Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

केदार कार्की नेतृत्वको कोशी सरकार ढाल्न एमाले र माओवादीले दर्ता गरे संकल्प प्रस्ताव (प्रस्तावसहित)

बाबुराम भण्डारी
३ वैशाख २०८१, सोमवार

Advertisement

विराटनगर । अल्पमतमा परेका कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । 

प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुली समक्ष सोमबार उनीहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशन बैशाख ६ गते आह्वान भइसकेको छ । उक्त अधिवेशनमा संकल्प प्रस्ताव पेश हुने जनाइएको छ ।
प्रस्तावको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले हस्ताक्षर गरेका छन् । त्यसैगरी समर्थकमा माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री गणेशप्रसाद उप्रेति र एमालेका किशोरचन्द्र दुलालले हस्ताक्षर गरेका हुन् ।

संकल्प प्रस्तावमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई सात बुँदे निर्देशन उल्लेख छ ।  

प्रस्तावमा सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिई सरकारबाट फिर्ता भइसकेको र बहुमत प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा २०८१ साल बैसाख २५ गतेभित्रमा प्रदेश प्रमुखमार्फत प्रदेश सभाको आव्हान गराई संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन प्रदेश सभाले मुख्यमन्त्री निर्देशन गर्ने उल्लेख छ ।

त्यसैगरी मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरुन्जेल दिर्धकालिन असर पर्ने प्रकृतिका नितिगत तथा कार्यक्रमिक निर्णय एवं गैर बजेटरी शिर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन, बैशाख २५ गतेसम्म मुख्यमन्त्रीले विश्वासको मत पनि लिनु भएन वा वैकल्पिक सरकार गठनका लागि मार्ग प्रसस्त पनि गर्नु भएन भने सो पछिका दिनमा प्रमुख सचिव र अन्य मन्त्रालयका सचिवहरुले मन्त्रिपरिषद् मुख्यमन्त्री वा मन्त्रीहरुको कुनै पनि निर्णय वा निर्देशन कार्यान्वयन गर्न गराउन बाध्य नहुने कुरा संकल्प प्रस्तावमार्फत सरकारलाई निर्देशन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा वा वैकल्पिक सरकारका लागि मार्ग प्रसस्त नगरेमा माननीय प्रदेश प्रमुखबाट संविधानको धारा १६८ को कुनै उपयुक्त उपधारा प्रयोग गरी नयाँ वैकल्पिक सरकार गठनका लागि संवैधानिक र कानुनी प्रकृया स्वभाविकै ढंगले अगाडी बढ्न उपयुक्त हुने प्रदेश सभाको बैठकमार्फत प्रदेश प्रमुखसमक्ष सन्देश प्रवाह गर्ने उल्लेख छ ।

कोशी प्रदेश सभाका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलका नेता माननीय हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै उनको नेतृत्वमा नयाँ वैकल्पिक सरकार गठन गर्न यो प्रदेश सभा सक्षम रहेको प्रतिवद्धता संकल्प प्रस्तावमा उल्लेख छ ।

प्रस्तावमा प्रदेश सभाको बैठकबाट संकल्प प्रस्ताव पारित गरेर प्रमाणित प्रति प्रदेश प्रमुखसमक्ष तत्काल पठाउन यो प्रदेश सभा कोशी प्रदेश सभा सचिवालयलाई निर्देशन गर्ने पनि उल्लेख छ ।

View : 606

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved