Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विराटनगरका तीनसहित १८ को मृत्यु

दुर्घटनामा सो जहाजको को–पाइलट सुशान्त कटुवाल, एरोनोटिक इन्जिनियर अश्विन निरौला र सुरक्षा प्रमुख सागर आचार्यसहित १८ जनाले ज्यान गुमाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाजमा रहेका १९ जना मध्ये १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
बाबुराम भण्डारी
१० साउन २०८१, बिहिवार

Advertisement

विराटनगर । बुधबार त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९ एन–एएमई कलसाइनको ‘बाम्बाडिअर सीआरजे–२००’ जहाज दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये तीनजना विराटनगरका परेका छन् ।

दुर्घटनामा सो जहाजको को–पाइलट सुशान्त कटुवाल, एरोनोटिक इन्जिनियर अश्विन निरौला र सुरक्षा प्रमुख सागर आचार्यसहित १८ जनाले ज्यान गुमाएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले जहाजमा रहेका १९ जना मध्ये १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

बुधबार विहान ११ बजे सौर्य एयरलायन्सको उक्त जहाज दुर्घटनामा चिफ अफ अपरेशन समेत रहेका पाइटल ३७ वर्षीय मनीषरत्न शाक्यको भने तत्कालै उद्धार गरिएको थियो । जहाज भुईंमा बजारिंदा दुई टुक्रा भएको र विमानस्थलको छेउमै रहेको हेलिकप्टरको ह्याङ्गरमा पसेको ककपिटभित्रबाट उनलाई सुरक्षाकर्मीहरूले उद्धार गरेका थिए । पाइटल शाक्यको अहिले काठमाडौंस्थित केएमसी अस्पतालमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको जनाइएको छ ।

मृत्यु भएका को–पाइलट कटुवाल विराटनगर–३ स्थित आयल निगम पूर्वका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगर स्टेशन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए । को–पाइलट कटुवाल पूर्व जिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका एक मात्र छोरा हुन् । उनले प्राथमिकदेखि स्नातक तहको शिक्षा विराटनगरमै अध्ययन गरेका थिए ।  उनले पाइलटको अध्ययन भने क्यानडामा गरेको बताइएको छ ।

दुर्घटनामा ज्यान गुमाउने एरोनोटिक इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा रहेका छन् । उनको घर विराटनगर–२ स्थित भूपालमानसिंह कार्की मार्गमा रहेको जनाइएको छ । अश्विनका बुवा तीर्थ निरौला र आमा कल्पना निरौलाका एक मात्र छोरा हुन् । उनी सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भाञ्जा पनि हुन् । अश्विनको तीन वर्ष अगाडि मात्रै विवाह भएको थियो । उनका बाबुआमा भर्खरै अष्ट्रेलिया गएका छन्  ।

मृत्यु भएका सौर्य एयरका सुरक्षा प्रमुख सागर आचार्य पनि विराटनगर–७ गहेली टोलका बासिन्दा हुन् । उनी काठमाडौंस्थित बुढानीलकण्ठमा बस्दै आएका थिए ।

यो दुर्घटनामा विराटनगरका कटुवाल, निरौला र आचार्यसहित सौर्य एयरका व्यवस्थापनसँग सम्वद्ध १० जनाको मृत्यु भएको जनाइएको छ । जहाजको इन्जिनसहितको पूर्ण परीक्षण र मर्मतका लागि पोखरा क्षेत्रीय विमानस्थलमा रहेको सुविधा सम्पन्न ह्याङ्गरमा लैजानका लागि उडाइएको थियो । 

बुधबार विहान १०ः०५ मा उडान भर्ने तालिका तय भए पनि जहाज ११ः१० मा उडेको थियो । उडान भरेको २० सेकेण्डमै जहाज भुईँमा खसेको जनाइएको छ । जहाज उडेपछि पूर्वतिर कोल्टिएर भुईंमा बजारिएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । दुर्घटनापछि जहाजमा आगोको लप्का र धुवाँको मुस्लो देखिएको थियो । 

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको प्रत्यक्षदर्शीहरूले बताए । जहाज उड्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको भनिए पनि जहाज आकासमा पुगेपछि पुनः भुईंमा खसेको भिडियोमा देखिएको छ ।

दुर्घटनामा सौर्य एयरका चिफ अफ क्वालिटी एस्युरेन्स अफिसर दिलीप वर्मासहित प्राविधिक कर्मचारीहरू अमितमान महर्जन, सुदीपलाल जोशी, सर्वेश मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, मनुराज शर्मा र यमनका नागरिक अरेफ रेडाको निधन भएको नेपाल नागरिक उड्ययन प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ । मृत्यु भएका यमनी नागरिक रेडा पनि इन्जिनियर नै भएको जनाइएको छ ।

त्यसैगरी जहाज दुर्घटनामा सौर्य एयरकै प्राविधिक मनुराज शर्माकी पत्नी प्रिजा खतिवडा र छोरा अधिराज शर्माको समेत मृत्यु भएको जनाइएको छ । सौर्य एयरले उनीहरूलाई आफ्नै कर्मचारीको हैसियतमा पोखरा उडाएको पाइएको छ । मनुराजले पोखरा जाने भएपछि ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत पत्नी प्रिजा र छोरा अधिराजलाई बोलाएर कर्मचारीकै रूपमा उडाएको खुलेको छ ।

प्रिजा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्वअध्यक्ष एवं नेकपा एकीकृत समाजवादीका नेता प्रकाश खतिवडाकी छोरी हुन् ।

सौर्य एयरले नेपालमा दुईवटा ‘बाम्बाडिअर सिआरजे–२००’ जहाजमार्फत हवाई सेवा प्रदान गर्दै आएको थियो । क्यानाडामा निर्माण हुने यो दुईवटा जेट इन्जिनयुक्त जहाज हो । दुर्घटनामा परेको जहाजले २१ बर्ष ४ महिना उडान भरिसकेको फ्लाइटराडरले जनाएको छ । ६ बर्षदेखि यो जहाज सौर्य एयरले लिएर उडाउँदै आएको थियो ।

View : 212

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved