सत्ताको चास्नी
विराटनगर । कोशी सरकारमा बस्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको नेकपा माओवादी केन्द्रका मन्त्रीहरूमा चरम सत्तालिप्सा देखिएको छ । नियम कानुनको मसिनो छिद्र समाएर उनीहरूले ‘मुख्यमन्त्रीले नहटाएसम्म’ सरकारमा बसिरहने अड्डी लिएका छन् ।
केन्द्रमा नयाँ गठबन्धन बनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल सत्ताच्यूत बनिसक्दा पनि कोशी सरकारमा अझै बसिरहने लोभ देखाएका माओवादी मन्त्रीहरूले ‘आफूले बनाएको सरकार किन छाड्नु’ भन्दै आफैले आफैलाई सान्त्वना दिने गरेका छन् ।
‘हामीले बनाएको सरकार हामीले किन छोड्नु’, अहिलेको कोशी सरकारमा माओवादीको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले मंगलबार सञ्चारमाध्यमहरूलाई भनेका छन् ‘निकाले भैगो नि । मुख्यमन्त्रीले राजीनामा माग्नुभएको छैन, निकालेको पनि छैन ।’
कोशीका माओवादीका मन्त्रीहरू मात्रै होइन मन्त्रीहरूलाई साथ दिइरहेका नेताहरूको अभिव्यक्तिले उनीहरू संसदीय अभ्यासका मसिना छिद्र खोज्ने र त्यसैका आधारमा सरकारमा जतिसक्दो धेरै दिन टिक्ने प्रयासमा देखिन्छन् । मुख्यमन्त्रीले नहटाएसम्म सरकारमा बसिरहने अड्डी देखाएका उनीहरूको अभिव्यक्ति र व्यवहारले त्यही देखाउँछ ।
मन्त्री पद कि राजीनामा दिएर खुस्किन्छ कि मुख्यमन्त्रीले हटाएर भन्दै माओवादी मन्त्रीहरू मुख्यमन्त्रीले नहटाएसम्म मन्त्री पदमा कायमै रहने भनाइ दोहोराइरहेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको दल एमालेका सांसदहरूले मात्रै होइन, माओवादीकै सांसदहरूले पनि कोशीमा तत्कालै पार्टीले सरकार छाड्नुपर्ने बताइसकेका छन् । नैतिकता देखाउँदै परिस्थिति बुझेर राजीनामा दिनुपर्ने भन्दै एमाले सांसदहरूले त माओवादीप्रति प्रश्न नै उठाइरहेका छन् ।
तर, माओवादी नेता एवम् पूर्वमन्त्री दुर्गाप्रसाद चापागाईंको भनाइमा ‘मुख्यमन्त्री कार्की माओवादी कार्ड खेलेर कांग्रेससँगको बार्गेनिङ पावर बढाउन’ चाहन्छन् । अहिले माओवादी कोशी संसदीय दल त्यसमा प्रयोग
हुन नहुने उनले सार्वजनिक रुपमा भनिसकेका छन् ।
यद्यपि माओवादी केन्द्रका नेता एवम् अहिले कोशीका भौतिक पूर्वाधार मन्त्री उप्रेतीले सामाजिक सञ्जालबाटै राजीनामा नदिने अड्डी कसेका छन् । माओवादीले कोशीमा देखाएको सत्तालिप्साको आलोचना गर्दै सामाजिक सञ्जालमा लेख्नेहरूको स्टाटसमा प्रतिक्रिया जनाउँदै मन्त्री उप्रेतीले भनेका छन् ‘माग्नेले मागेका छैनन्, राजीनामा गर भन्नेले भनेका छैनन् ।’
माओवादी मन्त्रीहरूको यस्तो अभिव्यक्तिले उनीहरूमा सत्तालिप्सा कुन हदसम्म रहेछ भन्ने उजागरको गरेको एमाले नेताहरू बताउँछन् । ‘अहिलेको गठबन्धन कायम रहँदा अब फेरि सत्ताभोग गर्ने अवसर पाउन मुश्किल छ, त्यसैले दुई चार दिन भए पनि बसिरहूँ भन्ने लोभ देखाएका हुन सक्छन्’ एमाले कोशी प्रदेशका एक सांसदले भने ‘अब साउन ५–६ गतेतिर प्रदेशसभा बैठक बस्ने कुरा छ । त्यस बेलासम्ममा उनीहरूले राजीनामा नदिए मुख्यमन्त्रीले ‘किकआउट’ गर्नुहुनेछ ।’
एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले पनि कोशीमा केन्द्रकै गठबन्धनअनुसार एमाले र कांग्रेसको सरकार बन्ने प्रष्ट पार्दै माओवादीहरूले राजीनामा दिएर बाटो खोल्न सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
माओवादी नेताहरू भने मुख्यमन्त्रीबाहेक अरुले भनेर केही नहुने तर्क गर्दै सरकारमा टिकिरहन पाए हुने भन्ने शैलीको अभिव्यक्ति दिइरहेका छन् । मुख्यमन्त्री कार्की निकटकै एमाले सांसदहरूले माओवादीले चरम सत्तालिप्सा देखाएको, नैतिकता नदेखाएको भनिरहेका छन् नि भन्ने प्रश्नमा माओवादी नेता राजेन्द्र किरातीले भने ‘कसले के भन्यो भन्नेतिर नजाउँ । मुख्यमन्त्रीले नभनेका कारण तत्कालै राजीनामा नदिइएको हो । हामी विपक्षमा जाने त निश्चितै छ नि ! ’
माओवादी नेता तथा सांसद गीता तिम्सिनाले पनि आफ्नो दलका मन्त्रीहरू राजीनामा दिन तयारै भएर बसेको दाबी गर्दै भनिन् ‘तर, मुख्यमन्त्री स्वयम्ले नभनेका कारण सरकारमा बसेका हौं । यो कुनै लोभका कारणले होइन ।’
माओवादीकै एक नेताले दिएको जानकारीअनुसार मुख्यमन्त्री कार्कीले राजीनामा दिनू भन्ने निर्देशन नदिएको भन्दै माओवादी मन्त्रीहरू ‘अझै एक डेढ हप्ता पदमा बसिरहन पाइने’ भन्दै मुख मिठ्याइरहेका छन् । ‘केन्द्रदेखि सबै प्रदेशमा विपक्षमा पुगिने कन्फर्म छ, साथीहरूले राजीनामा दिएर थोरै भए पनि साख जोगाउलान्, नैतिकता देखाउलान् भनेको उल्टै एक–डेढ हप्ता पदमा बस्न पाइने भयो भन्दै मुख पो मिठ्याइरहेका छन् ।’
नेकपा एमालेका प्रदेश सांसद रमेश बस्नेत केन्द्रमा जे गठबन्धन बन्यो प्रदेशमा सोहीअनुसारको गठबन्धन बन्ने परम्परा नै बनेका कारण कोशी प्रदेशमा कुनै उल्का होला भन्ने आफूलाई नलागेको बताउँछन् । नेपाली कांग्रेसले आफ्नो तयारी पूरा गर्नासाथ कोशी प्रदेशमा उसको सत्तारोहण हुनेमा कुनै सन्देह नभएको उनी बताउँछन् । नेकपा माओवादीले ठाउँ खाली गरे पनि नगरे पनि कांग्रेस कोशी सरकारमा आउने पक्कापक्कीजस्तै भएको उनी बताउँछन् । ‘ढिलो–चाँडो माओवादीले कोशी सरकार छाड्नैपर्छ’ बस्नेत भन्छन् ।
कोशीमा माओवादी पार्टीले देखाएको चरम सत्तालिप्साले माओवादीभित्रकै बौद्धिक तप्कालाई पनि दिक्क पारेको उनीहरूको सार्वजनिक अभिव्यक्तिले देखाउँछ । केही समयअघि मात्रै ‘आमसञ्चार र समावेशी पत्रकारिता’ नामक अनुसन्धानमुलक पुस्तक प्रकाशित गरेका लेखक एवम् पत्रकार तारामणि सापकोटाले सामाजिक सञ्जाल फेसबुकमा व्यंग्य गर्दै लेखेका छन् ‘सत्ता भन्ने चिज पनि अचम्मको । कोशीतिरका मन्त्रीका कुरा नि, निकाले निकाल तर राजीनामा दिन्नौं ।’
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्षसमेत रहिसकेका र अहिले प्राज्ञिक कर्ममा सक्रिय सापकोटाले सत्तामोहले यस्तो अवस्था आएको भन्दै मन्त्रीहरूलाई व्यंग्य गरेका हुन् ।
गएको वैशाख २७ मा बनेको कार्की नेतृत्वको सरकारमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक जना राज्यमन्त्रीसहित चार जना सहभागी छन् । अहिले भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेती, पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र बन्दना झाँगर पर्यटन राज्यमन्त्रीको जिम्मेवारीमा छन् ।
View : 320
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved