Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सत्ताशक्ति बाहिरको माओवादी

कांग्रेस–एमाले गठबन्धन टिकिरहे उसको विपक्षी बेञ्चको बसाइ प्रदेशसभा इतिहासकै लामो हुन सक्नेछ । अहिलेसम्म कोशीमा माओवादी लामो समय सत्ताकै वरिपरि रहेको छ ।
उद्घोष सम्वाददाता
१३ साउन २०८१, आइतवार

मन्त्रीबाट राजिनामा दिनुअघि माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरु र संसदीय दलका नेता आङ्बो ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेकपा माओवादी केन्द्रप्रति अनुदार एमाले नेताका रुपमा चिनिदै आएका छन् । यस पटकको सत्ता सहयात्राका त्रममा भने कार्कीले आफ्नै त्यो कठोर विगत विपरीतको व्यवहार देखाए । 

गएको वैशाख २७ मा माओवादीकै समर्थनमा तेस्रो पटक प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार माओवादीका मन्त्रीहरूलाई सौहार्द्रतापूर्वक बिदा गरे । जुन दृश्य कोशीका हकमा नौलो थियो । ‘सरकार छाड्ने बेलामा दलहरूबीच नोकझोंक चल्दै आएको प्रदेशमा यस पटक फरक परिदृश्य देखियो’, मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले भने ‘यस पटक माओवादी मन्त्रीहरूलाई मुख्यमन्त्रीले हार्दिकतापूर्वक कुनै सम्बन्ध नबिगारी बिदा गर्नुभयो ।’

शुक्रबार प्रदेशसभा सचिवालयमा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पार्टीका सबै मन्त्रीहरूसहित पत्रकार सम्मेलनमा उपस्थित थिए ।

भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेती, वन वातावरण तथा पर्यटन मन्त्री नारायण बुर्जा मगर, स्वास्थ्य मन्त्री राजेन्द्र कार्की र पर्यटन मन्त्रालयकी राज्यमन्त्री वन्दना झाँगर उपस्थित पत्रकार सम्मेलनमा दलका नेता आङ्बोले ‘मुख्यमन्त्रीकै विशेष आग्रहमा सरकार ढिलो छाडेको’ बताए । ‘काठमाडौंमा पानी पर्ने बित्तिकै विराटनगरमा छाता ओढिहाल्नुपर्छ भन्ने छैन’, आङ्बोले भने ‘फेरि कोशीको सरकार हामी आफैले बनाएको हो ।’ 

मुख्यमन्त्री कार्की र माओवादी संसदीय दलबीचको राजनीतिक सम्बन्ध विगतमा कतिसम्म तित्त थियो भने गठबन्धनले नेता आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दा उनलाई रोक्न कार्की स्वयम् लागेका थिए । ‘कुनै अमुक व्यक्तिलाई गठबन्धनले मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेपछि म विक्षिप्त बनेको थिएँ’, कांग्रेसमा विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्नुको कारण बताउँदै हिक्मतकुमार कार्कीले संसद्मै भनेका थिए ‘त्यो निर्णय रोक्न हामी लाग्यौं ।’

जवाफमा माओवादी नेता आङ्बोले ‘जनजाति लिम्बूको छोरालाई मुख्यमन्त्री बन्न रोकेर हिक्मतकुमार कार्कीले कुनै बहादुरी नगरेको’ बताएका थिए । यति मात्रै होइन केदार कार्कीलाई विश्वासको मत दिएपछि आङ्बोले सरकार छाड्न एमालेलाई भनेका थिए । 

त्यसपछि गठबन्धन फेरियो । प्रदेशमा हिक्मतकुमार कार्कीलाई नै समर्थन गर्नुपर्ने मोडमा माओवादी आइपुग्यो । वैशाख २७ मा कार्की मुख्यमन्त्री बने । माओवादी पनि सरकारमा सामेल भयो । असार १७ मा केन्द्रमा फेरि गठबन्धन फेरियो । दुई ठूला दल कांग्रेस र एमालेले सात बुँदे सहमति गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाए । 

यो सहमतिसँगै माओवादी केन्द्रदेखि प्रदेशसम्मै विपक्षमा धकेलिने निश्चित भयो । अन्यत्र धमाधम सरकारबाट बाहिरिएको माओवादी ‘मुख्यमन्त्रीकै विशेष आग्रहमा’ दुई साताभन्दा लामो समय कोशी सरकारमा बसिरह्यो । मुख्यमन्त्री कार्कीले ‘सरकार नछाड्न आग्रह’ गरिरहे । कतिसम्म भने माओवादीकै सांसद र एमालेका बहुसंख्यक सांसदले माओवादी मन्त्रीहरूले सत्तालिप्सा देखाएको आरोपसमेत लगाएका थिए । 

शुक्रबार प्रदेशसभा परिसरको पत्रकार सम्मेलनपछि माओवादीका मन्त्रीहरु मुख्यमन्त्री कार्कीलाई भेट्न उनकै कार्यकक्षमा पुगे । उनीहरूले सामूहिक रुपमा राजीनामा बुझाए । मुख्यमन्त्रीले उनीहरूलाई धन्यवाद मात्रै होइन, मायाकै चिनो पनि उपहार दिए । सामूहिक फोटो पनि खिचाए ।

पछिल्लो सत्ता सहयात्राले कार्कीको माओवादीप्रतिको दृष्टिकोण फेरिएको छनक दिने यो दृश्यबारे एक जना माओवादीका नेताले भने ‘उनको माओवादीप्रतिको दृष्टिकोण त किन फेरिन्थ्यो ? तर, राजनीति यस्तै त हो, कतिबेला कोसँग अंगालो मार्नुपर्ने हो टुंगो हुनै छाड्यो । त्यही भएर सम्बन्ध सुमधुर राख्न चाहेको हुन सक्छ ।’ 

ती नेताले भने जस्तै माओवादीकै केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले त्यसअघि नै सार्वजनिक रुपमा मुख्यमन्त्री कार्कीले माओवादीलाई देखाएर कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउन खोजेको आरोप लगाएका थिए । तर, केन्द्रीय गठबन्धन कार्यान्वयन गर्नैपर्ने भएपछि मुख्यमन्त्रीको त्यो योजना सफल भएन । प्रधानमन्त्री ओलीलाई काठमाडौंमा भेटेर फर्केपछि मुख्यमन्क्रीले माओवादीलाई बाटो खुला गरिदिन आग्रह गरेका थिए । 

मुख्यमन्त्रीको सोही आग्रहअनुसार शुत्रबार राजीनामा दिएको माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता गरेको छैन । ‘सबै सांसद एकै पटक भेला भएर समर्थन फिर्ता लिनुपर्ने’ भन्दै माओवादीले समर्थन कायमै राखेको छ । 

सरकारबाट बाहिरिएपछि माओवादी प्रदेशसभाको दोस्रो कार्यकालमा दोस्रो पटक विपक्षमा पुगेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुँदा हिक्मतकुमार कार्कीकै नेतृत्वमा सरकारमा सहभागी माओवादी उद्धव थापा दुई पटक मुख्यमन्त्री हुँदा पनि सरकारमै थियो । थापापछि एमाले नेता कार्की ठूलो दलका नेताका रुपमा दोस्रो पटक मुख्यमन्त्री बन्दा चाहिँ माओवादी सरकारबाहिर रह्यो ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की मुख्यमन्त्री बने । उनको दोस्रो कार्यकाल एक महिनामै टुंगियो । त्यही एक महिना मात्रै माओवादी सत्ता बाहिर थियो । त्यसपछि माओवादीलाई रोक्दै केदार कार्की मुख्यमन्त्री बने । सुरुमा सहभागी नभए पनि लगत्तै माओवादी केदार कार्कीको सरकारमा सामेल भयो । 

हिक्मतकुमार कार्कीलाई तेस्रो पटक मुख्यमन्त्री बनाउँदाको मुख्य सारथी माओवादी नै थियो । केन्द्रमा नयाँ गठबन्धन बनेपछि यसपटक भने माओवादी विपक्षमा पुगेको छ । कांग्रेस–एमाले गठबन्धन टिकिरहे उसको विपक्षी बेञ्चको बसाइ प्रदेशसभा इतिहासकै लामो हुन सक्नेछ । अहिलेसम्म कोशीमा माओवादी लामो समय सत्ताकै वरिपरि रहेको छ । 

पहिलो कार्यकालदेखि दोस्रो कार्यकालको हालसम्मको अवधिमा यसरी सक्ताशत्तिकै अभ्यासमा अभ्यस्त माओवादीको प्रदेशसभामा विपक्षी भूमिका कस्तो रहला ? वास्तविक  परीक्षा अब सुरु हुने कतिपय माओवादी नेता–कार्यकर्ताको भनाइ छ ।  शुक्रबारको पक्रकार सम्मेलनमा नेता आङ्बोले सशत्त विपक्षको भूमिका निर्वाह गर्ने बताए । उनले भने ‘अब हामी सशक्त प्रतिपक्षको भूमिकामा हुनेछौं ।’

View : 125

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved