विराटनगर । ताप्लेजुङ घटनापछि उत्पन्न हुनसक्ने सम्भावित थप घटनालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ ।
प्रदेश सरकारले गठन गरेको वार्ता समितिका संयोजक एवं आर्थिक मामिला तथा योजनामन्त्री राम बहादुर मगर नेतृत्वको सरकारी वार्ता समितिको मंगलबार बसेके बैठकले आन्दोलनरत समुहहरुसँग वार्ताका लागि आह्वान गरेको हो ।
समितिको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको मन्त्री मगरले बताए । केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
समस्या समाधानका लागि वार्तामा बस्न आग्रह गर्दै औपचारिक रुपमा वार्ताको आव्हान गरेको जनाइएको छ । ताप्लेजुङको पवित्र धार्मिक तिर्थस्थल पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडी बढेको विरोधमा त्यहाँका विभिन्न राजनीतिक दल निकट रहेका समुहहरुले आन्दोलन गर्दै आएका छन् ।
वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको वार्ता समितिका सदस्य एवं कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
२०८० मंसिर २४ गते गठित मन्त्री मगरको संयोजकत्वमा रहेको सरकारी वार्ता समितिमा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई समेत सदस्य छन् ।
"असन्तुष्ट पक्षहरुसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रुपमा वार्ताको लागि आव्हान गर्दछ" समितिले मंगलबारको बैठकमा गरेको निर्णयमा उल्लेख छ ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved