विराटनगर । हिजोआज विराटनगरको बजारमा अत्यधिक देखिने चामलको नाम हो ‘धनलक्ष्मी’ र ‘गणेशलक्ष्मी’ । यो चामलको बोरामा कुनैमा २५ र कुनैमा २६ किलो वजन लेखिएको छ । फरक वजन भएका दुई खाले बोरा नेपाल र भारतका हुन् । २६ किलोको बोरा सबै भन्सार छली गरेर नेपाल ल्याइन्छ ।
यो एउटा ब्राण्ड नेपाल र भारत दुबै तर्फको भए पनि अन्य धेरै नामका चामल तस्करी गरेर सीमावर्ति भारतीय बजारबाट नेपालमा ल्याइन्छ । जोगवनी बजार गएर विराटनगर आउने आधासरो मानिसका साइकल र मोटरसाइकलको पछाडि चामलका बोरा हुन्छन् । ब्यावसायिक प्रयोजन र घरको प्रयोगका लागि चामल बोक्ने दुई थरी मानिस छन् ।
ब्यवसायका लागि चामल ल्याउनेलाई प्रहरीले परैबाट चिन्ने भएकाले सीमामा प्रतिबोरा ५० रुपैंयाँ सुरक्षाकर्मीले लिने गरेको ब्यवसायीको भनाइ छ । घरको प्रयोगका लागि ल्याउने उपभोक्ताले बोरा खोलेर मात्रै ल्याउन पाउँछन् । नखोलेको बोरालाई सुरक्षाकर्मीले रोक लगाउँछ । ‘५० रुपैंयाँ नतिर्नेलाई बोरा खोलेर ल्याउन लगाइन्छ’ सीमावर्ति विराटनगरका एक उपभोक्ताले भने ।
२६ किलोको चामलको बोरामा जात अनुसार नेपाल र भारतमा ३ सयदेखि ८ सय रुपैंयाँसम्म मूल्यमा फरक भएकाले उपभाक्ता पनि चामल लिन भारतीय बजार जाने गरेका छन् । नेपालमा ५ का दरले गुणा हुने गरी मात्रै चामलका बोराको प्याकेजिङ गर्न पाइने कानुनी प्रावधान छ । तर, भारतमा २५ किलोसम्मको बोरामा बढी कर लाग्न भएकाले २६ किलो तौलको बोरामा चामल हालिन्छ ।
नेपालको कानुनमा २५ किलो हुनु पर्नेमा २६ किलो तौलको चामल बिक्री भई रहेपनि सम्बन्धित निकायले बजार अनुगमन र कारवाही गर्न सकेको छैन । भान्साका लागि अति आवश्यक चामल र दाल दुबैमा खुल्ला सीमानाका कारण नेपाली ब्यवसायीले समस्या भोग्दै आएका छन् । चामल भारतबाट र दाल तेस्रो मुलुकहरुबाट नेपालले आयात गर्छ ।
धनलक्ष्मी र गणेशलक्ष्मी चामल उत्पादन गर्दै आएको सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योग विराटनगरका सञ्चालक राजेशकुमार अग्रवाल नेपाल सरकारलाई कर तिरेर गरिएको ब्यापारमा भारतमा त्यही नाममा भएको उत्पादनले गम्भीर असर परेको बताउँछन् । उनले एकै नामको ब्राण्डमा दुई थरी वजन र मूल्य भएकाले पनि उपभोक्ताले चोरीको र वैध कुन हो भनेर छुट्याउन नसकेको हुन सक्ने बताए ।
‘चोरी तस्करीबाट २६ किलोको बोरा आउँछ, नेपाल सरकारलाई आम्दानी हुनु अगावै आम्दानी कर तिरेको २५ किलोको बोरा हो’ अग्रवालले भने । अग्रवालको कुरा सुन्दा सामान्य लाग्छ तर, यो गम्भीर विषय हो । कुनै बेला भारतलाई चामल निर्यात गर्ने नेपाल अहिले त्यहाँको उत्पादनमा निर्भर हुन बाध्य छ । दालमा पनि आत्मनिर्भर रहँदै आएको नेपाल अहिले तेस्रो मुलुकबाट आयात गर्छ ।
धान चामल ब्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य श्रवण अग्रवालका अनुसार भारतलाई २० प्रतिशत र नेपाललाई ५ प्रतिशत कर बुझाएर ल्याइने चामलमा नेपालमा थप साढे दुई प्रतिशत अग्रिम आयकर तिरेर आयत गरिन्छ । ‘जनशक्ति नभएर नेपालका खेत बाँझो छ, युवा विदेशमा कृषि उत्पादनमै काम गर्न जान्छन्’ अग्रवालले भने ।
नेपालमा चामल भारतबाट आयात हुन्छ भनें दाल भारतसहित तेस्रो मुलुकबाट आयात हुने गरेको छ । ब्यवसायीले दाल आयातमा ठूलो लगानी गरेर नेपाली उपभोक्ताको भान्साको आवश्यक्ता पूरा गर्दै आएका छन् । दाल आयातमा नेपाल सरकारले थप १० प्रतिशत कर लगाएको छ । अस्ट्रेलिया, बर्मा, दक्षिण अफ्रिका, क्यानाडालगायतका देशबाट दाल नेपालमा आयात हुने गर्छ ।
ठूलो जोखिममा लगानी गरेका ब्यवसायीलाई भारतबाट चोरबाटो हुँदै आउने दाल र चालमले पनि गम्भीर असर पारेको छ । नेपालीका हरेक भान्सामा पाक्ने ‘भारतबाट कर नतिरी ल्याइने’ दाल र चालमको मूल्य जोड्ने हो भनें देशलाई ठूलै आवश्यक्ता पूरा गर्ने कर संकलन हुन सक्थ्यो । सीमावर्ति बजारमा आश्रित हुन नेपालीलाई छुट दिने सरकारको अघोषित निजीले देशको समग्रा आयलाई कम्जोर बनाएको उद्योगी ब्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अबिनाश बोहराका अनुसार भारतबाट चोरी पैठारी हुने चामलका कारण नेपालका ६० प्रतिशत उद्योग बन्द सरह छन् । चलेका उद्योग पनि तस्करीकै कारण घाटा बेहोरिरहेका छन् । उद्योगहरु क्षमता अनुसार चल्न पाए युवाले रोजगारी पाउने र सरकारले पनि सोही अनुसार कर लिन पाउने अवस्था आउँछ ।
‘४० प्रतिशत चामल उद्योग चलेका छन् भनें बाँकी बन्द सरह छन् । घाटामा भए पनि चलाउनु पर्ने बाध्यता छ’ उनले भने–‘नेपालको उत्पादन लागत बढी छ ।’ भारतले चामलमा बेलाबेलामा कोटा सिस्टम लगाउने भएकाले पनि उद्योग सञ्चालनमा असर परेको उनको भनाइ छ । आयात प्रणालीमा अबैध हुँदै गएकाले देशको राजश्वमा नसोचेको असर परेको जानकारी दिंदै उनले यस्ता विषयमा सरकार निर्मम पनि हुन सक्नुपर्ने सुझाव दिए ।
View : 162
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved