Biratnagar, Morang, Nepal
२५ जेठ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेपाली चियामा भारतीय वक्रदृष्टि, गुणस्तरको बहानामा बजार कब्जाको खेल

उद्‌घोष संवाददाता
२५ जेठ २०८३, सोमवार

विराटनगर । हरेक वर्ष कुनै न कुनै नयाँ बखेडा निकालेर भारतले नेपालको चियालाई आफ्नो बजार पुग्न अवरोध गर्दै आएको छ । यही नियति यसपटक पनि दोहोरियो । 

प्रत्येक गाडीबाट नमूना संकलन गरेर प्रयोगशाला रिपोर्ट कुर्नुपर्ने प्रावधान लगाएको भारतले तीन सातापछि त्यो नियम हटायो । तर, अहिले भारत पुगिरहेको नेपाली चियाको अन्तर्राष्ट्रिय बजारको अनिश्चितता कायमै छ । अहिले पनि भारतीय पक्षले हरेक गाडीबाट नमूना संकलन गर्न खोजिरहेको निर्यातकर्ताहरु बताउँछन् । 

नेपालकै पुराना चिया उद्योगी हुन् विराटनगरका रामकुमार राठी । राठीले चिया क्षेत्रमा ६ दशक लामो  संघर्ष त गरेका छन् नै, चियाकै बारेमा निरन्तर अनुसन्धान पनि गरेका छन् । 

नेपालका पहिलो व्यावसायिक ‘टी–टेस्टर’का रूपमा चिनिने राठीले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न अग्रणी भूमिका निर्वाह गरेका छन् । 

गुणस्तरको विषय उठाएर भारतले हरेक वर्ष नेपाली चियालाई पुर्याइरहेको अवरोधबारे उनले उद्घोषसँग खुलेर कुरा गरेका छन् । उनलाई हामीले सोधेका थियौं ‘के नेपालको चिया त्यति गुणस्तरहीन हो र भारतले लगातार अवरोध गरिरहन्छ ?’ 

नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा पुर्याउन न नेतृत्वदायी भूमिका निर्वाह गरेका उनले आत्मविश्वासी स्वरमा भने ‘नेपाली चिया संसारकै उत्कृष्ट मध्येमा पर्छ । जर्मनी, जापान, डेनमार्क, स्वीडेन र रुस जस्ता देशमा हाम्रो चिया गएपछि कुनै समस्या आउँदैन । 

तर, भारतमा मात्रै बारम्बार झमेला किन आउँछ ?’ यही प्रश्नभित्र चियाको समस्या लुकेको राठीको भनाइ छ । 

भारतले बैशाख १८ गते (मे १, २०२६) देखि चिया आयातमा अनिवार्य ल्याब परीक्षणको नियम लागू गरेपछि नेपाली चिया निर्यात ठप्पप्रायः भएको थियो । 

सीमामा ट्रकहरू रोकिएका थिए । नेपाली उद्योगीहरूको लाखौंको लगानी जोखिममा परेको थियो ।

राठीका अनुसार नेपाली चियाको ठूलो हिस्सा भारत निर्यात हुन्छ । त्यही  बजार भने सधैं जोखिमपूर्ण हुँदै आएको छ ।

‘भारतीय टी बोर्ड, केन्द्र सरकार र केही ठूला व्यापारीहरूको मिलेमतोमा नेपाली चियालाई पटक–पटक रोक्ने प्रयास हुन्छ, भइरहेको छ,’ राठीले भने ‘ल्याब टेस्टको बहानामा स्याम्पल लिएर १५–२० दिनसम्म रिपोर्ट नदिने, गुणस्तर घट्ने र मूल्य सस्तो बनाउने खेल चलेको हो । अरु केही होइन ।’

यस्तो नियम नेपाली व्यापारीलाई दुःख दिने र बदनाम गर्ने नियतले मात्र गरिने उनको आरोप छ । ‘धेरै दिन चिया रोकिंदा त्यसको गुणस्तर घट्छ, नेपाली किसान र उद्योगी घाटामा पर्छन् ।

पछाडि टी बोर्ड र ठूला भारतीय व्यापारीले मोटो रकम असुल गर्छन्,’ उनले भने ‘बंगाल सरकार र पहाडका केही नेताहरूले समेत नेपाली चियाविरुद्ध बोलेका घटना छन् ।

दार्जिलिङ ब्रान्ड जोगाउने नाममा नेपाली चियालाई मिसाएर आफ्नो नाममा बेच्ने चलखेल व्यापक छ ।

टाटा गोल्ड जस्ता ब्रान्डले नेपालबाट वार्षिक १–१.५ लाख केजी चिया लगेर आफ्नो प्याकेटमा महंगोमा बेच्छन्, तर नाम नेपालको हुँदैन ।’  

उनका अनुसार भारतीय पक्षले स्वार्थवश देखाएको यो दोहोरो मापदण्ड हो । उनका अनुसार चिया कृषि उपज भएकाले भन्साररहित जानुपर्ने हो । तर व्यवहारमा ५०–६० प्रतिशत ड्युटी सरहको नोक्सानी बेहोर्नुपर्ने बाध्यता छ ।

‘मलेसिया वा सिंगापुर जाँदा कुनै समस्या हुँदैन,’ उनले भने ‘तर, सधैं भारत जाँदा चाहिं हाम्रो चिया समस्यामा पर्ने कारण मुख्यतः यही हो ।’ राठीका अनुसार विश्वमै चिया उत्पादनमा चीन पहिलो लहरमा आउँछ । 

उसले वार्षिक सरदर ३ अर्ब ५० करोड केजी चिया उत्पादन गर्छ । भारतले दोस्रो बढी अर्थात १ अर्ब ६० करोड केजी उत्पादन गर्दा केन्याले ६० करोड केजी उत्पादन गर्छ । 

श्रीलंकाले ३० करोड केजी उत्पादन गर्दा नेपालको वार्षिक उत्पादन करिब २ करोड ८० लाख केजी मात्रै छ । जसमध्ये १ करोड २० लाख केजी आन्तरिक खपतमा जान्छ भने सरदर १ करोड ८० लाख केजी अन्तर्राष्ट्रिय बजारमा पुग्छ ।

यसले पनि देखाउँछ, नेपालको उत्पादन भारतको दाँजोमा ज्यादै सानो हो । ‘उत्पादन थोरै छ तर गुणस्तर उच्च छ,’ राठीले थपे ‘केन्या १९७७–७८ मा ५५ मिलियन केजी निर्यातबाट ६०० मिलियन पुगेको उदाहरण छ । नेपालले पनि ब्रान्डिङ, प्याकेजिङ र मार्केटिङमा ध्यान दिएमा ठूलो सम्भावना छ ।’ 

उनका अनुसार नेपालमा प्रतिव्यक्ति चिया खपत कम छ । निर्यात मुख्यतः भारतमा निर्भर छ, जसले नेपाली चियालाई खतरा मानेको छ । चिया अनुसन्धानमा पनि सक्रिय उनी भन्छन्, ‘हामीले आफ्नै ब्रान्ड बलियो बनाउनु पर्छ । 

अन्तर्राष्ट्रिय प्रमाणीकरण र आक्रामक प्रचार चाहिन्छ । सरकारले कूटनीतिक पहल बढाउनुपर्छ । उनको कम्पनीले जलवायु नियन्त्रित प्याकेजिङ र नयाँ स्वादका उत्पादन ल्याएर उदाहरण दिएको छ । 

‘चिया किसान र युवालाई आकर्षित गर्न सकेनौं भने यो क्षेत्र धराशायी हुन्छ,’ उनले भने ‘हालै भारतीय नियमले नेपाली निर्यातकर्तालाई ठूलो मार परेको थियो । यो केवल व्यापारिक मुद्दा होइन, राजनीतिक र आर्थिक दबाब पनि हो ।’  

सन् १९६४ मा विराटनगरमा सानो पूँजी अर्थात ५०० भारुबाट व्यवसाय सुरु गरेका राठीले चीन भ्रमणपछि चियाप्रतिको लगाव बढाएका थिए । 

कोलकात्तामा टी–टेस्टिङ तालिम लिएर नेपाल फर्किएका उनी नेपालका पहिलो टी–टेस्टर बने । १९९३ मा इलामको मालोममा नेपालको पहिलो चिया कारखाना स्थापना गरेका थिए । 

राकुरा (उनकै नामबाट) ब्रान्डले नेपाली चियालाई नयाँ उचाइ दिएको चिया क्षेत्रका जानकारहरु बताउँछन् ।

‘मैले चिया बगान भ्रमण गरे, विदेशी बजार हेरे र विज्ञहरूसँग सल्लाह लिएर मात्र निर्यात सुरु गरें,’ राठीले सम्झिए । उनको कम्पनीले १४ सय भन्दा बढी साना किसानसँग काम गर्छ । अर्गानिक उत्पादन, आधुनिक प्याकेजिङ र महिलालाई ५० प्रतिशत रोजगारी दिएर उदाहरण बनेको छ । यसबेला उनको मुख्य चिन्ता ब्रान्डिङको अभाव हो । 

‘धेरैजसो नेपाली चिया गाउँ वा फ्याक्ट्रीको नामबिना बजारमा जान्छ । हामीले आक्रामक मार्केटिङ गर्न सकेनौं,’ उनी भन्छन् ।

जसरी अलैंचीलाई खोल्सीको सुन भनिन्छ, चिया पनि नेपालको हरियो सुन भएको राठीको बुझाइ छ । यद्यपि भारतीय अवरोध, ब्रान्डिङ अभाव र आन्तरिक कमजोरीले यसको धेरै सम्भावनालाई रोकिरहेको उनको ठहर छ ।

उनको विचारमा नेपालको चियाले वैकल्पिक बजार युरोप, अमेरिका, जापानमा ध्यान दिएमा मात्रै केन्या वा श्रीलंकाको जस्तै सफलता हासिल गर्न सक्छ । 

‘चिया भनेको पेय मात्रै होइन, संस्कृति, अर्थतन्त्र र हिमाली जीवनशैली हो,’ उनले भने ‘यो हरियो  सुनलाई चम्काउने जिम्मा हाम्रो हो ।’

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved