Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रिय सभा निर्वाचन: एमालेबाट कोशीमा आकांक्षीहरुको नाम सिफारिस ‘परिस्थिति हेरेर’

उद्घोष सम्वाददाता
१९ पुष २०८०, बिहिवार

विराटनगर । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा अझै पनि आकांक्षीहरूको नाम सिफारिस गर्न सकेको छैन । सत्ता गठबन्धन मध्येको ठूलो दल नेपाली कांग्रेसले ६३ जनाको नाम प्राथमिकतासहित सिफारिस गरिसक्दा एमालेले भने अनुकूल परिस्थिति पर्खिइरहेको जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति भएर उम्मेदवार टुंगिने परिस्थिति बन्दै गए एमालेलाई कोशी प्रदेशमा निर्वाचन लड्न कठिन हुनेछ । त्यही भएर एमालेले सम्भावित नामहरूमाथिको छलफल गोप्य राख्दै आएको छ ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले बिहीबार बिहानमात्रै नाम टुंगो लगाएर पार्टी केन्द्रीय कमिटीलाई जानकारी गराउने बताएका छन् । उनले परिस्थितिजन्य विषयहरू जोडिएका कारण नामहरूमाथिको छलफल चलिरहेको बताए । 

तर प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले भने बुधबार नै नाम सिफारिस भएको जानकारी दिए । उनले प्राथमिकतामा राखेर ६ जनाको नाम सिफारिस भएको बताउँदै ती नामहरू भने गोप्य राखिएको समेत बताए ।

‘केन्द्रीय कमिटीमा अन्य र महिलातर्फ ३/३ जनाको नाम सिफारिस भएको छ’ उनले भने, ‘पार्टीको प्रदेश कमिटीका पदाधिकारीसहित नेताहरू बसी नाम वर्गीकरण गरेर प्राथमिकतामा राखेर पठाइएको छ, अब केन्द्रले टुंग्याउने विषय हो ।’
कोशी प्रदेशमा राष्ट्रिय निर्वाचनका लागि १२ वटा राजनीतिक दलहरू दर्ता भएका छन् । ती दलहरूबाट प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने छन् । 

कोशी प्रदेशमा अन्य समूह र महिला समूहमा दुई जना सदस्यका लागि मतदान हुनेछ । प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख/उपप्रमुख २७४ गरी ३६७ जनाले मतदाता गर्ने जनाइएको छ । प्रदेशसभा सदस्यको मतभार ५३ रहेको छ । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ छ ।

प्रदेशसभा गठबन्धनमा रहेका दलका प्रदेशसभा सदस्यहरूको मतभार २ हजार ४९१ छ । एमाले एक्लैको मतभार २ हजार १२० रहेको छ । कोशीमा सभामुख लिएर सत्ता गठबन्धनमा मिसिने दाबी गरिए पनि ६ सांसद रहेको राप्रपाको ठोस निर्णय आएको छैन । अहिलेसम्म एमालेसँगै प्रतिपक्षमा कार्यगत एकता गरिरहेको राप्रपाको मतभार ३१८ रहेको छ ।

स्थानीय तहतर्फ कुल मतभार ५ हजार २०६ रहेको छ । कोशी प्रदेशमा नेपाली कांग्रेसका प्रमुख /उपप्रमुख गरी ११३ जना रहेका छन् । एमालेको ११२, माओवादी केन्द्रको ३१, नेकपा एकीकृत समाजवादीको ७, जनता समाजवादी र राप्रपाको समान ४–४ र स्वतन्त्र ३ जना प्रमुख/उपप्रमुख छन् ।

यो संख्याअनुसार कोशीमा स्थानीयतर्फ कांग्रेसको २ हजार १४७, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मत भार हुनेछ ।

एमालेको प्रदेश र स्थानीयमा कुल ४ हजार २४८ मतभार हुनेछ । कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिने विषयमा प्रदेशमा कायम रहेको गठबन्धनमा कुनै असहज अवस्था नआए गठबन्धनकै मतभार बलियो देखिन्छ । एमालेलाई आफ्नो तर्फबाट राष्ट्रिय सभामा सकेसम्म सर्वस्वीकार्य व्यक्तिको नाम सिफारिस गर्नुपर्ने चुनौती थपिएको छ । सोही कारण एमाले गठबन्धन तर्फबाट उम्मेदवारहरू सार्वजनिक भएपछि मात्रै आफ्ना उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने रणनीतिसहित ‘उपयुक्त परिस्थिति’ को पखाइमा देखिन्छ ।

View : 164

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved