विराटनगर । सरकारी ब्यानरमा हुने धेरैजसो कार्यक्रममा ढिलो पुग्ने कार्यालय प्रमुख र कर्मचारीहरू बिहीबार विराटनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रियामा ठिक समयमा पुगे ।
त्यहाँ कर्मचारीमात्रै होइन, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीदेखि अधिकांश मन्त्रीहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, उच्च पदस्थ कर्मचारी, शिक्षक, सुरक्षा निकायका प्रमुखहरू पनि उद्योग संगठन मोरङको माथिल्लो तलामा आयोजित कार्यक्रममा समयमै पुगे । आयोगको आयोजनामा बिहीबार बिहान साढे ११ बजे कार्यक्रम निर्धारित थियो ।
उक्त समयमा सभाहल कर्मचारीहरूको ठुलो जमातले भरिइसकेको थियो । ‘भ्रष्ट्राचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया’ नाम दिइएको कार्यक्रममा आयोगको चाहनाअनुसारकै सहभागीहरूको समयमै उपस्थिति थियो ।
भ्रष्ट्राचारहरूलाई कहिले सानो माछा त कहिले ठुलो माछाका नामबाट भ्रष्ट्राचारीहरूलाई नियन्त्रणमा लिने तथा भ्रष्ट्राचारका विभिन्न कसुरमा अभियोजन गर्ने काम गर्दै आएको अख्तियार र उसैको ब्यानरमा आयोजित कार्यक्रममा ‘निलोकोटे’ कर्मचारीको बाक्लो उपस्थितिलाई अनेकौ अर्थ लगाउने अवस्था देखिथ्यो ।
तर आयोगका आयुक्तदेखि माथिल्लो तहका कर्मचारीहरूले भने उक्त कार्यक्रमलाई सरकारी ढर्राको निकै पुरानो खाकामा अघि बढाए । अधिकृत र सो भन्दा माथिल्लो तहका कर्मचारीलाई अख्तियारको स्थापनादेखि भ्रष्ट्राचार निवारण ऐन, उजुरीको तरिका, छानबिन र अनुसन्धानको अवधि लगायतका अनेकौ विषयमा प्रवचनमुलक प्रस्तुतिकरण गरिंदा उनीहरूले पट्यारलाग्दो बसाइको महसुस गरे ।
सेवा प्रवाह गर्नुपर्ने मुख्य समयमै कार्यालय छोडेर कार्यालय प्रमुखहरू अख्तियारको कार्यक्रममा तीन घण्टा बढी समय बसेका थिए ।
उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्याधिवक्ता गंगाप्रसाद पौडेल र आयोगको कार्यालय इटहरीका कार्यालय प्रमुख सहसचिव सुरेश न्यौपानेले दुई घण्टा लामो प्रस्तुतिकरण गरेका थिए
प्रस्तुतिकरणले पट्यारलाग्दो बनेको अन्तरक्रिया कार्यक्रममा अन्तरक्रियाकै लागि भने छोटो समय छुट्याइएको थियो । अन्तरक्रियामा केही कर्मचारीहरू भने ‘के–के गरे भ्रष्टाचार गरेको ठहर्छ ?’ भन्ने जस्ता प्रश्नमा अल्झिइरहेका थिए ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अख्तियारलाई सबैको सहयोगी निकायका रुपमा बुझ्नुपर्ने बताए ।
उनले संविधानको परिकल्पनाअनुसारको संवैधानिक निकाय भएका कारण नियन्त्रण एवम् सन्तुलन कायम गर्ने संवैधानिक अधिकारयुक्त निकाय अख्तियार भएको बताए ।
मुख्यमन्त्री कार्कीले सबैको हातेमालोबाट मात्रै सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए । उनले कानूनको परिपालना सबैले गर्नुपर्ने पनि बताए ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले भ्रष्टाचार नियन्त्रणका लागि कोशी प्रदेश सरकारको तर्फबाट पर्याप्त कार्य तथा प्रयासहरू भइरहेको बताए । शर्माले सुशासन प्रवद्र्धन एवं भ्रष्ट्राचार नियन्त्रणका लागि कर्मचारीले नियम कानूनको परिधिभित्र रहेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी, खानेपानी सिंचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, राज्यमन्त्री सिर्जना राई, नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो लगायतको उपस्थिति रहेको थियो । आयुक्त पौडेलले भने भ्रष्टाचारका उजुरीहरूको क्षेत्रका विषयमा चर्चा गरेका थिए ।
View : 106
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved