Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

राष्ट्रिय सभा निर्वाचनको परिणामप्रति उद्धव थापाको टिप्पणी

‘कांग्रेसका पाँच सांसद र १३ प्रमुख उपप्रमुखले भोट हालेनन्, एमालेको भोटले जिताउनु पर्यो’

बाबुराम भण्डारी
२४ फागुन २०८०, बिहिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिका अध्यक्ष एवं प्रदेश संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशमा कांग्रेसका नेता कार्यकर्ताहरूमा अनुशासन नभएको दाबी गरेका छन् । अनुशासनहीनता बढेका कारण पछिल्लो पटक राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस उम्मेदवार कृष्ण प्रसाद सिटौलाले एमालेको मतबाट निर्वाचित भएको थापाले बताएका हुन् ।

बिहीबार नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ४ ले विराटनगरस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नेपाली कांग्रेस र अबको बाटो’ विषयक साक्षातकार कार्यक्रममा बोल्दै थापाले पार्टीभित्र अनुशासन कायम गर्नुपर्ने समय आएको बताए ।
उनले कांग्रेसका प्रदेश सांसद र स्थानीय तहका प्रमुखहरूले नै राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका उम्मेदवार भोट नदिएको बताएका हुन् ।

‘पार्टीमा अनुशासन खोइ ? अनुशासन कायम गर्ने कि नगर्ने ? अनुशासन तोड्नेलाई कारवाही गर्नुपर्यो, यही कोशी प्रदेशमा अघिल्लो पटक दुईजना माननीयले नै कांग्रेसमा भोट हालेनन्, भागेका छन्’ थापाले भने, ‘भर्खरै भएको राष्ट्रिय सभा निर्वाचनमा पनि पाँचजना हाम्रा माननीयले अनुशासन तोडेका छन्, गठबन्धनलाई ल दिएनन् रे, तर पार्टीको उम्मेदवारलाई पनि भोट दिएका छैनन्, १३ जना स्थानीय तहका अध्यक्ष– उपाध्यक्ष मेयर– उपमेयर, पाँचजना प्रदेश सांसदले हामीलाई मत दिएका छैनन्, यति ठुलो अनुशासनहीनता पार्टीभित्र हुँदा पनि हामी खोजी गर्दैनौँ ।’ 

थापाले राष्ट्रिय सभाको अघिल्लो निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार गोपाल बस्नेतले पाँच सय बढि मतभारले जित्ने अवस्थामा गोला तानेर जित्नु परेको बताए । थापाले भने– ‘त्यतिबेला हाम्रो इज्जत कहाँ गयो ? त्यतिबेला पनि हाम्रा माननीयहरूले, जनप्रतिनिधिहरूले बेमानी गरेका छन् ।’

यस्तै अवस्था कायम रहे २०८४ को चुनावमा एक्लै बहुमत ल्याउने नेताहरूको भनाई पुरा नहुने बरु, राष्ट्रिय सभादेखि प्रदेश सभा र स्थानीय तहसम्मै चुनाव जित्न अप्ठ्यारो पर्ने बताए ।

‘बेइमानी जसले गर्छ, मुख हेर्ने कुरा हुँदैन, कारवाही गर्नुपर्छ, पहिलो पटक नै पार्टीले स्पष्टीकरण सोधिदिएको थियो भने दोस्रो पटक गोपाल बस्नेतले गोला तान्नु पर्दैन थियो’ उनले भने, ‘अस्ति त कृष्ण सिटौलालाई एमालेले भोट हालिदिए, गणतन्त्रवादी र राजतन्त्रवादीहरूको नारा चल्यो, एमाले पनि गणतन्त्रवादी भएकोले गणतन्त्र पक्षधरले भोट हालिदिए, स्थानीय तहमा हाम्रो १३ वटा मत आएको छैन, पाँचवटा प्रदेश माननीयले मत दिएको छैन, उता एमालेको मान्छेहरूले भोट हालेर राष्ट्रिय सभामा सदस्य जित्नु पर्यो, यो रोग कोशी प्रदेशमा पसिसकेको छ, निदान नगर्ने हो भने कांग्रेस अगाडि बढ्न सक्दैन ।’

प्रदेश सभापति थापाले पार्टीभित्र कार्यकर्ताको मूल्यांकनको प्रणाली नहुँदा नेताहरूलाई पैसा दिएर टिकट लिने क्रम सुरु भएको आरोप लगाए । उनले सबै नेता कार्यकर्ताहरूको कामको अभिलेख पार्टीले राख्नुपर्ने सुझाव दिए ।
‘कसको मूल्यांकन के भन्ने हुनुपर्छ, कसले दुःख गरेको भन्ने छैन, अलिकति पैसा जहाँ दिन्छ त्यहाँ उम्मेदवार बनेर आउँछन्, यहाँ त इतिहासको कुरा पनि हराइसकेको छ’ थापाले भने, ‘हुने खाने पैसावालाको हातमा पार्टी गइसक्यो, दुख गरेर बस्नेहरू रोएर बसिरहेको अवस्था छ ।’

थापाले कांग्रेस अब बाठो भएर अघि बढ्नुपर्ने बताए । तर अहिले कांग्रेसका अधिकांश भातृ संस्थाहरूले काम नगरेको उनको आरोप थियो । भातृ तथा शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरूले बोल्न पाइएन भन्दै झगडामा लाग्नुको साटो आफ्नो ठाउँमा गएर पार्टीको काम गर्नुपर्ने सुझाव दिए । 

थापाले काठमाडौंमा नेता आएर विराटनगरको पार्टी कार्यालयमा भाषण गरेर मात्रै कांग्रेस बलियो नहुने धारणा राखेका थिए ।

View : 204

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved