विराटनगर । सप्तकोशी नदीमा पानीको सतह बढ्ने सिजन सुरु हुनासाथ बन्द हुने जल यातायात सेवा सोमबारदेखि फेरि सुरु भएको छ । सुनसरीको चतराबाट भोजपुरको हतुवागढीसम्म सञ्चालन हुने जेटबोटले यात्रु र पर्यटकहरुलाई सेवा दिने गरेको छ । चाडपर्वको मुखैमा राजमार्ग र सडकहरु क्षतविक्षत बनेपछि त जल यातायातमा सर्वसाधारणको भीड नै लागिरहेको छ ।
झण्डै ६ घन्टा लामो स्थलमार्गको यात्राको दाँजोमा जल यातायात सेवा यति द्रुत छ कि यसले २० मिनेटमै चतराबाट हतुवागढी फेदीमा पुर्याइदिन्छ । यात्रु र पर्यटकलाई यति द्रुत सेवा दिइरहेका जेटबोट र मोटरबोटहरु कति सुरक्षित छन् ? जल यातायात सञ्चालनका लागि अपनाउनुपर्ने सबै मापदण्डहरु सप्तकोशीमा अवलम्बन गरिएका छन् ?
त्यसो त २०७५ देखि व्यावसायिक रुपमा सप्तकोशीमा जेटबोट सञ्चालन हुन थालेयता कुनै अप्रिय घटना भएको छैन । यद्यपि अहिलेसम्म बाघले खाएको छैन भनेर सुरक्षा अपनाउन वेवास्ता गरे एक दिन बाघले खाइदिन सक्छ । भनिन्छ, बाघले खाएको दिन सकियो !
सप्तकोशीमा आएको भीषण बाढी घट्दै गएपछि जेटबोट सेवा पुनः सुरु भएकै दिन सोमबार उद्घोषले सरोकारवालाहरुलाई यसको सुरक्षाबारे प्रश्न गरेको छ ।
सोमबार बिहानबाट सुरु भएको जेटबोट सेवाको निरीक्षणका लागि जिल्लास्थित सुरक्षा अधिकारीहरुसँगै सप्तकोशी किनार पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले नदीमा जलसतह र बहाव घट्दै गएपछि पुनः सेवा सञ्चालन सुरु गरिएको बताए । सेवा त सुरु भयो , यसको सुरक्षा प्रबन्ध वा मापदण्डबारे के कति जानकार छ प्रशासन ?
यो प्रश्नमा प्रजिअ तिवारीको उत्तर थियो ‘त्यसबारे त हामीलाई केही थाहा हुँदैन । त्यसको नियामक निकायलाई थाहा होला ।’ सीडीओलाई सबै कुराको जानकारी नहुने भन्दै मापदण्ड पूरा गरेकै कारण कोशीमा जेटबोट चलेको हुनसक्ने बताए ।
प्रजिअ तिवारी, सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उप अनुसन्धान निर्देशक तुलसी कट्टेललगायतले निरीक्षण गरेर जेटबोट पुनः सञ्चालन भएको जानकारी सार्वजनिक रुपमा दिएका थिए । सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समितिले नै प्रजिअ र सुरक्षा प्रमुखहरुले निरीक्षण गरेपछि सेवा सुरु भएको भनेर उल्लेख गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले जेटबोटको सुरक्षाबारे अनभिज्ञता प्रकट गरेपछि बराहक्षेत्र नगरका मेयर रमेश कार्कीलाई त्यही प्रश्न गर्दा उनले पनि ‘नगरपालिकालाई यसबारे केही थाहा नहुने’ जानकारी दिए ।
‘पर्यटन बोर्ड र पर्यटन विभागको अनुमतिबाट सप्तकोशीमा जेटबोट चलिरहेको छ’, मेयर कार्कीले भने ‘स्थानीय सरकारसँग अहिलेसम्म कुनै साइनो सम्बन्ध भएको अवस्था छैन ।’
मेयर कार्कीका अनुसार जल यातायातबारे नेपालमा कानुन बनेर कार्यान्वयन भएकै छैन । त्यसैले सोझै पर्यटन बोर्ड र विभागकै अनुमतिका आधारमा कोशीमा जेटबोट चलिरहेका छन् ।
‘यात्रुको, जेटबोटको बीमा गरिएको हुन्छ’, मेयर कार्कीले भने ‘जेटबोटकै कारण पहाडका सर्वसाधारणलाई ज्यादै सहज भएको छ । घन्टौं गाडीमा हिंडेर अस्पताल आउनुपर्ने बाध्यता हटेको छ । तर, कतैबाट अनुमति नलिएका चालकहरुले जेटबोट चलाउँछन् भन्ने सुनिएको छ । यसले चाहिं जोखिम बढाउला जस्तो लाग्छ ।’ मेयर कार्कीले कानुन अभावका कारण यस्तो अवस्था भएको पनि उल्लेख गरे ।
जिल्लाका प्रशासन प्रमुख प्रजिअ र स्थानीय सरकार प्रमुखले आफूहरु जल यातायातको सुरक्षा प्रबन्धबारे बेखबर रहेको बताएपछि उद्घोषले जेटबोट सञ्चालक विमलमान श्रेष्ठलाई पनि यही विषयमा सोधेको छ ।
२०७५ सालदेखि सप्तकोशीमा जेटबोट सञ्चालन गरिरहेका श्रेष्ठ बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्षसमेत हुन् । उनकै कम्पनीका ४ वटा जेटबोट कोशीमा चल्छन् । त्यत्तिकै संख्यामा मोटरबोट पनि चल्छन् । तर, श्रेष्ठले दिएको जानकारी अनुसार मोटरबोट सञ्चालकहरु अरु नै छन्, उनको कम्पनीले जेटबोट मात्रै चलाउँछ ।
‘कोशीमा जेटबोट र मोटरबोट चल्ने हुन्’, श्रेष्ठले भने ‘जेटबोटको तुलनामा मोटरबोटमा जोखिम बढी हुन्छ । जेटबोट महंगो प्रविधि हो भने मोटरबोट सस्तो प्रविधि हो । यो अलि बढी जोखिमयुक्त हुन्छ ।’ उनको दाबी अनुसार जेटबोटको इन्जिनियरिङ नै पूरै सुरक्षायुक्त ढंगले गरिएको हुन्छ । उनको दाबी छ ‘जेटबोट ९९ प्रतिशत आफै सुरक्षित हुन्छ । यसलाई ढुंगाको ठक्करले वा अरु कुनै कारणले पल्टाउनै सक्दैन । यसको तुलनामा मोटरबोट भने जोखिमले भरिएको हुन्छ ।’
श्रेष्ठले दिएको जानकारी अनुसार जेटबोटले पानीको घनत्वलाई सजिलै सामना गर्नसक्छ । ‘हामीले यात्रुहरुको बीमा गरेका हुन्छौं, सबैलाई अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउन दिएका हुन्छौं’, सुरक्षा प्रबन्धबारे उनले थपे ‘हामीले दिने लाइफ ज्याकेट लगाएपछि कथम कदाचित यात्रु डुबिहाल्ने अवस्था भयो भने पनि २४ घन्टासम्म नडुब्ने ग्यारेन्टी हुन्छ ।’ यसबाहेक ‘इफेक्टिभ ब्रेक सिस्टम’ युक्त हुने भएका कारण जेटबोट मोटरबोटभन्दा धेरै सुरक्षित हुने उनको भनाइ छ ।
स्थानीय सरकार, प्रशासन र सेवा प्रदायक कम्पनीको अभिव्यक्तिले नै देखाउँछ, कोशीमा सञ्चालन भइरहेको जल यातायातले सर्वसाधारणलाई सुविधा नै दिएको छ । यद्यपि यसको नियमनकारी निकाय स्थानीय क्षेत्रमा अनुपस्थित रहँदा जेटबोट र मोटरबोट सञ्चालकहरुले जे भने पनि पत्याइदिनु पर्ने अवस्था विद्यमान छ ।
पर्यटन विभाग र बोर्डको प्राविधिक टोलीले नियमित अनुगमन गर्दैनन् । जिल्ला प्रशासन, प्रहरी र नगरपालिकासाग जेटबोट वा मोटरबोटको प्राविधिक पक्ष जाँच गर्ने जनशक्ति र प्रविधि दुवै छैन ।
‘जेटबोट चलाउने कम्पनीले नाफाको लोभमा जसरी पनि चलाउने अवस्था चाहिं छ’, बराह क्षेत्रका एक जनप्रतिनिधिले भने ‘जल यातायात सुरक्षित तुल्याउन नियमित जाँच गर्ने, निरीक्षण गर्ने संयन्क्र र जनशत्ति सरकारी तहबाट पनि व्यवस्था गर्नुपर्ने खाँचो देखिन्छ । जल यातायात संवेदनशील विषय भएका कारण वेवास्ता गर्न मिल्दैन ।’
बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका अध्यक्ष श्रेष्ठ भने धेरै जोखिमयुक्त भए पनि कोशीमा मोटरबोटहरु भने निर्वाध चलिरहेको बताउँछन् । पर्यटन विभाग र बोर्डको अनुमतिमा सेवा चलिरहेको बताउने उनले पनि संघीय सरकार र प्रदेश सरकारले जल यातायातबारे कानुन बनाउने क्रममै रहेका कारण सुरक्षित मानिने जेटबोट र असुरक्षित मानिने मोटरबोट दुवै चलिरहेको बताए ।
यसपटक सुनसरी प्रशासनले कोशीमा जेठ महिनादेखि नै जल यातायातमा रोक लगाएको थियो । ‘जेठदेखि कोशीमा पानीको सतह र बहाव दुवै बढ्ने भएका कारण हामीले रोक लगाएका थियौं’, प्रजिअ तिवारीले भने ‘अहिले पानी घटेका कारण पुनः सञ्चालन भएको हो ।’ दशैंको मुखैमा बाढीपहिरोले बाटो र पुलहरुमा ठूलो क्षति पुर्याएपछि पहाडी क्षेत्रका यात्रुहरुको चाप जलमार्गमा उत्तिकै हुने गर्छ ।
खासगरी धनकुटा, भोजपुर, दक्षिणी ओखलढुंगा, खोटाङ क्षेत्रका सर्वसाधारणका लागि दुरी छोटो पर्ने भएका कारण पनि जल यातायात पहिलो रोजाइमा पर्ने गरेको छ । ‘गाडीबाट भोजपुर जाँदा कम्तीमा ५ घन्टा लाग्दा जेटबोटबाट २० मिनेटमै पुगिन्छ’, जेटबोट सञ्चालक श्रेष्ठले भने ‘जल मार्गमा दूरी नाप्न कठिन भए पनि १८ देखि २२ किलोमिटर दूरीभित्र यो यात्रा सम्भव हुन्छ ।’
उनका अनुसार दैनिक न्यूनतम १ सयदेखि ३ सय जनासम्म यात्रुले जेटबोटबाट सेवा लिने गरेका छन् । कुनै बेला ५ सयसम्म यात्रु हुने पनि उनले बताए ।
View : 158
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved