Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रतिनिधि सभामा दुई पटक हारेका सिटौला पुगे राष्ट्रिय सभामा, एमालेकी रुकमिणीले निकालिन् देशभरिबाटै सान्त्वना जित

बाबुराम भण्डारी
११ माघ २०८०, बिहिवार

Advertisement

विराटनगर, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा आठ सिट गुमाउने निश्चित जस्तै भएको एमालेले कोशी प्रदेशबाट एक सिटको सान्त्वना जित निकालेको छ । कोशीमा एमालेले गठबन्धनको क्लिनस्वीप रोक्न सफल भएको छ । महिलातर्फ एमालेकी रुकमिणी कोइराला राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी छन् । अन्यतर्फ भने कांग्रेसका कृष्णप्रसाद सिटौला निर्वाचित भएका हुन् । उनी पछिल्लो पटक प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक पराजित हुँदै राष्ट्रिय सभा सदस्य बन्न सफल भएका हुन् ।

कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा अन्तिममा बनेको एमाले–राप्रपाबीचको गठबन्धनको फाइदा एमालेलाई प्राप्त भएको छ । तर राप्रपाबाट अन्यतर्फका उम्मेदवार उद्वव पौडेल कांग्रेसका सिटौलासँग पराजित भएका छन् ।

यो निर्वाचनको मतपरिणामले दुवै गठबन्धनभित्र घात अन्तरघात भएको पनि स्पष्ट देखाएको छ । महिलातर्फ एमालेकी कोइरालालाई सत्ता गठबन्धनभित्रका तीन सांसद र स्थानीय तहका १८ प्रमुख उपप्रमुखको मत प्राप्त भएको छ । ४७ प्रदेश सांसद रहेको गठबन्धनबाट माओवादीकी चम्पादेवी कार्कीले ४४ मत मात्रै प्राप्त गरिन् । गठबन्धनका तीन सांसदले फ्लोर क्रस गर्दै एमालेकी कोइरालालाई मत दिएर उनको विजयका लागि आधार तयार पारिदिए ।

गठबन्धनकी उम्मेदवार कार्कीलाई पराजित गर्दै ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बन्न सफल भएकी कोइरालाले आफ्नो समय महिलाका मुद्दाहरूमा केन्द्रित हुने बताइन् । एमालेमा मजदुर फाँटबाट राजनीतिक यात्रा अघि बढाउँदै आएकी कोइराला एमाले कोशी प्रदेश कमिटीको सल्लाहकार सदस्य हुन् । घेरै कुरा राष्ट्रिय सभामै गएपछि तय हुने उनले बताइन् ।

ग्रासरुट राजनीतिबाट राष्ट्रिय सभासम्म पुग्न सफल भएकी उनले भनिन्, ‘सोचेर, बुझेर, परिस्थितिलाई हेरेर राष्ट्रिय सभामा भूमिका खेल्छु, विशेषगरी पार्टीभित्र महिला र मजदुर आन्दोलनबाट आएकोले यी क्षेत्रका मुद्दाहरूमा काम गर्नेछु ।’

कोशी प्रदेशमा गठबन्धन गरेको एमाले–राप्रपासँग ४० र ६ गरी ४६ सांसदमात्रै रहेका थिए । माओवादीकी कार्कीलाई सत्ता गठबन्धनकै तीन सांसदहरूले मत दिएनन् । स्थानीय तहतर्फ कोइरालाले १३१ मत पाइन् । उनी कुल ५ हजार ८६ मतभार प्राप्त गर्दै विजयी भइन् भने माओवादीकी कार्कीले ४ हजार ९९२ मत मात्रै प्राप्त गरिन् । उनले स्थानीय तह तर्फबाट १४० मत प्राप्त गरेकी थिइन् ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १९ रहेको थियो । 

९३ सदस्यीय कोशी प्रदेश सभाका सत् प्रतिशत सांसदले मतदान गरेका थिए । स्थानीय तहतर्फ २७४ मध्ये २७१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमध्ये एमालेको स्थानीय तहतर्फ १११ र राप्रपाको ४ गरी ११५ मतमात्रै प्राप्त हुनुपर्ने थियो । तर कोइरालालाई सत्ता गठबन्धनबाट थप १६ जनाको मत आउँदा जित सहज बनेको हो ।

अन्यतर्फ कांग्रेसका पूर्व महामन्त्री सिटौला निर्वाचित भए पनि गठबन्धनका प्रदेश सांसदको सत् प्रतिशत भोट उनले पाउन सकेनन् । सत्ता गठबन्धनका ४७ सांसदमध्ये सिटौलालाई ४५ भोट (२३८५ मतभार) मात्रै प्राप्त भएको छ । यद्यपि यो जितसँगै सिटौला संसदीय राजनीतिको पुरानो यात्रालाई राष्ट्रिय सभामार्फत अर्को कोर्षमा अघि बढाउन सफल बने ।

सिटौला माओवादीको जनयुद्धलाई शान्ति प्रक्रियामार्फत टुंग्याउन भूमिका खेल्ने व्यक्तिका रुपमा चिनिन्छन् । पार्टी र सत्ताभित्र झण्डै एक दशकदेशि शक्ति आर्जनको प्रयासमा रहेको उनी प्रतिनिधि सभामा दुई पटकको हारलाई बिर्सिएर राष्ट्रिय सभा सदस्य हुँदै राष्ट्रिय सभा अध्यक्ष बन्ने यात्रामा अघि बढ्ने छन् । बिहीबार राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि सिटौलाले भने, ‘राष्ट्रिय सभामा रहेर संविधानको मर्म जोगाउनु मेरो जिम्मेवारी हुनेछ ।’

यता एमालेसँग राजनीतिक सहकार्य गरेको राप्रपाका पौडेलले सत्ता गठबन्धनबाट थप दुई सांसदको भोट पनि पाए । एमालेले सुरुमा अन्यतर्फ उम्मेदवार बनाएका पर्शुराम अधिकारीको उम्मेदवारी एमाले–राप्रपा गठबन्धन बनेपछि निस्कृय पारिएको थियो । राप्रपासँग सहकार्य हुनुअघि नै एमालेबाट उम्मेदवार बनेका अधिकारीलाई भने राप्रपा नरुचाउने एमालेभित्रकै केहीले मतदान गरेका छन् । अधिकारीलाई स्थानीय तहबाट ४ मत प्राप्त भयो । उनले कुल १२९ मतभार प्राप्त गरे । 

सिटौलाले स्थानीय तहतर्फ १५३ मत (२९०७ मतभार) प्राप्त गरेका छन् । उनी कुल ५ हजार २९२ मतभार पाउँदै निर्वाचित भएको घोषित भए । राप्रपाका पौडेलले स्थानीय तहतर्फ भने एमालेसँगको गठबन्धनबाट सबै भोट पाउन सकेनन् । उनले एमाले–राप्रपाको स्थानीय तहतर्फको ११५ मत मध्ये १०९ अर्थात २०७१ मतभार मात्रै प्राप्त गरेका हुन् ।

अन्यतर्फ भएको मतगणनामा स्थानीय तहको ५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

View : 144

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved