाजिक आनीबानीका बारेमा चर्चा गरिएको छ:
पहिले किताब र कापीको प्रयोग बाल्यकालदेखि वृद्धावस्थासम्म—विद्यार्थीदेखि शिक्षक, कारिन्दादेखि प्रशासक र साहित्यकारदेखि व्यवसायीसम्म सबैले गर्थे। पठन संस्कृतिको अभिन्न अंगका रूपमा किताब, पत्रपत्रिका र साहित्य रहेका हुन्थे। टिपोटका लागि कापी वा डायरी अनिवार्य मानिन्थ्यो।
हिजोआज मोबाइल, ट्याब्लेट र डिजिटल स्क्रिनको प्रयोग बढ्दो छ। लेख्नका लागि कापी मात्र होइन, टाइप गर्न औँला पनि नचाहिने अवस्था आएको छ—केवल 'भ्वाइस कमान्ड' (मौखिक आदेश) का भरमा काम चल्न थालेको छ।
कुनै समय पुस्तकालय जानु र घण्टौँसम्म पत्रपत्रिका पढ्नु हाम्रो नियमितता हुन्थ्यो। हिजोआज सहरमा पुस्तकालयहरू हराउँदै गएका छन्।
यसले गर्दा मानिसमा लेखपढ गर्ने आदत मात्र घटेको छैन, पढेका कुरा स्मृतिबाट चाँडो हराउन थालेका छन्। नयाँ पुस्तामा शब्दभण्डारको कमी देखिन थालेको छ, जसका कारण उनीहरू आफ्नो भावना खुलेर व्यक्त गर्न असमर्थ हुँदै छन्।
यसले व्यक्तिगत कुण्ठा र मनोसामाजिक समस्या बढाउनुका साथै आपसी असमझदारी र द्वन्द्वसमेत निम्त्याएको छ। स्वस्थ जीवनशैली र मानसिक विकासका लागि नियमित पढ्ने र लेख्ने बानीको निरन्तरता अत्यन्त आवश्यक छ।
दुई दशक अघिसम्म बालबालिकाको बिदा मनाउने मुख्य ठाउँ मामाघर वा आफन्तको घर हुन्थ्यो। बिहे, व्रतबन्ध वा अन्य चाडपर्वमा आफन्तकोमा गएर केही दिन बस्नु सामान्य मानिन्थ्यो। हिजोआज घरमा पाहुना आउँदा 'कहिले जालान्' भन्ने चिन्ताले घरमुलीलाई सताउन थाल्छ। पाहुना पनि आउँदा र बसुन्जेल मोबाइलमै व्यस्त रहन्छन्।
'अतिथि देवो भवः' भन्ने हाम्रो समाज अहिले होटल र पार्टी प्यालेसको दुई–चार घण्टे खानपिनमै सीमित हुन थालेको छ। घरमा पाहुनालाई सत्कार गर्नु र अरूको घरमा गएर बस्नु अहिले धेरैका लागि झन्झटिलो विषय बनेको छ।
घर–आँगन पक्की बनाउने र चारैतिर पर्खाल लगाउने चलनले केटाकेटीका लागि खेल्ने ठाउँको अभाव भएको छ।
पहिले गाउँघरमा ठूला र जोडिएका आँगन हुन्थे, जहाँ टोलका सबै बालबालिका मिलेर खेल्थे। यसले उनीहरूको शारीरिक र सामाजिक विकासमा मद्दत पुग्थ्यो। आज केटाकेटी घरको सीमित घेराभित्र खुम्चिएका छन्। सहरमा त छिमेकीले छिमेकीलाई नचिन्ने अवस्था छ। यसले गर्दा सामाजिक अन्तरक्रिया शून्यप्रायः भएको छ।
फ्रिज, वासिङ मेसिन र मिक्सर जस्ता विद्युतीय उपकरणले समय त बचाएका छन्, तर हाम्रो शारीरिक श्रम ह्वात्तै घटाएका छन्।
सिलौटोमा मसला पिस्नु वा ढिकी–जाँतो चलाउनु त अब एकादेशको कथा भइसक्यो। थोरै दुरीमा पनि हिँड्नुको साटो सवारीसाधन प्रयोग गर्ने बानीले हाम्रो शरीर निष्क्रिय बन्दै गएको छ। हिँड्ने र श्रम गर्ने बानी हराएपछि अहिले मानिसहरू पसिना निकाल्न महँगो शुल्क तिरेर जिम वा जुम्बा जान बाध्य छन्।
परम्परागत चर्पी छाडेर हामीले 'कमोड' प्रयोग गर्न थाल्यौँ। कमोडमा मोबाइल चलाउँदै घण्टौँ बस्ने बानीले कब्जियत र पाइल्स जस्ता अनेक स्वास्थ्य समस्या निम्त्याइरहेको छ। कमोडको अत्यधिक प्रयोगले अहिले धेरै मानिसलाई टुक्रुक्क बस्न समेत गाह्रो हुने अवस्था आएको छ।
माटो र दुबो भएका आँगन हराएर अहिले सिमेन्ट र मार्बलले भरिएका छन्। यसले गर्मीमा कोठा अत्यधिक ताप्ने र जाडोमा चिसिने समस्या बढाएको छ। एयरकन्डिसनको प्रयोगले बिजुली खर्च मात्र बढाएको छैन, बाहिर र भित्रको तापक्रमको असन्तुलनले शरीरलाई रोगी बनाइरहेको छ। साथै, जमिन पक्की हुँदा आकाशको पानी पुनर्भरण हुन पाएको छैन, जसले गर्दा प्रत्येक वर्ष भूमिगत जलस्तर घट्दै गएको छ।
अहिले करियर र विदेश सेटल हुने नाममा विवाह गर्ने उमेर धेरै घर्किसकेको हुन्छ। ढिलो विवाह गर्दा प्राकृतिक रूपमा गर्भधारण गर्न कठिन भइरहेको छ।
कोशी प्रदेशमा मात्रै गत आर्थिक वर्षमा १६ हजार ५ सय ५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ्क छ। एकातिर गर्भपतन गर्ने र अर्कोतिर सन्तानका लागि 'आईभीएफ' (IVF) वा 'फर्टिलिटी सेन्टर' धाउने विरोधाभासपूर्ण अवस्था समाजमा देखिन्छ।
ढिलो सन्तान जन्माउँदा अभिभावक र छोराछोरीको उमेरमा ठुलो अन्तर हुन्छ। आमाबाबु बुढो हुँदै जाँदा छोराछोरी साना हुन्छन्, जसले गर्दा उनीहरूको पालनपोषण र खेलकुदमा अभिभावकले सक्रियता देखाउन सक्दैनन्।
यसले बालबालिकामा एक्लोपन र अटिजम जस्ता समस्या निम्त्याउने जोखिम पनि उत्तिकै रहन्छ।
समग्रमा भन्नु पर्दा पुरानै शैलीमा फर्कन सम्भव नहोला, तर समय र परिवेश बुझेर आफ्नो आनीबानीमा सुधार ल्याउनु जरुरी छ। आधुनिकताको नाममा शारीरिक सक्रियता र सामाजिक मेलजोललाई बिर्सनु हुँदैन। हामीले अपनाउने आजका व्यवहारले नै हाम्रो र आगामी पुस्ताको भविष्य निर्धारण गर्नेछ। बाँकी यहाँकै मर्जी !
View : 251
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved