पूर्वमा शक्तिशाली भूकम्पको धक्का
विराटनगर । पछिल्ला केही समयदेखि पश्चिम नेपालमा खुसुखुसु गइरहेको भूकम्पले ठूलो भूकम्पीय जोखिमको संकेत दिइरहेका बेला मंगलबार बिहानै पूर्वदेखि पश्चिम नेपालसम्मै हल्लाउने शक्तिशाली भुइँचालो गएको छ ।
यसपटकको भूकम्पको केन्द्र तिब्बतको सिगात्से सहर नजिकै थियो । ७.१ म्याग्निच्यूडको शक्तिशाली भुइँचालोको केन्द्र नेपाल–तिब्बत सीमा नजिकै भएका कारण कोशीका हिमाली तथा पहाडी जिल्लाहरूमा ठूलो धक्का महसुस भएको थियो ।
पहाडी तथा तराईका जिल्लासहित मध्य नेपाल अनि भारत, बंगलादेशसम्म भूकम्पको धक्का फैलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तिब्बतमा मंगलबार साँझसम्ममा ९५ जनाले ज्यान गुमाइसकेका छन् । यसपटक मानवीय क्षति हुनबाट नेपाल चाहिँ जोगिएको छ ।
भूकम्पीय जोखिमका दृष्टिले नेपालको हिमाली क्षेत्र उच्च जोखिम क्षेत्र हो भनेर विज्ञहरूले बारम्बार भन्दै आएका छन् । खासगरी पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको हिन्दूकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील रहेको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन् । उनका अनुसार नेपालमा ८ सय किलोमिटरभन्दा लामो हिमाली क्षेत्र भएकाले यस क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाइ प्रभाव यसै क्षेत्रमा पर्ने अवस्था रहेको छ ।
अधिकारीका अनुसार पृथ्वीको सतहमुनि रहेका दुईवटा प्लेटहरूले एक आपसलाई धकेलिरहेको अवस्था हिमालय क्षेत्रमा विद्यमान छ । अन्य क्षेत्रमा पनि पृथ्वीमुनिका प्लेटहरूबीच टकराव तथा छुने अवस्था बनिरहेको छ । तर, त्यो समुद्री प्लेट र जमिनको प्लेटबीच भइरहेको देखिने बताउँदै उनले थपे, ‘हिमालय क्षेत्र मात्र यस्तो क्षेत्र हो यहा“ जमिनमुनि नै रहेका दुईवटा प्लेटहरू टकराइरहेका छन् ।’
उनका अनुसार समग्र हिमालय तथा हिन्दूकुश क्षेत्रमा पृथ्वीको सतहमुनि दक्षिणतर्फ रहेको भारतीय प्लेट प्रतिवर्ष करिब चार सेन्टिमिटरको दरले उत्तरतर्फ रहेको युरेसियन प्लेटतर्फ सरिरहेको छ ।
‘भारतीय प्लेट युरेसियन प्लेटमुनि रहेको छ र बर्सेनि सर्ने चार सेन्टिमिटरमध्ये हाम्रो नेपालको क्षेत्रमा पर्ने हिमालयमुनि मात्र करिब दुई सेन्टिमिटर सर्ने गर्छ,’ उनले भने ‘त्यसरी सर्दा दुईवटा काठहरू तल र माथि खप्टाएर राखेर विपरीत गतिमा ठेल्दा जस्तो घर्षण पैदा भएर हलचल उत्पन्न हुन्छ उस्तै खालको दरार हाम्रो हिमालमुनि पनि उत्पन्न भइरहेको छ । त्यसरी उत्पन्न हुने दरारका कारण हिमालय क्षेत्रमा भूकम्प गइरहने जोखिम निकै उच्च भएको हो ।’
विज्ञहरूका अनुसार नेपालभित्रै र हिमाली क्षेत्रमध्ये पनि पश्चिमतर्फको भागमा भूकम्प जाँदा त्यसले असर गर्ने क्षेत्र धेरै हुने देखिन्छ । त्यसको कारणबारे लोकविजय अधिकारीको भनाइ छ ‘दुईटा प्लेटहरूमा दरार पैदा हुँदा पनि सबैतिर एकै खालको अवस्था रहदैन । विशेषगरी पश्चिम नेपालतिर, हिमालयभन्दा धेरै दक्षिणतर्फ पनि त्यस्तो दरार पैदा हुने अवस्था छ । त्यसले पश्चिम नेपालमा भूकम्पको ‘वेभलेन्थ’ धेरै हुन्छ ।’
मंगलबारको भूकम्पले तिब्बततिर ठूलो क्षति गरिरहँदा नेपालतर्फ भने धेरै क्षति गरेन । कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा भौतिक क्षति भने पुर्याएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ओखलढुंगामा एउटा घर पूर्ण रुपमा भत्किएर क्षतिग्रस्त बनेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको जानकारी दिए ।
ओखलढुंगाकै सिद्धिचरण नगरपालिकाको चुहानछापका स्थानीय हिमाल कार्कीको घर समेत चर्किएर क्षति पुगेको छ । ओखलढुंगाबाहेक हिमाली जिल्ला सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा पनि ४ वटा घरहरूमा भूकम्पले क्षति पुर्याएको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ लुरुवाका हर्कबहादुर खत्री र खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाबुङका आङङिमा शेर्पाको घर भत्किएको प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले जानकारी दिए ।
त्यस्तै संखुवासभाको भोटखोलामा तेन्जिङ शेर्पाको घर पनि भूकम्पले भत्काएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अर्को हिमाली जिल्ला ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको एउटा भवन भत्किएको छ । कार्यालय प्रमुख बस्दै आएको क्वाटर चर्किएर क्षति पुगेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्र डिंगे कान्टी नेपालको पूर्वी हिमाल नजिकै पर्छ । सोही कारण खुम्बु क्षेत्रमा मंगलबार दिनभरीमा कम्तीमा पाँच पटकसम्म पराकम्प गएको थियो । खुम्बु क्षेत्र सर्वोच्च शिखर सगरमाथा भएको क्षेत्र हो ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यतिबेला खुम्बु क्षेत्र लगभग सुनसान जस्तै छ । पर्यटकको घुम्न आउने सिजन अफ भएको र एक सातायता हेलिकप्टर सेवा पनि अवरुद्ध भएकाले खुम्बु क्षेत्रमा पर्यटक संख्या नगण्य छ ।
View : 219
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved