विराटनगर । जनस्तरबाट आफूतिर सोझिने हरेक प्रश्नलाई मुढेबलका भरमा तेजोबध गर्दै आइरहेका धरानका मेयर हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको प्रश्नमा पनि गैरजिम्मेवार रवैया प्रदर्शन गरेका छन् ।
आफ्नै सहयात्री जनप्रतिनिधिदेखि पत्रकारहरूसम्मलाई धम्क्याउँदै मनमौजी गर्दै आएका मेयर साम्पाङविरुद्ध उजुरी परेपछि अख्तियारले पत्रमार्फत केही सोधपुछ गरेको थियो ।
तर, साम्पाङले उल्टै अख्तियारलाई विभिन्न लाञ्छना लगाएका छन् । शुक्रबार आफूले पत्र पाएको बताउँदै मेयर साम्पाङले आफूले गरिरहेको काममा राज्यको पैसा खर्च नभएका कारण अख्तियारले हिसाब खोज्न नहुने जिकिर पनि गरेका छन् ।
उनले श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजना निर्माण र सुम्निमा पारुहाङको मूर्ति निर्माणमा अख्तियारको दुरुपयोग गरेको तथा आर्थिक अनियमितता गरेको आरोपसहितको उजुरी अख्तियारमा परेको थियो ।
सरकारी तहमा हुने पत्र व्यवहारको प्रचलित भाषा, शैली र मानकलाई सँधै वेवास्ता गर्दै आफ्नै लवज र शैलीमा पत्र लेख्दै आएका साम्पाङले अख्तियारलाई पनि उस्तै शैलीमा पत्र लेखेका छन् । हर्कले अख्तियारलाई पठाएको पत्रमा धरानमा ‘ऐन विपरीत कुनै किसिमको योजना नगरिएको’ भन्दै पार्कलाई विकासका लागि उदाहरण भनेर आफैले दाबी गरेका छन् ।
साम्पाङले उदाहरणीय भनेर दाबी गरेको यो पार्क भने अनियमित ढंगले बनेको मात्रै छैन, राज्यका ऐन कानुन लत्याएरसमेत ठडिएको छ । धरानको २० र १३ नम्बर वडामा पर्ने सर्दु खोला किनारमा मेयर साम्पाङकै नेतृत्वमा ‘श्रम संस्कृति पार्क’ बनेको हो ।
न्यूनतम १५ रुपैयाँको टिकट काटेर पार्क प्रवेश गर्ने बित्तिकै उनकै भनाइ र तस्वीर अंकित बोर्ड देखिने पार्क बनाउँदा उपमहानगरमा एकपटक पनि छलफल र निर्णय भएको छैन ।
वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरिएको यो पार्क जलाधार र वन क्षेत्रमासमेत पर्छ । यति मात्रै होइन, हर्कका समर्थकहरूले यही परिसरमा अरु पार्कसमेत बनाएका छन् ।
अख्तियारलाई पठाएको पत्रमा मेयरले दलहरूप्रतिको आफ्नो सदाबहार आक्रोश दोहोर्याएका छन् ।
अख्तियारले कसका पछि लाग्नु ठीक हुन्छ भनेर उल्टै अख्तियारलाई नै सम्झाएका पनि छन् ।
‘भाषणवीर नेताहरूका लागि पार्क सन्देशसमेत भएको’ उल्लेख गरेका उनले राज्यकोषको रकम नपरेका कारण अख्तियारले हिसाब खोज्नै नमिल्ने तर्कसमेत गरेका छन् ।
अख्तियारले पारुहाङ र सुम्निमाको प्रतिमाबारे पनि सोधेको छ । उनले प्रतिमा बनाउने कार्य निकट भविष्यमा शुरु हुने भनेका छन् ।
साम्पाङले कुनै बेला कार्यपालिका बैठकमा यो मूर्ति निर्माणको विषयमा प्रस्ताव लगेका थिए । बैठकले साम्पाङकै संयोजकत्वमा कार्यपालिका सदस्यहरूसहितको पाँच सदस्यीय अध्ययन समिति पनि बनाएको थियो । तर, समिति एकातिर बन्दाबन्दै मेयर स्वयम्ले आफै अध्यक्ष बनेर सुम्निमा–पारुहाङ प्रतिष्ठान नेपाल नामको संस्था दर्ता गराएका थिए ।
प्रतिमा निर्माणका लागि भन्दै देश–विदेशबाट आएको चन्दा रकम साम्पाङ र उनकै सहयोगीका नाममा खोलिएको हिमालयन बैंकको खाता नम्बर ०१५२१५५३०६००१३ मा जम्मा गरिएको छ ।
यो खातामा हालसम्म चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ । यद्यपि यसको पनि पारदर्शी हिसाब उनले सार्वजनिक गरेका छैनन् ।
उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईले प्रतिमा निर्माण गर्नु राम्रो भए पनि नियम कानुन मिचेर, अपारदर्शी रुपमा बनाउँदा राम्रो नहुने बताए । ‘उहाँको आर्थिक कारोबार सबै अपारदर्शी छ’, उनले भने ।
अख्तियारले कोकाहा खानेपानी आयोजनाबारे पनि मेयरलाई सोधेको छ । जवाफ दिने क्रममा साम्पाङले आफ्नै लवजमा ‘विदेशीले मेरो हुनर चिन्यो तर नेपालले चिनेन’ भन्दै उल्टै अख्तियारसँग दुखेसो प्रकट गरेका छन् ।
मेयरले लेखेका छन् ‘धरानमा ५६ करोड ऋण बोकाएर एडीबीको आयोजनाले पानी खुवाउन सकेन, आयोजना फेल भयो भनेर छानबिन गरिपाऊँ भनी मैले नै अभियन्ता हुँदा उजुरी लगाएँ । अख्तियारले सुनेन पत्याएन ।
अब आएर धरानमा पानीको दुःख नहोस् भनेर निर्वाचित भएदेखि नै खोलाखोली जोडेर धरानेलाई पानी खुवाएको छु । त्यो देखी नसहेर खोई कसले बारम्बार पिचृक पिचृक उजुरी हालिरहन्छ । श्रमदानबाट ल्याइएको पानी हो । पानी थप्ने भएकोले पानीको नियमानुसार गरिएको छ ।’
कोकाहाको खानेपानी परियोजनाको हिसाबकिताब पनि मेयरले अहिलेसम्म पारदर्शी रुपमा सार्वजनिक गरेका छैनन् । उनकै निकट सहयोगी दत्तकुमार लिम्बूले एकपटक ७ करोड ४१ लाख रुपैयाँ बराबरको हिसाब मुखैले सार्वजनिक गरेका थिए । त्यसयता कोकाहामा उठेको पैसाबारे मेयरले कतै पनि खर्च विवरण सार्वजनिक नगरेको उपमहानगरका प्रवक्ता भट्टराई बताउाछन् ।
‘योजना छनोट गर्ने, काम गर्ने र खर्च गर्ने नियमहरू छन् तर त्यहाँ न लेखाको मान्यता अनुसार गरिएको छ, न सार्वजनिक खरिद ऐन नै पालना भएको छ’, उनले भने । नियमअनुसार खर्च गर्नुपर्छ भन्नेहरूलाई मेयर र उनको टिमले दाताले दिएको पैसा अरुले खोज्न नमिल्ने जवाफ दिने गरेका छन् । अख्तियारलाई समेत त्यस्तै जवाफ दिएका छन् ।
पत्रको अन्त्यमा उनले अख्तियारलाई गम्भीर आरोपसमेत लगाएका छन् । राज्यको अर्बौ रकम हिनामिना हुँदा अख्तियार मौन रहेको भन्दै उनले अख्तियारविरुद्ध निशाना साँधेका छन् ।
‘राज्यकोषको अरबौं खरबौं रकम दुरुपयोग र हिनामिना हुँदा मौन रहने अख्तियारले जनता स्वस्फुर्त आएर गर्ने श्रमदान र जनता आफैले स्वेच्छाले आर्थिक सहयोग गरी गर्न लागेको श्रमदानका योजनाहरूको पछि लागेको देख्दा अचम्म लाग्छ ।’
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले भने अनियमितता भएको भन्दै उजुरी आएपछि सम्बद्ध पक्षलाई पत्राचार गर्नु अख्तियारको नियमित काम भएको बताएका छन् ।
‘अख्तियारले आफ्नो नियमित काम गर्छ, त्यही गरेको हो’, उनले भने ‘उहाँको पत्र अफिसमा आइपुग्यो कि छैन, मैले बुझ्न पाएको छैन ।’
View : 40
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved